अस्ट्रेलियामा लकडाउनको विरोध



Download our app to get more features

एजेन्सी, १० साउन । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिवार सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा आयोजित लकडाउनविरोधी ठूला प्रदर्शनको निन्दा गरेका छन्।

उनले प्रदर्शनका सहभागीहरूलाई "स्वार्थी तथा स्वयं पराजित व्यक्ति" को सङ्ज्ञा दिँदै तिनले कोरोनाभाइरस फैलाउने जोखिम लिएको बताए।

मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै चामत्कारिक उपाय नभएको बताए।

न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताएकी छन्। विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड-१९ का कारण थप दुई व्यक्तिको निधन भएको छ।

सिड्नीमा भएका प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका थिए। मेल्बर्न र ब्रिस्वेनमा साना प्रदर्शनहरू भए। प्रदर्शनका क्रममा मानिसहरू 'स्वतन्त्रता' भन्दै सिड्नीको केन्द्रतर्फ अघि बढेका थिए।

अधिकारीहरूका अनुसार ५७ प्रदर्शनकारी पक्राउ परेका छन्। अस्ट्रेलियाको सरकारले सङ्क्रमणको नयाँ लहर सुरु भएपछि देशभरि पुनः लकडाउन लगाएको छ।

अतिसङ्क्रामक डेल्टा भेरिअन्टको आगमनसँगै त्यहाँ विगतमा अपनाइएको सीमा बन्द गर्ने, क्वारन्टीन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेलामा लकडाउन गर्ने रणनीतिले चुनौतीको सामना गरिरहेको छ।

न्यू साउथ वेल्सको स्वास्थ्य निकायले सिड्नी क्षेत्रलाई कोभिड 'हटस्पट' घोषणा गरेको केही बेरमै मानिसहरूले त्यहाँ र्‍याली निकालेका थिए। अस्ट्रेलियाको कुल जनसङ्ख्याको आधा अर्थात् एक करोड ३० लाख मानिस लकडाउनमा छन्।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले अस्ट्रेलियामा हालसम्म ३२,५९४ जनामा सङ्क्रमण भएको र ९१६ जनाको कोभिड-१९ का कारण मृत्यु भएको देखाउँछ।

Last modified on 2021-07-25 14:50:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts