नेपालमा स्थिर कोरोना सङ्क्रमणको दर, के तेस्रो लहर आउने सम्भावना कम भएको हो ?



Download our app to get more features

नेपालमा कोरोना सङ्क्रमणको दर स्थिर आवस्थामा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गर्ने नियमित कोरोना सम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो २ सातादेखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्दै गएको देखिन्छ । दुई साता अघि १५ देखि २० प्रतिशतसम्म दैनिक सङ्क्रमण दर रहेकोमा गत साता दैनिक सङ्क्रमण दर १० प्रतिशतमा झरेको छ । 

चिकित्सकहरुका अनुसार पनि अस्पतालमा भर्ना हुने बिरामी र अस्पताल आउने बिरामीको संख्यापनि घट्न थालेको छ । कोभिड १९ परीक्षण प्रयोगशालाहरुमा पनि कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दै गएको देखिन्छ ।

यसरी हेर्ने हो भने सरकारले डेढ महिनाअघि कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै गरेको संकेत पर धकेलिएको देखिन्छ । साउन ७ गते स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको दर फेरि बढ्न थालेको भन्दै तेस्रो लहर आउन सक्ने चेतावनी दियो र अस्पतालहरुलाई पूर्व तयारीका लागि पनि निर्देशन दिएको थियो । सरकारले दिएको निर्देशन र संकेत अनुसार सबै अस्पतालहरुले तयारी गर्न थाल्यो । 

सरकारले दिएको चेतावनीपछि सर्वसाधारणमा पनि त्रास देखियो तर, समय बित्दै जादा कोरोनाको जोखिमलाई ध्यानमा राखेर निषेध गरिएको क्षेत्रलाई खुकुलो बनाइयो भने कोरोना संक्रमण दरपनि घट्दै गयो । हुँदा हुँदा डेढ महिना अघिको केही समयसम्म ३/४ हजारका दरले सङ्क्रमण देखिएपनि हाल आएर त्यो संख्या २ हजारभन्दा तल झरेको छ ।

मौसम परिवर्तन र कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि हुनेदर घट्दै गएको देखिन्छ । चिकित्सकहरुका अनुसार पछिल्लो समय मौसम परिवर्तन हुँदै जादा मौसमी रुघाखोकी र भाइरलका बिरामीहरु बढ्न थालेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार पनि पछिल्लो समय कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर कोरोना परीक्षण गराउन आउनेहरुको संख्या बढेपनि उनीहरुमध्ये अधिकांशमा कोरोना नेगेटिभ देखिएको छ भने भाइरल पुष्टि हुने गरेको छ । साथै स्क्रब टाइफसका बिरामी पनि बढ्न थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलका अनुसार पछिल्लो समय देशभरका विभिन्न कोभिड १९ प्रयोगशालामा कोरोना परीक्षण गर्ने दरमा कमी आएको छ । जसका कारण नेपालमा कोरोना सङ्क्रमणको दर घट्दै गएको देखिन्छ ।

झन्डै डेढ दुई महिनाअघि २२ देखि २५ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेकोमा हाल त्यो संख्या ११ जिल्लामा सिमित भएको छ । यस्तै डेढ महिनाअघि झन्डै ४० हजार देशभरमा सक्रिय सङ्क्रमित रहेकोमा हालस त्यो संख्या २६ हजारमा झरेको छ ।

यसरी समग्रमा हेर्दा नेपालमा पछिल्लो समय कोरोना परीक्षण गराउनेको संख्यामा कमी आएको छैन भने कोरोनाभन्दा पनि भाइरल पुष्टि हुन थालेको छ । 

भरतपुर अस्पतालका कोभिड १९ क्लिनिकल संयोजक एवं वरिष्ठ फिजिशियन डा.प्रमोद पौडेलका अनुसार सरकारको तथ्याङ्क केलाउने हो भने नेपालमा पछिल्लो केही समयदेखि कोरोना सङ्क्रमण पुष्टि हुनेदरमा कमी आएको छ । जुन सकारात्मक पक्ष हो । 

डा.पौडेल भन्छन्, ‘मौसमी रुघाखोकी र भाइरलको समय भएका कारण अहिले कोरोनाभन्दा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । जसका कारण नेपालमा कोरोनाको दरमा कमी आउँदा कोरोनाको तेस्रो लहरको सम्भावना केही पर धकेलिएको छ ।’

सरकारले डेढ महिना अघि कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिएकोमा के त्यो जोखिम हाललाई टरेको हो भन्ने प्रश्नमा डा. पौडेल भन्छन्, ‘अहिलेको तथ्याङ्क अनुसार कोरोनाको तेस्रो लहरको जोखिम कम भएको छ । तर, यसको अर्थ यो पक्कै पनि होइन की तेस्रो लहर आउँदैन । हामीले नेपालमा कोरोनाको ट्रेन्ड हेर्ने हो भने गत वर्षपनि असारसम्म कोरोनाको सङ्क्रमण दर बढेकोमा भदौ, असोज, कात्तिकमा सङ्क्रमण दरमा कमी आएको थियो । तर, चैत लाग्दै गर्दा दोस्रो लहर शुरु भयो । त्यसकारण सङ्क्रमण दरमा कमी आएको भन्दै ढुक्क हुनु पर्ने अवस्था छैन ।’

कोरोना सङ्क्रमणको दर घटबढ हुँदैमा र कोरोनाविरुद्धको खोप लगाउँदैमा कोरोना सङ्क्रमण हुँदैन र तेस्रो लहर आउन सक्दैन भनेर ढुक्क हुन सक्ने अवस्था नरहेको भन्दै डा. पौडेलले ढिलो भएपनि तेस्रो लहरको जोखिम कायमै रहेको बताए ।

उनले कोरोनाविरुद्धको खोप लगाउनेमा अब्बल रहेका विश्वका विभिन्न मुलुकहरुमा कोरोनाको तेस्रो चरणको लहर देखिसकिएको हुँदा हामीपनि सोही अनुसार तयारी अवस्थामा रहन आवश्यक रहेको बताए ।

उनले सरकारले जनजीवन सामान्य होस् भन्दै सबै क्षेत्रलाई खुला गरिसकेको अवस्थामा र कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिएपनि नागरिकले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने, जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपले पालना गर्ने, मास्क लगाउने, बारम्बार साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, स्वस्थ आनीबानी अपनाउने कामलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।

नेपालमा पछिल्लो समय बजारमा र अन्य क्षेत्रमा भिडभाड बढेको हुँदा लापरबाही गर्ने हो भने केहि समय भित्रै पनि कोरोनाको तेस्रो लहर आउन सक्ने उनले चेतावनी पनि दिए । 

सरकारले कोरोनाको जोखिम कायमै रहेपनि सबै क्षेत्रलाई खुलाइसकेको अवस्थामा सर्वसाधारणले अब कोरोनाको तेस्रो लहर नआउने र आएपनि खोप लगाएकाले केही नहुने सोच्न थालेका छन् । जुन गलत हो ।

यसरी समग्रमा हेर्ने हो भने नेपालमा कोरोनाको ट्रेन्डलाई ध्यानमा राखेर सबै सचेत हुनुपर्ने देखिन्छ ।

Last modified on 2021-09-16 13:46:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts