शापू रोग के हो ? यो के कारणले लाग्छ ?



Download our app to get more features

काठमाडौं, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शापू रोगको रोकथाम गर्नका लागि आग्रह गरेको छ । मन्त्रालयका अनुसार यो रोग सेतो पुतलीबाट लाग्ने गर्दछ । 

शापू कस्तो रोग हो ? 

शापू एक दृष्टिनाशक रोग हो । प्राय वर्षा यामपछि भदौदेखि मंसिर महिना सम्म विशेष गरी नेपालको मध्य पहाडी भेटमा शापू महामारीको रुपमा देखिने गरेको छ । यो रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार नपाए आँखाको दृष्टि गुम्न सक्छ ।

शापू रोग के कारणले लाग्छ ?

हालसम्म सेतो पुतली(मोथ)लाई शापूको कारण मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।

शापू रोगका लक्षण केके हुन ?

-एक्कासी एउटा आँखा रातो हुनु ।
-चिप्रा नलाग्नु ।
-उज्यालोमा हेर्न नसक्नु ।
-आँखाको दृष्टिमा तत्कालै कमी हुनु ।
-आँखाको दुखाई सामान्य वा बढी हुनु ।
-उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिन्छ ।

निदान तथा उपचार

यो रोगको निदान तथा उपचार आँखा विभाग अस्पतालहरुमा मात्र गर्ने गरिन्छ । शापूको आकस्मिक उपचार सेवा आँखा भित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया समेतबाट गर्ने गरिन्छ । समयमा नै उपचार भएमा मात्र आँखा निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ ।

रोकथाम

-शापू रोग लाग्नबाट बच्नका लागि सेतो पुतली (मोथ)को संसर्गबाट टाढै रहने ।
-धेरै उज्यालो सेतो बत्ति नबाल्ने ।
-साँझ र राती झ्याल ढोका बन्द गर्ने ।
-सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने ।
-सुत्ने कोठामा बत्ति निभाएर वा मधूरो बत्ती बालेर झूलभित्र मात्रै सुत्ने ।
-रोगको लक्षण देखा परेमा वा शंका लागेमा तुरुन्तै आँखा विभाग अस्पतालमा जाने ।
-आफूखुशी कुनै पनि आँखाको औषधि तथा जडिबुटी नराख्ने ।
-आँखा स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजिम उपचार गर्ने ।

Last modified on 2021-09-23 16:26:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts