भारतमा सक्रिय सङ्क्रमितको संख्या न्युन



Download our app to get more features

एजेन्सी, १२ असोज । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सबैभन्दा कम भएको छ। पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै जानेक्रममा मंगलबार झण्डै सात महिना पछिकै कम भएको हो। 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ सङ्क्रमित भएका छन्। दैनिक सङ्क्रमितहरुको २० हजारभन्दा कम हुनुलाई सन्तोषजनक अवस्थाको रुपमा लिइएको अधिकारीहरुको भनाइ छ। नयाँ सङ्क्रमित मध्ये आधाभन्दा बढी केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ११ हजार ६९९ जना सङ्क्रमित भएका हुन्। केरला बाहेक अन्य क्षेत्रको सङ्क्रमितको सङ्ख्या हेर्दा अत्यन्त न्युन देखिएकाले पनि सन्तोष मान्नु पर्ने अवस्था नै रहेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ। 

यसलाई अझै घटाउनका लागि खोप अभियानसँगै सतर्कता अपनाउनु पर्ने अभियानलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३६ लाख ९७ हजार ५८१ पुगेको छ। 

कुल सङ्क्रमित मध्ये दुई लाख ९२ हजार २०६ जना सङ्क्रमित अवस्थामै रहेका छन्। यो पनि १९२ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन्। सक्रिय सङ्क्रमितहरुको अहिलेको सङ्ख्या कुल सङ्क्रमितहरु मध्येको एक प्रतिशतभन्दा पनि कम देखिएको छ। यो सङ्ख्या पनि २०२० को मार्चपछिकै सवैभन्दा कम भएको अधिकारीहरुको भनाइ छ। 

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल तीन करोड २९ लाख ५८ हजार दुई जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। ती मध्ये २६ हजार ३० जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन्। दैनिक नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै हुदै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको हो। 

भारतमा कोरोनाबाट अहिलेसम्म कुल चार लाख ४७ हजार ३७३ जनाको मृत्यु भएको छ। ती मध्ये १७९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ।
 

Last modified on 2021-09-28 16:47:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts