विश्व मानसिक स्वास्थ्य दिवस

मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान गर्ने तरिका के हो ? यसो भन्छिन् डा. अमात्य



Download our app to get more features

आज १० अक्टोबर, अर्थात विश्व मानसिक स्वास्थ्य दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । 

कोरोना महामारीका कारण मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गर्दा सरकारले मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि सबै निकायलाई आग्रह गरेको छ । 

मानसिक स्वास्थ्य समस्याका बारेमा अझैपनि सबैले खुलेर बोल्न नसक्ने, मानसिक स्वास्थ्य समस्या देखिएपनि त्यसलाई कसरी कोसँग परामर्श गरेर समाधान गर्नेबारे जानकारी नहुँदा समस्या झन् बढ्दै गएको सरकारको भनाइ छ । 

मानसिक स्वास्थ्यसँग सम्बन्धी समस्याबारे जानकारी अभावका कारण यो पनि मानसिक रोगका बिरामी बढ्दै गएका छन् । त्यसकारण मानसिक रोगबारे खुलेरै कुरा गर्न र मनोचिकित्सक वा मनोपरामर्शदातासँग समयमै परामर्श गर्न पनि सरकारले आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार करिब २५ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पीडित छन् । विश्वमा हरेक वर्ष १० अक्टोवरमा मानसिक स्वास्थ्य  दिवस  मनाइन्छ । मानसिक रोगलाई मनोरोग भनेर पनि चिन्ने गरिन्छ । विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित छन् । 

विश्वका १० खतरनाक रोग जसले मानिसको दैनिक क्रियाकलापमा असर गर्छ जसमध्ये ५ वटा मानसिक रोगका कारणले गर्दा हुन्छ । तिनीहरू डिप्रेसन, मेनिया, सिजोफोर्निया, दूव्र्यसनी र डिमेन्सिया पर्दछन् । डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो । 

नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमी छ । साइक्याट्रिक मनोरोग विशेषज्ञ, साइक्याट्रिक नर्स, साइकोलोजिष्ट र सामाजिक कार्यकर्ता मनोरोगका बिरामीको उपचारमा संलग्न रहन्छन्। नेपालमा मनोरोगीका बिरामीको मानसिक अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल र निजी अस्पतालमा उपचार हुने गरेको छ ।

के हो मानसिक स्वास्थ्य ?
मानव मस्तिष्कका विभिन्न कार्यहरू जस्तैं स्मृति, विचार, चेतना, भावना, आवाज आदिमा समस्या उत्पन्न भएर दैनिक क्रियाकलापमा असर गरे मानसिक स्वास्थ्यमा असर पुगेको भन्ने बुझिन्छ । विश्व स्वास्थ्य संगठनले शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई उत्तिकै महत्व दिएको छ । त्यसैले स्वस्थ हुन मनसिक रुपमा पनि तन्दुरुस्त हुन जरुरी छ । 

मानसिक रोगका लक्षण  :
मानसिक रोग विभिन्न प्रकारका छन् । हरेक रोगका बेग्लाबेग्लै लक्षण हुन्छन् । मुख्यतयाः निम्न लक्षण लामो समयसम्म देखिए मानसिक रोग लागेको यकिन गर्नुपर्छ ।
— उदास भइरहने, आलश्य हुने, शरीरमा फुर्ती नहुने, झिझो लाग्ने, झर्कने । 
— मुटु ढुक्ढुक् हुने, छट्पटी हुने, लामोलामो सास फेर्ने, सास अड्केको झै हुने, झस्कने, हातखुट्टा काम्ने वा पसिना आउने ।
— बेसुर हुने वा अनौठो व्यवहार देखाउने, बर्बराउने, कानमा आवाज बजे झंै लाग्ने, आँखा अगाडी केही देखेझंै लाग्ने ।
— काम्ने, हातखुट्टा कडा हुने, मुर्छा पर्ने, अरुले बोलाएको थाहा नपाउने, बेहोस हुने ।
— टाउको पोल्ने, शरीर भारी हुने । 
— अत्यधिक रक्सी, चुरोट, लागू पदार्थ आदिको सेवन गर्ने र अम्मलविना बस्नै नसक्ने । 
— बारम्बार एउटै सोचाई आइरहने वा एउटै काम दोहोराइरहने ।
— बालबालिकाको मानसिक र शारीरिक विकास ढिला हुने, बोली अड्किने ।
— जिन्दगीदेखि विरक्त लाग्ने, आत्महत्या गर्ने सोच आउने वा प्रयास गर्ने ।

उपचार के गर्ने ?
अरु शारीरिक रोगहरू जस्तंै मानसिक रोग पनि उपचार गरे ठीक हुन्छ । मनोचिकित्सकको सल्लाहमा औषधि सेवन गर्ने र आफ्नो व्यवहारमा परिवर्तन ल्याउन सके मानसिक रोग पूर्ण ठीक हुन्छ । कुनै कुनै रोगमा लामो समयसम्म औषधि खाइरहनु पर्ने हुनाले आफंैले औषधि छोड्ने, घटाउने, परिवर्तन गर्नु हँुदैन ।

मानसिक रुपमा स्वस्थ रहन के गर्ने ?
— मस्तिष्कलाई उत्तेजित पार्ने वस्तुहरु जस्तैं रक्सी, चुरोट आदि सेवन नगर्ने । 
— धेरै मात्रामा चिया, कफी र कृत्रिम मसला राखेर बनाएका फास्टफुड र जंक फुड नखाने ।
— निन्द्रा नबिगार्ने । दैनिक ६ देखि ८ घन्टा सुत्ने । सुत्ने र उठ्ने समय तालिका बनाउने ।
— शारीरिक कसरत, व्यायाम र योगा गर्ने ।
— सकेसम्म खाली नबस्ने र केही काममा व्यस्त राख्ने ।  
— पानी प्रशस्त पिउने, यथेष्ट मात्रामा हरियो सागपात र फलफुल खाने ।
— मानसिक रुपमा स्वस्थ भए मात्र पुर्णरुपले स्वस्थ हुन सक्छौं । त्यसैले आफ्नो मन र मस्तिष्कलाई तन्दुरुस्त राख्न आजैदेखि पहलकदमी चालौं ।

Last modified on 2021-10-11 07:32:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts