तपाईंलाई पेट पोल्ने समस्या छ ? जानौं जोगिने उपायबारे



Download our app to get more features

पेट पोल्ने समस्या हामी धेरैमा हुन सक्छ । सामान्यतया खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ । आफ्नो दैनिक व्यवहार, खानपीन, जीवनशैली र केही औषधिको प्रयोगले पेट पोल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । 

कारण के हो ?
पेट पोल्ने कारणहरु धेरै भए पनि हामी धेरैलाई हुने मुख्य कारण भनेको ग्यास्ट्राइटिस, रिफल्क्स आदि नै हो । पेटमा बन्ने एसिडको मात्रा धेरै भएमा वा पेट भित्रको एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा यसले पेट पोल्ने गराउँदछ । कुनैबेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ । पेटको अल्सर भएमा पनि यसले पेट पोल्ने समस्या देखिन सक्छ । खाना समयमा नखाने, अमिलो, पिरो, चिल्लो बढी खाने, धेरै मानसिक तनाव लिने आदि मानिसहरुमा यो समस्या धेरै देखिन सक्छ ।

लक्षणहरु के के हुन ?
पेट पोल्ने समस्या हुने मानिसहरुमा अरु निम्न लक्षणहरु पनि देखिन सक्छ:

  • मुखमा अमिलो पानी आउने
  • खान मन नलाग्ने
  • वाकवाकी लाग्ने
  • बान्ता हुने
  • दुब्लाउँदै जाने
  • खोकी लाग्ने
  • घाँटी दुख्ने
  • दातको रंग बिग्रने

जाँच कसरी गर्ने ?
सामान्य खाली पेटमा पोल्ने, अमिलो पानी आउने समस्या ग्यास्ट्राइटिसबाटै हुने भएपनि लामो समयसम्म यो समस्या देखिएमा र औषधि सेवन पछि पनि सन्चो नभएमा भने पेटको इन्डोसकोपी गर्न सकिन्छ । यसबाट पेटमा अन्य कुनै समस्या भएको, हेलीकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरियाको संक्रमण रहेको आदि थाहा पाउन सकिन्छ । 

उपचार के हो ?
पेट पोल्ने समस्याको उपचार भनेको यसको कारण पत्ता लगाएर त्यसको उपचार गर्नु नै हो । ग्यास्ट्राइटिस, रिफ्लक्स आदिको उपचारको निम्ति एसिड बन्न कम गर्ने वा बनिसकेको एसिडलाई निर्मलीकरण गर्ने विभिन्न औसधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ । पेट पोल्ने समस्या एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा पनि विशेष ध्यान पुराउनुपर्छ ।

कस्तो सावधानी अपनाउने ?
पेट पोल्ने समस्या भएका मानिसहरुले निम्न सावधानीहरु अपनाउँदा यो समस्या केही कम हुन सक्छः

  • अमिलो, पिरो, चिल्लो खानेकुरा सकेसम्म नखाने
  • भोकै खालीपेट नबस्ने
  • बिहान उठेपछि प्रसस्त पानी पिउने
  • तौल घटाउने
  • रक्सी, चुरोट आदि सेवन नगर्ने
  • चिया, कफी आदि धेरै मात्रामा नपिउने
  • एकैचोटि धेरै भन्दा थोरै थोरै धेरैपटक खाने
  • सुत्नु करिब ३ घन्टा अगाडी नै खाना खाने
Last modified on 2021-10-17 16:56:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts