चिसो बढ्दै गर्दा मुटुसम्बन्धी रोगको जोखिम उच्च, जोगिन अपनाऔं यी उपाय



Download our app to get more features

विस्तारै काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा चिसो महसुस भइरहेको छ । बेमौसमी वर्षाका कारण देशभरको मौसम परिवर्तन हुँदै अब जायोयाम सुरु हुन थालेको छ । यो समय आफ्नो र घरपरिवारमा भएका सबैको स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । कोरोना महामारी सँगसँगै विभिन्न रोगको सङ्क्रमण हुन सक्ने भएकाले जाडोमा स्वास्थ्यको यसैपनि विशेष ख्याल गर्नुपर्छ ।

मुटु रोग पछिल्लो समयमा घातक र भयावह बन्दै गएकोछ। यसको जोखिम कम गर्ने सबभन्दा सहज उपाय भनेको आफ्नो दैनिकी परिवर्तन गर्नु हो। शारीरिक रूपमा सक्रिय भएर काम गर्नु हो।

जाडोमा मुटुसँग सम्बन्धी समस्या बढी हुन्छ । चिसोमा मुटुको धमनी खुम्चिने हुनाले रक्तचाप र रगत जम्न चाहिने प्रोटिन बढ्छ । धमनीमा ‘ब्लकेज’ भएकालाई छाती बढी दुख्न सक्छ । कहिलेकाँही धमनीभित्र जमेको बोसो फुटेर पनि रगत जम्न सक्छ । यसले रगतको प्रवाह रोक्छ र हृदयघातको सम्भावना बढ्छ ।

मुटु जोगाउन खानपिनमा ध्यान दिनुपर्छ । त्यस्तै मुटु स्वस्थ राख्न कम्तिमा पनि दैनिक ३० मिनेट हिँड्नुपर्छ । साताको पाँच दिन हिँडे मात्र पुग्छ भन्ने सुनिए पनि सधैं हिँड्नु लाभदायक हुन्छ । उच्च रक्तचाप, मधुमेह, शरीरको तौल, कोलस्ट्रोलको मात्रा कति छ भनेर वर्षमा कम्तिमा एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ । यस्ता समस्या अचेल निकै बढेका छन् ।

दैनिक व्यस्तताका कारण हामी जङ्कफुड र रेडिमेड खानामा भर परिरहेका छौं । यस्ता खानामा क्यालोरी र फ्याट बढी हुन्छ । शाकाहारी दालभात स्वस्थ हुन्छ । नुन र तेल कम गर्नुपर्छ भने हरियो सागसब्जी र फलफूलमा जोड दिनुपर्छ । मांसाहारी नै भए पनि रातो मासु कम गरी कुखुराको खानुपर्छ । माछा पनि लाभदायक मानिन्छ ।

हरियो सागसब्जी र फलफूलमा धेरै एन्टीअक्सिडेन्ट हुन्छ जसले खाना पचाउन सहयोग गर्छ । खराब कोलस्ट्रोल घटाउँछ र शरीरका कोषिकाको आयू बढाउँछ । बाहिरी खानेकुरामा अक्सिडेन्ट मिसावट हुन्छ जसले मान्छेलाई चाँडै बुढो देखाउँछ ।

मुटुका निम्ति जैतुनको तेल राम्रो मानिन्छ । तर, सबैले यो प्रयोग गर्न सक्छन् भन्ने छैन । त्यसैले आफूले प्रयोग गर्दै आएको तेल नै मात्रा घटाउनु लाभदायक हुन्छ ।

ध्यान दिनुपर्ने कुरा :

  • चुरोट मुटुका लागि सबभन्दा बढी हानीकारक हो । युवा अवस्थामा हृदयघात हुने ८० प्रतिशत कारक चुरोट नै हो । तनाव, चुरोट, सूर्ती र रक्सी मिश्रणले मुटुमा बोसो जमाउने र फुट्ने क्रम बढाउँछ ।
  • धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् ।
  • धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ ।
  • शारीरिक काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ, रगत राम्ररी बग्न नपाएर मुटुमा समस्या देखिन्छ ।
  • धेर खाँदा रक्तनलीमा बोसो जम्छ जसका कारण उच्च रक्तचाप हुन पुग्छ र मुटुरोग निम्त्याउँछ ।
  • राति ढिलोसम्म जागै बस्ने, अधुरो निद्रा हुने अवस्थामा पनि तनाव, उच्च रक्तचाप लगायतका समस्या आउँछन् र मुटुलाई बिगार्छन् ।
  • दाँत र गिजाको समस्याले पनि मुटुरोग बढाउने कुरा धेरै अनुसन्धानले पत्ता लगाएका छन् ।
  • निद्रामा घुर्ने मान्छेलाई सास फेर्न समस्या हुनाले मुटुमा दबाब पर्छ र हार्ट अट्याकको सम्भावना बढाउँछ ।
  • जङ्क फूड तथा चिल्लो खानेकुराले पनि रक्तप्रवाहमा बाधा पु¥याएर मुटुमा समस्या ल्याउँछन् ।
Last modified on 2021-10-26 11:31:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts