ओमिक्रोनका कारण विभिन्न मुलुकले लगाएको प्रतिबन्ध तत्काल हटाउन द.अफ्रिकी राष्ट्रपतिको आग्रह



Download our app to get more features

बीबीसी, १३ मंसिर । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले कोरोनाभाइरसको नयाँ भेरिएन्ट फेला परेपछि आफ्नो देश र छिमेकीहरूविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन् ।

उनले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका छन् र यसका कारण आफू “गहिरो रूपमा निराश“ भएको बताए ।

दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, युके, युरोपेली संघलगायत अन्य देशहरू रहेका छन् ।

ओमिक्रोनलाई “चिन्ताजनक भेरिएन्ट“ भनिएको छ । प्रारम्भिक प्रमाणहरूले उक्त भेरिअन्टमा सङ्क्रमणको जोखिम उच्च रहेको बताइएको छ ।

अति उत्परिवर्तित यो भेरिअन्ट यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो र त्यसबारे गत बुधवार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई जानकारी गराइएको थियो ।

दक्षिण अफ्रिकाको धेरै जनसङ्ख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिअन्ट धेरै देखिएको थियो र अहिले अन्य प्रान्तमा पनि देखिएको छ ।

डब्लुएचओले देशहरूले हतारमा यात्रा प्रतिबन्ध लगाएकोबारे सचेत गराउँदै ती देशहरूले निर्णय गर्दा “जोखिम र वैज्ञानिक आधार“ हेर्नुपर्ने बताएको छ । यद्यपि, यो नयाँ भेरिएन्टबारे चिन्ता बढिरहँदा हालैका दिनमा थुप्रै प्रतिबन्धहरू लगाइएका छन् ।

आइतवार भाषण गर्दै रामापोसाले यात्रा प्रतिबन्ध लगाउँदा कुनै वैज्ञानिक आधारमा नलगाइएको र दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको बताएका छन् ।

उनले नयाँ भेरिअन्टको फैलावट रोक्नका लागि प्रतिबन्धहरू प्रभावकारी नहुने तर्क पनि गरे । 

“यात्रामा लगाइने रोकले गर्ने एउटा मात्रै काम भनेको प्रभावित देशको अर्थतन्त्रलाई थप खराब पार्ने हो र महामारीविरुद्ध प्रतिक्रिया जनाउने क्षमतालाई कमजोर पार्नेमात्रै हो,“ उनले भने ।

उनले यात्रा प्रतिबन्ध लगाएका देशलाई “हाम्रो अर्थतन्त्रमा थप हानी पुग्नुअघि आफ्नो निर्णय तत्काल उल्ट्याउन“ आह्वान गरेका छन् ।

ओमिक्रोन भेरिएन्टले निम्त्याएको अहिलेको आपत्कालीन अवस्थालाई व्याख्या गर्दै रामापोसाले खोपको असमानताबारे विश्वलाई जागरुक गराएको र सबैलाई खोप नदिइँदासम्म थप भेरिएन्टहरू टार्न नसकिने बताएका छन् ।

दक्षिण अफ्रिका आफैँमा खोपको अभाव छैन र रामापोसाले थप मानिसहरूलाई खोप लगाउन आह्वान गरेका छन् । उनले भाइरसविरुद्ध लड्ने यो नै उत्तम तरिका भएको पनि बताए ।

दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले यसअघि शनिवार निकालेको विज्ञप्तिमा पनि यात्रा प्रतिबन्धको चर्को आलोचना गरिएको छ । उक्त विज्ञप्तिमा ओमिक्रोन पत्ता लगाएकोमा प्रशंसा गर्नुको सट्टा सजाय दिइएको जनाइएको थियो ।

ओमिक्रोन अहिले युके, जर्मनी, अस्ट्रेलिया र इजरेललगायत विश्वका थुप्रै देशमा भेटिएको छ ।

Last modified on 2021-11-29 16:18:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts