बेलायतमा समुदाय स्तरमै सङ्क्रमण फैलिएपछि लकडाउनको तयारी, दैनिक ८० हजारभन्दा बढी सङ्क्रमित



Download our app to get more features

एजेन्सी, ५ पुस । बेलायतमा कोरोनाको ओमिक्रोनका कारण सङ्क्रमणदर बढ्दै जादा लकडाउनको तयारी गरिएको छ ।

कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन बेलायतमा समुदाय स्तरमा फैलिसकेको भन्दै लकडाउनको तयारी गरिएको हो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले समुदाय स्तरमै ओमिक्रोन फैलिसकेको र सङ्क्रमणदर पनि उच्च हुँदै गएकाले जोखिम कम गर्न लकडाउनको तयारी गरिएको बताए ।

लकडाउन कहिलेदेखि कहिलेसम्मका लागि हुन्छ भन्ने विषयमा टुङ्गो भने नलागेको पनि उनले बताए । 

दैनिक मृत्यु हुनेदर कम रहेपनि सङ्क्रमणदर भने बढ्दै गएको छ ।

गत २४ घन्टामा मात्रै बेलायतमा ८२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ भने ४५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ७ जनाको ओमिक्रोनका कारण मृत्यु भएको बताइएको छ । 
 
सङ्क्रमणदर बढ्न थालेसँगै अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ । 

बेलायतमा कोरोनाविरुद्धको खोप अभियान तीव्र गतिमा चलेपनि पूर्ण मात्रा खोप लगाइसकेकाहरूमा समेत ओमिक्रोनले सङ्क्रमण गराउने भएकाले चिन्ताको विषय बनेको छ ।

युरोपको अधिकांश मुलुकमा ओमिक्रोन पुष्टि भइसकेकाले सबै मुलुकमा कडाइ गरिएको छ ।  विशेषगरी आउँदै गरेको क्रिसमसलाई लिएर सचेत रहन पनि आग्रह गरिएको छ ।

Last modified on 2021-12-20 14:34:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts