पूर्ण मात्रा खोप लगाए पनि ओमिक्रोनले सङ्क्रमित बनाउन थालेपछि डब्लूएचओ चिन्तित



Download our app to get more features

एजेन्सी, ६ पुस । विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण कोरोनाविरुद्धको दुबै मात्रा खोप लगाएकाहरूलाई समेत सङ्क्रमित गर्न थालेकोमा चिन्ता व्यक्त गरेको छ । 

सङ्गठनले कोरोनाको नयाँ स्वरुप ओमिक्रोन डेल्टाभन्दा पनि बढी तीव्र गतिमा फैलिरहेको र खोपको दुबै मात्रा लगाइसकेको तथा कोरोनाबाट निको भइसकेकालाई पनि सङ्क्रमित गर्न थालेको बताएको हो ।

सङ्गठनका अनुसार ओमिक्रोनको जोखिमलाई कम गर्न सकिएन भने विश्वका विभिन्न मुलुकको स्वास्थ्य प्रणालीलाई समेत प्रभावित बनाउनेछ ।

यसैबीच, बेलायतमा कोरोनाका कारण एकैदिन ९१ हजार नयाँ सङ्क्रमित थपिएका छन् । 

बेलायत सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत २४ घन्टामा बेलायतमा ९१ हजार ७ सय ४३ नयाँ सङ्क्रमित थपिएको र ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि नै कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । पछिल्लो समय कोरोनाको नयाँ स्वरुप ओमिक्रोनका कारण पनि बेलायतमा दैनिक १३ देखि १५ हजार मानिसहरू सङ्क्रमित हुन थालेका छन् भने १० देखि १५ जनाको ओमिक्रोनकै कारण मृत्यु हुनेको गरेको छ । 

हालसम्म बेलायतमा १ करोड १४ लाखभन्दा बढी कोरोनाका कारण सङ्क्रमित भइसकेका छन् भने १ लाख ४७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।,

Last modified on 2021-12-21 15:42:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts