विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेदर फेरि उकालो लाग्दै, मृत्युदर भने घट्दै



Download our app to get more features

एजेन्सी, १८ पुस । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेदर फेरि उकालो लागेको छ । 

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वलर््डोमिटरका अनुसार पछिल्लो एक सातदेखि विश्वभर कोरोना भाइरसका कारण दैनिक १० लाखभन्दा बढी मानिसहरू सङ्क्रमित हुन थालेका छन् । 

गत २४ घन्टामा मात्रै विश्वभर ११ लाख ८५ हजार ३ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसअघि शुक्रवार विश्वभर हालसम्मकै धेरै १८ लाख ९३ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । 

पछिल्लो एक सातादेखि विश्वभर सङ्क्रमणदर बढ्दै जादा विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ । सङ्गठनले यदि कोरोना सङ्क्रमणको दर यसरी नै बढ्दै जाने हो भने यसले कोरोनाको सुनामी ल्याउन सक्ने चेतावनी समेत दिइसकेको छ । 

हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २८ करोड ९६ लाख ६२ हजार ३ सय १८ पुगेको छ । 

अमेरिका, बेलायत, फ्रान्स, इटली लगायतका मुलुकमा कोरोनाको तेस्रो चरणको लहर चलिरहँदा सबैभन्दा बढी सङ्क्रमण दर देखिएको छ । अमेरिकामा गत २४ घन्टामा ५ लाख ७२ हजार २९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने बेलायतमा १ लाख ८९ हजार २ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै फ्रान्समा २ लाख ६ हजार २ सय ४३, स्पेनमा १ लाख ६१ हजार ६ सय ८८, इटलीमा १ लाख २६ हजार ९ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

वर्ल्डोमिटरका अनुसार विश्वभर सङ्क्रमणदर बढेपनि मृत्यु हुनेदरमा भने कमी आएको छ । विभिन्न मुलुकमा कोरोना भाइरसको दोस्रो चरणको लहरका कारण दैनिक सङ्क्रमित हुने दर बढ्नुका साथै मृत्यु हुनेदर पनि बढेको बेला पछिल्लो केही दिनदेखि विश्वभर कोरोनाका कारण मृत्यु हुनेदर घट्दै गएको छ ।

गत २४ घन्टामा विश्वभर ३ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५४ लाख ५६ हजार ८ सय ७३ पुगेको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै रुसमा ८ सय ४७, पोल्याण्डमा ५ सय ५, अमेरिकामा २ सय ५७, भियतनाममा २ सय १६, बेलायतमा १ सय ५४, टर्कीमा १ सय ४५, फ्रान्समा १ सय १० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ४ लाख २५ हजार ६ सय ३५ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या २५ करोड ४१ लाख १५ हजार ४ सय ४१ पुगेको छ ।

हाल विश्वभर ३ करोड ९० लाखभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

Last modified on 2022-01-02 14:47:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts