विश्व कुष्ठरोग दिवस

मानिसलाई आपाङ्गता बनाउने कुष्ठरोगबारे जानौं...



Download our app to get more features

आज ६९ औं विश्व कुष्ठरोग दिवस, नेपालमा पनि मनाइँदैछ । अन्य वर्ष झै यस वर्ष भने ठूलो कार्यक्रमको आयोजना नगरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना महामरीका कारण कुष्ठरोग नियन्त्रणका लागि सरकारले ल्याएको योजना यस वर्ष पनि प्रभावित बनेको छ । सरकारको तथ्याङ्क अनुसार वर्षेनि ३ हजारका दरले कुष्ठरोगी बढ्दै गएका छन् । 

कुष्ठरोग के हो र यो के कारणबाट हुन्छ ? 
कुष्ठरोग आँखाले देख्न नसकिने मायक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो । यो रोगले खास गरेर छाला, स्नायु (नसा) मा असर गर्दछ । यो रोग प्राचीन कालदेखि नै मानिससँग परिचित भए पनि सन् १८७३ मा मात्र नर्वेका वैज्ञानिक डा. जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका हुन् । यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ । त्यस्तो छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन ।

कुष्ठोग कसरी सर्छ ? 
उपचार नगरेको कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । तर, यो निकै कम सरुवा रोग हो । साधारणतया यो रोग सरेको २ वर्षदेखि ५ वर्षभित्रमा यसका चिह्न र लक्षण देखा पर्न सक्छन् ।

कुष्ठरोगको चिह्न र लक्षण :
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु शुरूको चिन्ह हो ।
यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिन्हहरू हुन् । अन्त्यमा अपाङ्गता हुन सक्छ ।
स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू
कमजोर हुनु आदि ।

कुष्ठरोग कति प्रकारका छन् ?
कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ ।
१) बढी किटाणु भएको
(एमबी) कुष्ठरोग
२) कम किटाणु भएको
(पीबी) कुष्ठरोग

कुष्ठरोगको उपचार के हो ?
माथि उल्लिखित कुनै पनि चिह्न तथा लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुन्छ र अपाङ्गता हुनबाट बच्न सकिन्छ ।

यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । जसअनुसार बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ । बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन् । बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ । तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन ।

कुष्ठरोगको किटाणुले छाला र खास गरेर हात, खुट्टा र अनुहारका सतहका स्नायुहरूमा असर गर्ने हुँदा समयमा उपचार नगरे मांसपेसी कमजोर हुने, औंला खुम्चने र पछि आपाङ्गता हुन सक्दछ ।

कुष्ठ प्रभावित वा बिरामीले अपनाउनुपर्ने अन्य सावधानी :

  • खुट्टामा चेतनाशक्ति नभएका बिरामीले कम हिँड्ने धेरै बेरसम्म एकै अवस्थामा नउभिने ।
  • किला नठोकेको नरम जुत्ता लगाउने । 
  • चेतनाशक्ति हराएका हातखुट्टालाई चोटपटक र तातोबाट बचाउने । 
  • हातखुट्टा सुख्खा भएमा चिसो पानीमा चाला नरम नभएसम्म भिजाएर कडा छाला खुर्कने । 
  • (धारिलो, चुच्चो नभएको वस्तुले खुर्कने)
  • हात खुट्टा भिजाइसकेपछि चिसो हातखुट्टामा तेल लगाएर नरम बनाई राख्ने ।
  • आँखामा असर भएको बिरामीले दिनमा कालो चस्माको प्रयोग गर्ने र राति सुत्दा सफा कपडाले आँखा ढाकेर सुत्ने ।

 

(स्रोत : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा)

Last modified on 2022-01-30 16:50:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts