हङकङले सबै नागरिकको कोभिड-१९ परीक्षण गर्ने, लम्बियो नेपालमाथि लगाइएको यात्रा प्रतिबन्ध



Download our app to get more features

एजेन्सी, ११ फागुन । हङकङले सबै नागरिकलाई कोभिड-१९ को अनिवार्य परीक्षण गराउने भएको छ। आगामी मार्च महिनामा हङकङ सरकारले त्यहाँका ७३ लाख नागरिकको कोभिड-१९ को परीक्षण गर्ने घोषणा गरेको छ। यसअघि नै सबै मानिसको कोरोना परीक्षण गराउने तयारी भए पनि सरकारले बुधबार मार्चको मध्यमा सबैको अनिवार्य कोरोना परीक्षण गराउन निर्देशन दिएको हो। 

यो कार्यक्रम अवधिभर सबै नागरिकको कम्तिमा तीन पटक परीक्षण गरिने जनाइएको छ। उसले आगामी दुई देखि तीन महिनालाई कोभिड-१९ नियन्त्रण गर्ने महत्त्वपूर्ण अवधिको रुपमा लिँदै सबै उपायहरु अपनाउने घोषणासमेत गरेको ग्लोवल टाइम्सले जनाएको छ।

हङकङमा कोभिड-१९ को पाँचौँ वेब चलिरहेको र यसले हङकङको अवस्थालाई खराब बनाउँदै लगेको छ। पछिल्लो समय लगातार तेस्रो दिन त्यहाँ ६ हजार बढीमा संक्रमण पुष्टि हुनुका साथै मंगलवार मात्र ३२ जनाको मृत्यु भएको थियो। फेब्रुअरीको सुरुवातको अवस्था भन्दा अहिले त्यहाँ ६४ गुणाले कोभिड-१९ को संक्रमण बढेको छ। 

हङकङ प्रमुख क्यारी लामले तीन चरणमा सबै मानिसको कोरोना परीक्षण गराइने बताएकी छन्। आगामी मार्च र अर्पिलमा किन्डर गार्डेन, तथा माध्यामिक विद्यालयहरुमा गर्मी विदा हुनेछ। सो अवधिमा क्याम्पस तथा विद्यालयका संरचनाहरु कोभिड-१९ परीक्षणका लागि प्रयोग गरिने लामले बताएकी छन्। उनले सबै नागरिकलाई अनिवार्य परीक्षण गरिने बताएकी छन्।  

चीनको केन्द्रीय सरकार र स्थानीय सरकारबिचको समन्वयमा हङकङमा सो अवधिमा प्रति दिन १० लाख जनाको परीक्षण गरिने र हङकङ सरकारले शहरभर सयौँ परीक्षण केन्द्र स्थापना गर्ने जनाएको छ। यसैबिच चीनको केन्द्र सरकारले हङकङमा १४ हजार देखि १७ हजार सम्मलाई आइसोलेसनमा राख्न मिल्ने गरी चार वटा अस्थायी अस्पताल निर्माण थालेको सिन्ह्वाले जनाएको छ। त्यस्तै हङकङ सरकारले त्यहाँको रंगशालालाई पनि उपचार केन्द्रमा परिणत गरिनेछ।

चीनले हङकङको लोक मा चाउ लुपमा आपतकालीन अस्पताल निर्माण गर्न सहमत भएको छ। त्यस्तै सो अवधिमा १६ हजार क्वारेन्टाइन स्थान बन्ने छन्। त्यसका लागि होटलहरुकोसमेत प्रयोग गरिने छ।  

पछिल्लो समय कोरोना संक्रमण ठूलो मात्रामा फैलिएसँगै हङकङका अस्पताल माग धान्न नसक्ने अवस्थामा पुगेका छन्। सोही अवस्थालाई ध्यानमा राख्दै सबै मानिसको कोरोना परीक्षणको योजना ल्याइएको हो। हङकङ प्रमुख लामले यसअघि चीनको सहर पूरै लकडाउन गरिँदा पनि आफूहरुले यसले संक्रमण नियन्त्रण गर्न नसक्ने भन्दै त्यसलाई बेवास्ता गरेकाले अहिलेको अवस्था आएको बताइन्। 

यता कोभिड-१९ को सं‌क्रमण फैलिँदै गर्दा त्यसलाई नियन्त्रण गर्नका लागि हङकङले नेपालसहितका ९ मुलुकमाथिको यात्रा प्रतिबन्ध पनि अप्रिल २० सम्मका लागि लम्ब्याएको छ। हङकङले नेपालसहित अष्ट्रेलिया, बेलायत, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स र अमेरिकाबाट आउने उडान र ट्रान्जिटमा लगाइएको प्रतिबन्ध लम्ब्याएको हो। 

 

Last modified on 2022-02-24 08:12:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts