मौसम परिवर्तनसँगै सङ्क्रामक रोगको जोखिम बढ्ने हुँदा ध्यान दिऔं यी कुरामा



Download our app to get more features

विस्तारै नेपालका विभिन्न क्षेत्रको मौसम परिवर्तन हुन थालेको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा विस्तारै चिसो कम हुन थालेको छ भने तराई मधेशमा गर्मी सुरु भइसकेको छ । मौसम परिवर्तन हुँदै गर्दा अस्पतालमा विभिन्न रोगका कारण सङ्क्रमित भएर आउने बिरामीको सङ्ख्या बढ्न थाल्छ । त्यसकारण, यो समयमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ ।

सयम अनुसार जाडो र गर्मी दुबै मौसममा फरक फरक रोगको सिकार भएर अस्पताल भर्ना हुनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिन्छ भने पछिल्लो दुई वर्षदेखि हामी कोरोना महामारी सँगसँगै छौं । त्यसकारण पनि विशेष सावधानी अपनाउनुपर्ने र जनस्वास्थ्यका मापदण्ड कडाईँका साथ पालना गर्नुपर्ने हुन्छ ।

मौसम परिवर्तनको असरलाई मानव शरीरले तत्कालै परिवर्तन गर्न नसक्ने हुँदा जो कोही पनि बिरामी हुन्छ । गर्मीको मौसम सुरु भएपछि धेरै प्रकारका बिरामीहरू देखा पर्छन् । विशेषगरी मौसमी रुघाखोकी, झाडापखाला, ज्वरो, मलेरिया, डेङ्गी, ठेउला लगायतका रोगहरू देखा पर्छन् ।

त्यसैगरी गर्मीमा किटजन्य रोगहरू लाग्ने सम्भावना, सर्पले टोक्ने, चक्कर लाग्ने, बेहोस हुने, थकाइ लाग्ने सम्भावना पनि उत्तिकै हुने गर्छ । गर्मीको समयमा अधिकांश रोगहरू खानेकुरामा भएको प्रदुषणले हुने  गरेका छन् । सङ्क्रामक रोग विशेषज्ञ डा.जनक कोइरालाका अनुसार गर्मीको समयमा लाग्ने अधिकांश रोगहरू खानेकुरामा हुने मिसावटबाट हुने गरेका छन् ।

अहिले विषेशगरी किटजन्य रोगको सङ्क्रमण पनि बढ्दो हुनाले सकेसम्म सरसफाइमा नै ध्यान दिनुपर्ने उनले बताए । व्यस्त र बदलिँदो जीवनशैलीका कारण खानपानमा आम मानिसले हेलचेक्राइ गर्ने, घर बाहिरको खानेकुरा बढी खाने प्रचलन बढेकाले मौसमी रोगका बिरामीहरू बढ्ने गरेका छन् ।

रोकथाम
मौसम परिवर्तनसँगै खानेकुरामा सावधानी अपनाउनु जरुरी हुन्छ । चिकित्सकहरूका अनुसार गर्मी याममा पानीलाई शुद्धिकरण गरेर मात्र पिउनु पर्छ । त्यसैगरी व्यक्तिगत र आफ्नो बासस्थान वरपरको वातावरण सफासुग्गर राख्नुपर्छ । गर्मीको समयमा किटनासक विषादीको प्रयोग कम गर्नुपर्छ ।

वर्षा हुने बेलामा फोहोर पानीमा नहिँड्ने, जाडो अनुभव भएमा न्यानो लुगा लगाउने, तातो झोलयुक्त खाने कुरा खाने, अप्ठ्यारो भएपछि सम्बन्धीत डाक्टरलाई देखाउने । यस्तै चर्को घाममा बाहिर निस्कनुअघि आँखा र छालाको सुरक्षामा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

Last modified on 2022-03-07 07:37:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts