कोरोनाको तेस्रो लहरपछि कस्तो छ विश्वभर सङ्क्रमणको अवस्था?



Download our app to get more features

एजेन्सी, २५ फागुन । कोरोना महामारीको तेस्रो चरणको लहर विस्तारै साम्य हुँदै गएको छ । गत नोभेम्बरमा फेला परेको को कोरोनाको ओमिक्रोन भेरिएन्टका कारण सुरु भएको तेस्रो चरणको लहर पछिल्लो समय साम्य हुँदै गएको देखिन्छ ।

दक्षिण अफ्रीकामा फेला परेको ओमिक्रोन भेरिएन्ट विश्वका प्रायः सबै मुलुकमा फैलिँदा दैनिक नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या ३६ लाख पुगेको थियो । जुन हालसम्मकै धेरै हो । तर, सङ्क्रमित थपिनेको तुलनामा मृत्यु हुनेको सङ्ख्या र मानिसलाई गम्भीर गराउने दर भने कम देखियो ।

कोरोनाको तेस्रो चरणको लहरमा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्याले अमेरिका, भारत, बेलायत, रूस, जर्मनी लगायतका मुलुकमा नयाँ रेकर्ड कायम गर्यो । जसले गर्दा २ देखि ३ दिनमै करोडका दरले नयाँ सङ्क्रमित थपिए । 

तर, कोरोनाको तेस्रो चरणको लहर सुरु भएको ३ महिनामा साम्य हुँदै गएको देखिन्छ । करिब एक महिनादेखि विश्वभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या १२ देखि १६ लाखमा झरेको छ भने मृत्यु हुनेको सङ्ख्या ४ देखि ८ हजारमा झरेको छ ।

गत २४ घन्टामा विश्वभर १६ लाख ३ सय ९८ नयाँ सङ्क्रमित थपिएका छन् भने ६ हजार ८ सय ७ जनाको मृत्यु भएको छ ।

गत २४ घन्टामा अमेरिकामा २९ हजार ६ सय ३२, भारतमा ४ हजार ८०, बेलायतमा ६१ हजार ९ सय, ब्राजीलमा ७५ हजार ४ सय ९५, रूसमा ६६ हजार ५ सय ७६, फ्रान्समा ९३ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै विश्वभर हालसम्म कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४४ करोड ९९ लाख १४ हजार ७३ पुगेको छ ।

यस्तै गत २४ घन्टामा अमेरिकामा सबैभन्दा धेरै १ हजार १ सय २८, भारतमा १ सय ४५, ब्राजीलमा ५ सय १८, बेलायतमा २ सय १२, फ्रान्समा १ सय ६७, रूसमा ६ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै विश्वभर हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६० लाख ३५ हजार ९ सय २१ पुगेको छ ।

हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएका मध्य ३८ करोड ३८ लाख ७४ हजार ६ सय ८७ जना स्वस्थ भएका छन्।

Last modified on 2022-03-09 16:46:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts