फर्मा एक्स्पोले नेपाली औषधिको गुणस्तरबारे जानकारी लिन मद्दत पुग्छ : उपाध्यक्ष बराल



Download our app to get more features

नेपाल औषधि उत्पादक सङ्घले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म नेपाल फर्मा एक्स्पो गर्दैछ । २०२१ मा हुनुपर्ने एक्स्पो कोरोना महामारीका कारण हुन नसकेपछि अब हुन लागेको हो । एक्स्पोमा सङ्घले औषधि उत्पादन क्षेत्रमा प्रयोग गर्दै आएको नयाँ प्रविधिलाई प्राथमिकतामा रोखेको छ । नेपालमा फर्मा एक्स्पो किन आवश्यक छ ? एक्स्पोमा कस्ता कस्ता खालका क्रियाकलापहरू समावेश छन् ? लगायतका विषयमा नेपाल फर्मा एक्स्पो २०२२ का मिडिया संयोजक साथै औषधि उत्पादक सङ्घका अपाध्यक्ष सन्तोष बरालसँग गरिएको कुराकानिको सम्पादित अंशः

१. नेपाल फर्मा एक्स्पो के हो ?
अहिले हुन् लागेको नेपाल फर्मा एक्स्पो ८ औं संस्करण हो । हाम्रो उदेश्य भनेको नेपाली औषधि उत्पादन कम्पनीले प्रयोग गर्ने मेशिन, प्रविधि, कच्चा पदार्थ, ल्याब, प्याकिङ्ग गर्ने सामग्रीहरू अन्तर्राष्ट्रिय स्तरका छन् कि छैनन् भनेर हाम्रा प्रयोगकर्ताहरूलाई देखाउनु हो ।

हामीले विगत २० वर्षदेखि नेपाल फर्मा एक्स्पो गर्दै आइरहेका छौं । एक्स्पो २ वर्षको फरकमा हामीले गर्दै आइरहेका छौं । बीचमा भुकम्प जाँदा, नेपालमा नाकाबन्दी हुँदा पनि हामीले समयमा एक्स्पो गर्न पाएका थिएनौं । अहिले पनि कोरोना महामारीले गर्दा २०२१ म गर्नुपर्ने एक्स्पो वैशाखमा गर्दैछौं ।

२. एक्स्पोमा कस्ता खालका अवलोकनकर्ताहरू आउँछन् ?
विशेषगरी एक्स्पोमा औषधिसँग सम्बन्धित रहेका व्यक्तिहरू नै धेरै आउने हुन् । एक्स्पोमा अस्पतालहरू, औषधि पसलहरू, चिकित्सकहरू, पारामेडिक्सहरूले अवलोकन गर्ने छन् ।

हामीले सर्वसाधरणले पनि अवलोकन गर्न आह्वान गरेका छौं । तर, कुन व्यक्तिलाई कतिको महत्त्वको विषय हो भन्ने कुरामा भर पर्छ । त्यसैले सर्वसाधारणलाई जानकारी दिनका लागि हामीले सञ्चार माध्यमहरूबाट विभिन्न जानकारी दिने प्रयत्न गरिरहेका छौं ।

३.नेपालमा फर्मा एक्स्पो गर्न किन आवश्यक छ ?
नेपालमा पछिल्लो समय औषधि उत्पादन गर्ने कम्पनीहरूको सङ्ख्या बढ्दो छ । ती कम्पनीहरूले कस्ता खालका औषधिहरू उत्पादन गरिरहेका छन् त्यो कुरा निकै महत्त्वपूर्ण हो ।

औषधि उत्पादन गरिरहेका कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका औषधि उत्पादन गरिरहेका छन् कि छैनन् भन्ने कुरा देखाउनका लागि एक्स्पो आवश्यक छ । कतिपय कुरा भनेर भन्दा पनि देखाउँदा अझै राम्रो हुन्छ । त्यसैले औषधि लेख्नेहरूदेखि खानेहरू सम्मलाई जानकारी दिनका लागि हामीले फर्मा एक्स्पो गर्दै आइरहेका छौं ।

विशेषगरी नेपाली औषधि उत्पादकहरूले कस्ता खालका प्रविधिहरू प्रयोग गरी औषधि उत्पादन गर्छन् भन्ने कुरा जानकारी दिनका लागि नेपालमा फर्मा एक्स्पो आवश्यक छ ।

४.यो एक्स्पोमा के कुरा प्राथमिकतामा राखिएको छ ?
विश्वमा नयाँनयाँ प्रविधिहरू आइरहेको हुन्छ । २ वर्ष अगाडि आएको प्रविधि र त्यसपछि आउने प्रविधिमा फरक हुन्छ । हामीले त्यही प्रविधिहरूलाई प्राथमिकतामा राखेका छौं ।

औषधि उत्पादन क्षेत्रमा कस्ता खालका प्रविधिहरू आएका छन् । त्यस्ता प्रविधिहरू को प्रयोग कसरी भइरहेको छ भन्ने कुरा देखाउँछौं ।

पहिलो एक्स्पोमा देखाएको औषधि उत्पादन गर्दा प्रयोग हुने प्रविधि र अहिले ८ औं संस्करणसम्म आइपुग्दा आएका प्रविधिहरूमा निकै फरक छ । औषधि उत्पादनमा प्रयोग हुने प्रविधिहरू पनि परिवर्तन भएका छन् है भन्ने कुरा जानकारी गराउनका लागि पनि हामीले एक्स्पोमा प्रविधिहरूलाई नै प्राथमिकतामा राखेका छौं ।

५.कतिवटा औषधि उत्पादन गर्ने कम्पनीहरूले एक्स्पोमा भाग लिदै छन् ?

एक्स्पोमा १ सय ६० वटा स्टलहरू रहने छन् । नेपालमा औषधि उत्पादन गरिरहेका र उत्पादनका क्रममा रहेका कम्पनीहरू सबैले अवलोकन गर्ने छन् ।

स्टलमा हामीले प्रविधि, मेशिन र कच्चा पदार्थका कुरालाई बढी प्राथमिकतामा राखेका छौं । नेपालमै औषधि उत्पादन गरिरहेका करिब ४० वटा कम्पनीहरूले भाग लिने छन् ।

त्यस्तै विदेशी कम्पनीहरूले पनि भाग लिने छन् । विदेशी कम्पनीहरूलाई प्रविधि साथै मेशिनहरूको स्टल राख्न सक्ने छन् । अहिलेसम्म भारत, चीन, बङ्गलादेश लगायतका देशहरूबाट स्टलहरूको बुकिङ्ग भएका छन् ।

६.एक्स्पोमा प्रविधिसँगै औषधिहरू पनि राख्नुहुन्छ होला, त्यहाँ औषधि किन्ने हुन्छ कि हुँदैन ?
स्टल राखेका कम्पनीहरूले आफुले उत्पादन गरेका औषधिहरू राख्छन । तर त्यहाँ नै किन्ने बेच्ने होइन । हामीले एक्स्पोमा औषधिहरु देखाउनका लागि राखेका हुन्छौं । बेच्नका लागि होइन ।  त्यसैले त्यहाँ नै औषधि किन्ने बेच्ने हुँदैन ।

७.अन्तमा एक्स्पोको बारेमा के भन्नुहुन्छ ?
म सबैलाई एकमुष्ठ रुपमा नेपालमा पनि अन्तराष्ट्रिय स्तरको नै मेशिनहरू प्रयोग भइ औषधिहरू उत्पादन हुन्छ । कस्ता खालका मेशिनहरू प्रयोग भएर औषधिहरू उत्पादन हुन्छ भन्ने कुरा हामी एक्स्पोमा देखाउँछौं । त्यसैले सबैले एक्स्पोमा अवलोकन गरेर जानकारी लिन हुन अनुरोध गर्दछु ।

Last modified on 2022-04-02 08:49:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts