फलफूल र तरकारीमा विषादीको प्रयोगले हुने स्वास्थ्य समस्याबाट जोगिन अपनाऔं यी उपाय



Download our app to get more features

फलफूल र तरकारीमा विषादीको प्रयोगले बेलोबला चर्चा पाइरहन्छ । आयातित मात्रै नभई नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा पनि विभिन्न विषादीका अवशेष हानिकारक तहमा रहेका विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यति मात्रै नभई कोरोना महामारी सुरु भएपछि फलफूल र तरकारीबाट सङ्क्रमण हुन सक्छ भनेर सुनियो ।

तरकारी वा फलफूल खरिद गर्दा विभिन्न व्यक्तिहरूको हातले छुने हुँदा त्यसमा भाइरसको कण बाँकी रहने सम्भावना हुन्छ भन्ने मानिसलाई मनमा डर हुने गरेको छ । जसले गर्दा पछिल्लो समय नागरिक सचेत पनि भएका छन् । 

फलफूल र तरकारीमा विषादीको विषय ३ वर्ष अघि ठूलो बहसको विषय पनि बन्यो । कारण, बाहिरबाट आयात गरिएका र नेपालभित्रैका उत्पादनमा पनि विषादीको बढ्दो प्रयोग पाइएको थियो । जसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने निस्कर्स निकाल्दै विषादी परीक्षणको दायरा बढाउने निर्णय भयो । तर, त्यो निर्णय हाल कार्यान्वयनमा खासै देखिँदैन । अहिले फेरी सरकारले विषादी परीक्षणको दायरालाई बढाउने गरी काम गर्न निर्देशन दिएको छ ।

फलफूल वा तरकारीमा विषादीको प्रभावबाट जोगिन र कुनैपनि किसिमको सङ्क्रमणको जोखिमलाई कम गर्न के गर्ने ? विषादी व्यवस्थापन विज्ञ डिल्लीराम शर्माको सुझाव यस्तो छ :

पहिलो
वेगले खस्ने धाराको पानीमा तरकारी वा फलफूललाई तीन पटकसम्म राम्ररी पखाल्यो भने त्यसमा रहेको विषादी पखालिएर जान्छ । ५० देखि ६० प्रतिशत विषादी त्यसरी धारामा पखाल्दा बगेर जान्छ ।

दोस्रो
विषादी हटाउनका लागि वा कुनैपनि किसिमको संक्रमण कम गर्नका लागि नुन उपयुक्त उपाय हो । किन भने नुन सबैको भान्छामा सजिलै पाइन्छ । नुनको प्रयोगले विषादी र सङ्क्रमणको जोखिमलाई कम गर्न सकिछ । त्यसका लागि एक चम्चा नुन एक लिटर पानीमा राख्ने (तरकारी वा फलफूलको मात्रा अनुसार पानी र नुन थपघट गर्न सकिछ) र त्यसमा १० देखि १५ मिनेटसम्म तरकारी या फलफूललाई डुबाएर राख्ने । त्यसपछि निकालेर पखाल्दा ६० देखि ७० प्रतिशतसम्म विषादी हट्छ ।

नुन प्रयोग नगर्ने हो भने त्यसको सट्टा भिनेगर र पानीमा तरकारी या फलफूललाई डुबाउँदा पनि हुन्छ ।

तेस्रो
अझै बढी विषादी हटाउने हो भने हामीले तरकारी वा फलफूलको बाहिरको बोक्रा छोडाउनु पर्छ । धेरैजसो विषादीका अवशेष बाहिरी भागमै हुने गर्छ । बोक्रा छिल्ने वा नखाने गर्नुपर्छ ।

उदाहरणको लागि बन्दाकोभी छ भने माथिको दुई तीन पत्र नै हटाउनु पर्छ । त्यो हटायो भने पनि विषादीको प्रभाव धेरै कम हुन्छ ।

स्याउको पनि बाहिरको ब्रोका छोडाउन सकिन्छ । चिकित्सकहरूले कतिपय फलफूलका बोक्रामा शरीरलाई फाइदा र्पुयाउने रेशाहरू हुन्छन् भन्ने गर्छन् । तर विषादी खाने कि नखाने भन्ने निर्णय चाहिँ हामी आफैँले गर्नुपर्छ ।

चौथो
एकै प्रकारका फलफूल वा तरकारी खानु हुँदैन किनभने त्यसले विषादीको जोखिम बढाउँछ।खासगरि बेमौसमी फलफूल र तरकारीमा अलि बढी विषादी मिसिएको हुन्छ । हामीले मौसमी फलफूल र तरकारी खान जोड गर्नुपर्छ । 

पाँचौ
जसरी सङ्क्रमणको दर बढ्दै गएको छ त्यसलाई ध्यानमा राखी तरकारी वा फलफूल खरिद गर्न जाँदा पञ्जाको प्रयोग गर्ने, घर आइसकेपछि पञ्जा व्यवस्थापन गरेर हात धुने, किनेर ल्याएको तरकारीलाई नुन पानीमा राखी हाल्नु पर्छ । 

अन्तिममा हामीले सुरक्षित र स्वस्थ फलफूल र तरकारीको सेवन गरेनौं भने त्यसमा प्रयोग हुने विभिन्न विषादीले हामीलाई क्यान्सर, छाला सम्बन्धी रोग जस्ता अन्य हानीकारक प्रभाव पर्न सक्छ । त्यसकारण समयमै सचेत हुनु आवश्यक छ ।

Last modified on 2022-04-04 16:24:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts