बेलायत, अस्ट्रेलिया, जर्मनी लगायतका मुलुकमा फैलिँदै मङ्किपक्स, जानौं यो रोगबारे



Download our app to get more features

एजेन्सी, ७ जेठ । मानिसबाट मानिसमा र जनावरबाट मानिसमा सर्ने मङ्किपक्स रोग बेल्जियम, फ्रान्स, अस्ट्रेलिया र जर्मनीमा फेला परेको छ । 

मे ७ मा बेलायतमा फेला परेको यो रोग हाल इटली, स्वीडेन, स्पेन, पोर्चुगल, बेलायत लगायतका मुलुकमा पनि देखा परेको बताइएको छ । बेलायतमा मात्रै हालसम्म २० जनामा यसको सङ्क्रमण पुष्टि भइसकेको छ ।

बेलायतमा फेला परेका दुईजना बिरामीहरू नाइजिरियाबाट आएको बताइएको छ र उनीहरू पश्चिम अफ्रिकी भाइरसबाट सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ । 

मङ्कीपक्स भाइरस सरेका तेस्रा व्यक्ति स्वास्थ्यकर्मी हुन् । उनलाई बिरामीबाट सङ्क्रमण सरेको थियो । 

भर्खरै फेला परेका चार सङ्क्रमितमध्ये तीन जना लन्डनमा र एक जना उत्तरपूर्वी इङ्ग्ल्यान्डमा छन् । 

बेलायतको स्वास्थ्य विभागका अनुसार आफूलाई यो भाइरस सर्न सक्छ भन्ने डर भएका व्यक्तिले स्वास्थ्यकर्मीसँग परामर्श लिन सल्लाह दिएको छ ।

मङ्कीपक्स गराउने भाइरस बिफर भाइरसको वर्गमा पर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनका अनुसार सबैभन्दा पहिले सन् १९७० मा यो लोग कङ्गोमा एक ९ वर्षको बालकमा फेला परेको थियो । यो रोग विशेषगरी अफ्रिकाको दुर्गम क्षेत्रमा देखा पर्ने गरेको पछिल्लो समय विश्वका विभिन्न मुलुकमा देखा पर्न थालेको पनि सङ्गठनले जनाएको छ । 

सन् १०७० मा यो रोग अफ्रिकाको ११ मुलुकमा फैलिएको थियो । जसमा क्यामरुन, बेनिन, कङ्गो, नाइजेरिया, लाइबेरिया लगायतका थिए । त्यसपछि सन् २०१७ मा नाइजेरियामा पुनः यो रोग फेला पर्यो । जसमा २ सय मानिस सङ्क्रमित भए, र मृत्यु दर ३ प्रतिशत थियो । 

सन् २००३ मा पहिलोपटक अफ्रिकाभन्दा बाहिरको मुलुकमा मङ्किपक्स फेला पर्यो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अफ्रिकन मुलुक घानाबाट ल्याइएका घरपालुवा कुकुरमा यो रोग देखिएको थियो । जसका कारण ७० जना मानिस सङ्क्रमित भए । त्यस पछि सन् २०१८ को सेप्टेम्बरमा फेरि यो रोगको सङ्क्रमण अमेरिकामा देखियो । नाइजेरियाबाट यात्रा गरेर आएका व्यक्तिहरूमा मङ्किपक्सको सङ्क्रमण फेला परेको थियो । सन् २०१८ को सेप्टेम्बरमा बेलायत, सन् २०१९ को मे, सन् २०२१ को मे र डिसेम्बरमा सिङ्गापुर, अमेरिका र अहिले सन् २०२२ को मेमा विश्वका विभिन्न मुलुकमा मङ्किपक्सको सङ्क्रमण फेला परेको सङ्गठनले जनाएको छ ।

लक्षणहरू :
ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु ।

एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ । त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुनसक्छन् । डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ ।

सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ ।

सङ्क्रमण कसरी हुन्छ ?
सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउँदा मङ्कीपक्स सर्छ । फुटेको छाला, श्वासनली वा आँखा, नाक वा मुखबाट यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ ।

यसलाई यौनबाट सर्ने सङ्क्रमणको रूपमा व्याख्या गरिएको छैन । तर, शारीरिक सम्बन्धको क्रममा प्रत्यक्ष सम्पर्कमार्फत् पनि यो सर्न सक्छ ।

त्यस्तै बाँदर, मुसालगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि फैलिन सक्छ ।

कति खतरनाक ?
प्रायशः यस भाइरसले मध्यम खालका असरहरू गर्छ ।

कहिलेकाहीँ यसका प्रभावहरू ठेउला हुँदा जस्तै देखिन्छन् र केही सातामै निको हुन्छ ।

यद्यपि यो भाइरसको सङ्क्रमण कहिलेकाहीँ निकै गम्भीर हुनसक्छ र मङ्कीपक्सका कारण पश्चिम अफ्रिकामा बिरामको मृत्यु भएको समेत पुष्टि भएको छ ।

उपचार :
मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन । तर, सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ ।

यो भाइरसको सङ्क्रमण रोक्नको निम्ति बिफरविरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी साबित भएको छ र अझै पनि त्यसको प्रयोग गरिन्छ ।

विज्ञहरूले यूकेमा मङ्कीपक्सको देशव्यापी प्रकोपको जोखिम नरहेको बताएका छन् र पब्लिक हेल्थ इङ्ग्ल्यान्डले जनताका लागि जोखिम कम भएको जनाएको छ ।

सुरुमा मङ्कीपक्सबाट सङ्क्रमित बिरामीसँग सम्पर्कमा आएका ५० जनामध्ये एक जना मात्र सङ्क्रमित भएको तथ्यले भाइरस कति सङ्क्रामक छ भन्ने देखाउँछ । यसले देशभरि प्रकोप आउन लागेको सङ्केत गर्दैन ।

मङ्कीपक्स मानिसमा सहजै सर्दैन र सर्वसाधारण मानिसमा हुने जोखिम निकै कम छ भन्ने कुरामा जोड दिनु महत्त्वपूर्ण छ । 

Last modified on 2022-05-21 17:34:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts