उत्तर कोरियाले अमेरिकाको खोप सहयोग प्रस्तावबारे दिएन् जवाफ



Download our app to get more features

एजेन्सी,८ जेठ । कोरोनाभाइरस संक्रमणसँग जुधिरहेको उत्तर कोरियाले अमेरिकाको खोप सहयोगको प्रस्तावको जवाफ नदिएको अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार झन्डै २५ लाख मानिस 'ज्वरो'बाट ग्रस्त छन् र त्यहाँ देशैभर लकडाउन गरिएको छ ।

परीक्षण र खोपको आपूर्ति सीमित रहेकाले उक्त देश ठूलो जोखिममा रहेको ठानिएको छ ।

दक्षिण कोरियामा गरिएको पत्रकार सम्मेलनका क्रममा बाइडनले खोप उपलब्ध गराउने प्रस्ताव गरेका थिए ।

'उत्तर कोरियालाई मात्रै होइन, हामीले चीनलाई पनि खोप दिने प्रस्ताव गरेका छौँ र हामी तत्काल त्यसो गर्न तयार छौँ ,' बाइडनले भनेका थिए ।

'तर हामीले कुनै उत्तर प्राप्त गरेका छैनौँ,' उनले थपे ।

उत्तर कोरियाले यसअघि खोप उपलब्ध गराउने कोभ्याक्सको प्रस्ताव पनि अस्वीकार गरेको थियो।

एप्रिल २०२० मा घोषणा भएको कोभ्याक्स विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ र खोपबारे पैरवी गर्ने दुई अन्य समूहले नेतृत्व गरिरहेको विश्वव्यापी अभियान हो ।

उत्तर कोरियाले दक्षिण कोरिया र अन्य राष्ट्रले गरेको खोप सहयोग प्रस्ताव पनि अस्वीकार गरेको बताइएको छ ।
बीबीसी

Last modified on 2022-05-23 15:05:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts