कान पाक्ने समस्या छ ? यसरी जोगिन सकिन्छ



Download our app to get more features

कानको समस्या धेरै व्यक्तिमा हुन्छ । अधिकांशमा कान पाक्ने वा दुख्ने समस्या हुन्छ । के कारणले कान पाक्छ र कसरी बच्ने ? वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा.डा. नरमाया थापाका केही टिप्सः

कानमा लाग्ने रोग हेर्दा साधारण लागे पनि समयमै उपचार भएन भने यसले अन्य अंगमा पनि असर गर्न सक्छ ।

कानमा देखिने समस्या मध्ये सबैभन्दा धेरै कान पाक्ने समस्या हो । जुन सुकै लिङ्ग, उमेर समुहका मानिसमा यो समस्या देखिन सक्छ । हाम्रो देशको सन्दर्भमा कान पाक्ने समस्या अझ धेरै छ । कारण कानको हेरचाहामा ध्यान नदिनु ।

कान पाक्ने भनेको के हो ?

कानको बनावट हेरेर ३ भाग (बाहिरी ,मध्य र भित्री) मा विभाजन गरिएको हुन्छ । जसमा मध्य भागमा विभिन्न कारण संक्रमण हुदा पीप जम्छ , जमेको पीपले कानको जाली प्वाल पारेर बाहिर निस्कन्छ । यसलाई नै कान पाकेको भनिन्छ ।

बच्चाहरुमा बढी कान पाक्ने कारण : घाँटी र कान जोड्ने नसा एउटै हुन्छ । यस्तो नसा वा नली बच्चाहरुमा सिधा रहेको हुन्छ भने ,उमेर बढेसंगै प्रौढहरुमा यस्तो नसा टेडो हुन्छ । त्यसका कारण बच्चाहरुमा घाटीमा संक्रमण हुने बित्तिकै सिधै कानमा असर गर्छ र छिट्टै पाक्छ  ।

प्रौढहरुमा भने रोग प्रतिरोधात्मक क्षमता पनि बढी र नशा टेडो भएकाले संक्रमण कम हुने गर्छ । 

कान पाक्ने प्रमुख कारण :

१.बच्चालाई सुतेर दूध खुवाउँदा कानमा पर्दा ।

२. फोहोर पानीमा पौडी खेल्दा वा नुहाउँदा ।

३.दुर्घटना, झगडा वा कानमा असर पुग्ने गरि कानको जाली फुट्दा ।

४.टन्सिलको समस्या हुँदा ।

५.लामो समय रुघाखोकी लाग्दा, कानमा प्रेसर पर्ने गरी सिँ सिँँ गर्दा ।

६. धेरै समय नाकमा संक्रमण हुँदा पनि कान पाक्छ । 

७. कानेगुजी झिक्न वा फोहोर सफा गर्न भन्दै धेरैले सिन्का, प्वाख , सलाईको काटी जस्ता सामानले कान कोट्याउने गर्छन् । यसले कानको जालिमा असर गर्नुका साथै विभिन्न संक्रमण देखा पर्छ जसले गर्दा कान पाक्छ ।

कान पाक्दा यसरी सुनाई कम हुन्छ : लगातार कान पाक्दा कान ढम्म हुनुका साथै दुख्ने हुन्छ । कान पीप बगिरहँदा कानको भित्री भागमा समेत संक्रमण हुन्छ ।

कानको जालीनै प्वाल पर्ने भएकाले कम सुन्ने वा सुन्दै नसुन्ने हुन सक्छ । कान पाक्ने समस्याको बेलैमा उपचार नगर्दा यस्ता असर देखा पर्नसक्छ:

१. ज्वरो आउने ।

२. कानको पछाडी पट्टीको भागबाट सुन्ने जस्तो हुने ।

३.रिंगटा लाग्ने ।

४.कसैमा कान पाकेको लामो समय भएमा मुख बाड्गो हुने गर्छ ।

कान पाक्नबाट बच्ने उपाय :

१.बच्चालाई दुध चुसाउँदा होस् गर्ने, कतै दूध कानमा त परेको छैन् ।

२. रुघा लाग्दा बेस्सरी सिँसिँ नगर्ने ।

३.कानमा तेल नहाल्ने ।

४.नुहाउँदा वा पौडी खेल्दा कपासमा भ्यासलिन लगाएर कानमा राख्ने, ताकी कानमा पानी नछिरोस् ।

५. जथाभावी कान नकोट्याने ।

६. चिसोको समयमा कान छोप्ने वा न्यानो राख्ने ।

७.सवारी साधानमा यात्रा गर्दा वा कुनै पनि समयमा कानमा किरा वा अन्य कुरा पस्नबाट जोगाउने ।

८. जथाभावी औषधिको प्रयोग नगर्ने । कानमा कुनै समस्या आईहाल्यो भने, तत्काल चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ ।

Last modified on 2022-07-07 07:37:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts