देशभर गर्मी बढ्दो क्रममा, गर्मीबाट जोगिन 'चन्द्रभेदी प्राणायाम'बारे जानौं



Download our app to get more features

पछिल्लो समय नेपालसहित विश्वभर नै तापक्रम वृद्धि भएको छ । युरोपका कतिपय मुलुकमा त तापक्रमले किर्तिमानी नै कायम गरेको छ । जसका कारण हालसम्म ३ सय जनाको मृत्यु भइसकेको छ । 

नेपालमा पनि पछिल्लो केहीदिन यता गर्मीले गर्दा जनजीवन प्रभावित बनेको छ । शनिवार मात्रै नेपालका अधिकांश क्षेत्रमा ३५ देखि ४० डिग्रीसम्म तापक्रम मापन गरिएको छ । मनसुन भित्रिए पनि पर्याप्त मात्रामा पानी नपर्दा मानव स्वास्थ्यलाई नै प्रभावित बनाउन थालेको छ ।

यस्तो गर्मीको समयमा स्वस्थ र निरोगी रहन योगको भूमिका महत्वपूर्ण रहन्छ । तन्दुरुस्त र स्वस्थ जीवनका लागि योग निकै प्रभावकारी व्यायामका रुपमा स्थापित भइसकेको छ । मौसम अनुसार गरिने योग छुट्टाछुट्टै हुन्छन् । जसमध्ये चन्द्रभेदी प्राणायाम गर्मीमा गरिने एक योग हो । यो प्राणायामले शरीरमा शितलता प्रदान गर्छ । 

गर्मीको बेला यो प्राणायाम गर्ने हो भने शरीरमा शितलताको महशुस हुन्छ र पित्त सम्बन्धी रोगहरूबाट छुट्कारा मिल्छ । 

यति मात्र होइन चन्द्रभेदी प्राणायामले गर्मी, अमिलो डकार पनि कम गर्छ । यो प्राणायमले शरीरको रगत शुद्ध गर्ने र छाला सम्बन्धी रोगमा राहत प्रदान गर्छ । 

उच्च रक्तचाप, चिड्चिडापन, अनिन्द्रा र तनावलाई पनि कम गर्न सहयोग गर्छ । 

विधि : सिधा पलेँटी कसेर बस्ने र आँखा बन्द गर्ने । सिधा हातले प्राणायाम मुद्रा बनाएर नाकको दाहिने प्वाललाई बुढी औँलाले बन्द गरी देब्रे प्वालबाट विस्तारै–विस्तारै श्वास बाहिर निकाल्ने । फेरि देव्रे प्वाल बन्द गरेर आवाज ननिकाली विस्तारै–विस्तारै श्वास तान्ने । केही समय श्वासभित्रै रोकेर आवाज ननिकाली दाहिने नाकबाट बाहिर निकाल्ने । यो प्रक्रियालाई चन्द्रभेदी प्राणायाम भनिन्छ । १५ देखि २० पटकसम्म यो प्रक्रिया गर्ने । त्यसपछि हात तल राखेर केही समय शान्त मनले आँखा बन्द गरेर बस्ने । 

सावधानी : दम, कफ् रोग, न्यून रक्तचाप वा चिसोको समयमा यो प्राणायाम उपयुक्त हुँदैन ।

त्यसबाहेक खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । गर्मीमा अनावश्यक चिल्लो, मसालेदार र शरीरलाई गर्मी गराउने खानपानबाट जोगिनुपर्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts