गर्भपतन गराउनेको संख्या बढ्दै

What's This?


Download our app to get more features

ताप्लेजुङ, २ वैशाख । कानुनी रुपमा १२ सातासम्मको गर्भपतन गर्न पाउने व्यवस्था भएपछि ताप्लेजुङमा सुरक्षित गर्भपतन गराउनेको संख्या हरेक दिन बढ्दै गएको छ । १२ हप्तासम्मको गर्भपतन गराउन पाउने नेपालको कानुनी व्यवस्था गरेपछि गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयको एक तथ्यांकअनुसार पछिल्लो छ महिनाको अवधिमा २ सय ३८ जना महिलाले गर्भपतन गराएका छन् । यो चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको हो । यस अवधिमा गर्भपतन गराउनेमध्ये २० वर्षभन्दा माथि उमेरका २ सय १८ र २० वर्षभन्दा मुनिका २० जना रहेको बताइएको छ । गत आर्थिक वर्षमा ३ सय ७४ जना महिलाले गर्भपतन गराएका थिए । तीमध्ये ३ सय ४३ जना २० वर्ष माथिका र ३१ जना २० वर्ष मुनिका रहेका छन् । 

कार्यालयका अनुसार गतवर्ष जिल्ला अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउने महिलामध्ये २ सय २७ जनाले पिल्स, डिपोजस्ता छोटो समयको परिवार नियोजनका साधन प्रयोग गरेका थिए । यस्तै, लामो समयका लागि प्रयोग गरिने परिवार नियोजनका साधन इम्प्ल्लान्ट र आइयुसिडी सेवा लिनेको संख्या ३२ रहेको जनाइएको छ । 

कानुनी रुपमा नै सुरक्षित गर्भपतन गराउन पाउने व्यवस्था गरिएपछि सुरक्षित गर्भपतन गराउने महिलाको संख्या केही वर्षयता बर्सेनी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक देखाएको छ । न्यून चेतनास्तर तथा असुरक्षित यौन सम्पर्कका कारण अनिश्चित गर्भधारण गरेका महिलाले  गर्भपतन गर्ने गरेको बताइएको छ । 

ताप्लेजुङमा जिल्ला अस्पतालले मात्रै कानुनीरुपमा गर्भपतन गराउने मान्यता पाएको छ । तर कतिपय किशोरीले जिल्लामा रहेका निजी क्लिनिक तथा मेडिकलमा समेत लुकीछिपी अवैधरुपमा असुरक्षित गर्भपतन गराउने गरेको बताइएको छ । वैधानिक तथा मान्यता प्राप्त स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउन पाइने विषयको जानकारी उनीहरुमा हुँदाहुँदै पनि बेइज्जती हुने डरले असुरक्षित र अवैध गर्भपतन गर्ने गरेको चिकित्सकहरु बताउँछन् । 

यसरी जिल्ला अस्पतालमा सुरक्षित र वैधानिक गर्भपतन गराउनेले सस्तो शुल्कमा सेवा लिएका हुन्छन् भने निजी क्लिनिक तथा मेडिकलमा महँगो शल्क तिरेर गर्भपतन गराउने गरेको बताइएको छ । अवैध यौन सम्पर्कबाट रहन गएको गर्भपतन गराउने धेरै रहेको अनुमान गरिएपनि उनीहरुले गोप्यरुपमा गर्भपतन गराउने भएकाले संख्या यकिन नभएको बताइएको छ । 
रासस 
 

Last modified on 2016-04-18 14:55:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts