प्राकृतिक चिकित्सालयमा उपचार सेवा लिनेको घुइँचो 



Download our app to get more features

नवलपरासी, ३० जेठ । नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय बिरामीका लागि निकै लोकप्रिय गन्तव्य बन्दै गएको छ । 

विशेषगरी आधुनिक औषधि उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन घुइँचो बढेको छ । चिकित्सालयमा औषधिरहित प्रद्धतिबाट उपचार सेवा प्रदान गरिँदै आएको छ । २०६३ सालमा स्थापना भएको चिकित्सालयले २०६४ सालदेखि उपचार सेवा प्रारम्भ गरेको थियो । यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । हाल यस चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देश र विदेशबाट उपचार सेवा लिन आउने गरेका छन् । चिकित्सालयमा उपचार सेवा लिन आएका अधिकांश बिरामीको विमार निको हुँदै गएको छ । बिरामीका लागि दूधका लागि गौपालन र अर्गा्निक तरकारी र जडीबुटी खेती चिकित्सालयले नै गरेको छ । 

हाल यस चिकित्सालयमा ८२ बिरामीलाई आवासीयरुपमा उपचार सेवा दिन सकिन्छ । मासिक करिब रु नौ लाख खर्च आउने यस चिकित्सालयले बिरामीबाटै सङ्कलन गर्ने न्यून उपचार शुल्कबाट चिकित्सालय सञ्चालन भइरहेको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले बताए ।  दस बिगाहा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयलाई २०६८ सालमा नेपाल सरकारबाट सो जग्गाको भोगाधिकार प्राप्त भएको थियो । 
अघिल्लो समयमा बिरामीको खासै चाप नभएपनि अहिले बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको चिकित्सालयका सहायक निर्देशक डा विनोद पौडेलले बताए । यस चिकित्सालयले १५ वर्षे कार्ययोजनासमेत तयार गरेको छ जसअन्तर्गत प्राकृतिक चिकित्सा र योगमा अनुसन्धानसमेत गर्ने लक्ष्य छ । यस चिकित्सालयलाई ३०० श्ययाको बनाउने र यस विधाको शीक्षण अस्पताल स्थापना गरी प्राज्ञिक जनशक्ति उत्पादन गर्ने योजना रहेको चिकित्सालयका व्यवस्थापक सापकोटाको भनाइ छ । रासस

 

Last modified on 2017-06-13 09:08:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts