निश्चल बस्नेतको ग्यास्ट्रिक उपचारः बिहानै दुई गिलास मनतातो पानी



Download our app to get more features

छिल्लो समय चलचित्र निर्देशक एवं अभिनेता निश्चल बस्नेतको बारेमा नसुन्ने सायदै कम होलान् । त्यसो त उनको पर्यायवाची नै बनेको छ चलचित्र लुट । नेपाली चलचित्र क्षेत्रमा ख्याति कमाउँदै गरेका निर्देशक बस्नेतले निर्माता, गायक र अभिनेतामा पनि आफ्नो अब्बल क्षमता प्रस्तुत गरिसकेका छन् । हालैमात्र सार्वजनिक भएको चलचित्र दुई रुपैयाँको गीत ‘कुटुमा कुटु सुपारी दाना’ले उनको चर्चा अझ चुलीएको छ । सन् २००९ बाट चलचित्र क्षेत्रमा प्रवेश गरी चलचित्र लूटको निर्देशक गरेका थिए । जुन अत्यन्तै सफल चलचित्र रह्यो । त्यसपछि बस्नेको व्यस्तता ह्वात्तै बढ्यो । निर्देशक, निर्माता, गायन र अभिनया आफ्नो कार्य क्षमता प्रस्तुत गरेका बस्नेत हाम्रो डक्टरको सेलिब्रेटी फिटनेसमा यसरी प्रस्तुत भए ।

स्वस्थ रहन के गर्नुहुन्छ ?
मानिसको सबैभन्दा ठूलो धन स्वास्थ्य नै हो । स्वस्थ रहन धेरै कुरा गर्न सकिन्छ । तर, स्वस्थ रहनको लागि अहिलेसम्म विशेष केही पनि गरेको छैन । पहिला समय निकालेर व्यायाम गर्थे तर त्यसलाई नियमित गर्न सकेको छैन । नियमित रुपमा बिहान उठ्नासाथ मनतातो दुई गिलास पानी पिउने गर्छु । जसले गर्दा ग्यास्ट्रिकको समस्या कम भएको छ । 

स्वस्थ रहन के के गर्न सकिन्छ ?
स्वस्थ रहने समयमा सुत्ने र बिहान समयमा उठ्ने गर्नुपर्छ । जसले दिनभरीको फुर्तिलो बनाइ राख्छ । नेपालीको बानी लामो समय पेट खाली राख्ने छ । त्यसैले बिहान केही खाने, हल्का रुपमा व्यायाम गर्ने गर्नुपर्छ । कामको तनाव भएपनि आफ्नो लागि केही समय निकालेर आराम गर्नुपर्छ । आममानिसलाई स्वस्थ रहन के के गर्न सकिन्छ भन्ने थाहा भए पनि यसलाई नियमित फलो गरिएको पाइँदैन ।  आफ्नो शरीरलाई जस्तो बानी लगाउँछौ त्यस्तै हुन्छ । स्वस्थ रहन आफ्नो जीवनशैली परिवर्तन गर्नुको साथै विशेषगरी खानपानमा ध्यान दिनु्पर्छ । 

खानामा विशेष ध्यान दिने भन्नु भयो । सँधै फिल्डमा तपाईंले खानपानमा ध्यान दिन सक्नुभएको छ ? 
अरुलाई सुझाव दिन सजिलो हुन्छ तर आफुमा लागू गर्न गाह्रो हुन्छ । सँधै बाहिर हिड्ने हँुदा जंकफूडहरु खाने गरिन्छ । भोक लागेको समयमा अगाडी जे पाइन्छ त्यहि खाने गरेको छु । म मात्र होइन फिल्म क्षेत्रमा लाग्ने धेरैको स्वास्थ्य ठिक छ जस्तो मलाई लाग्दैन । काम सिध्याउने तर्फमात्र ध्यान रहेको हुन्छ । जसले गर्दा खाना खाने समय हुँदैन । बिहान काम सुरु गर्नुभन्दा पहिला सेटमा चाउचाउ नै हुन्छ, त्यसमा पनि चिल्लो । जसले गर्दा खान बाध्य हुनुपर्छ । दिउसोको खाना खाने समयको निश्चित हुदैन । कहिले काहि खाली पेट पनि रहन सक्छ । जसको परिणाम ग्यास्ट्रिक भएर अहिले भोगिरहेको छु । 

मेरो निमार्ण र निर्देशन रहेको चलचित्रमा यसलाई कम गर्दै लगेको छु । सकेसम्म खाना हेल्दी होस् भन्ने मेरो धारणा रहेको छ । दिउसो खाना १२ देखि २ को बीचमा खाना खाने व्यवस्था गरेको हुन्छु । व्यवस्था गर्दागर्दै पनि कहिलेकाँही सकिँदैन । हेल्थ भन्दा काम ठूलो होइन । सेटमा मैले मात्र खाना खाने होइन, पछि गएर स्वास्थ्य बिग्रन सक्छ । त्यसैले खानालाई विशेष ध्यान दिन अनुरोध गर्दै आएको हुन्छु । खाना चिल्लो पिरो बढी हुन्छ त्यसलाई पनि कम गर्दै लगेको छु ।

घरको खाना नी ?
घरमा सामान्य खाना पाक्छ । चिल्लो पिरो मसालेदार खाने धेरै पाक्दैन । घरमा सबैको स्वास्थ्यलाई मध्यनजर गरेर खाना पाक्ने गर्छ । तर, मासु पाक्यो भने चिल्लो पिरो भइनै हाल्छ । 

ग्यास्ट्रिकबाहेक अन्य कुनै स्वास्थ्य समस्या छ ?
ग्यास्ट्रिकबाहेक अन्य कुनै पनि किसिमको स्वास्थ्य समस्या अहिले सम्म देखिएको छैन । बिरामी भएर अस्पताल नै बस्नु परेको सम्झना छैन । । कहिलेकाही फिल्म रिलिजको समयमा स्ट्रेसले भएर होला टाउको दुखेर राति राति अस्पताल दौडेको छु । केही समय अगाडी होलबडी जाँच गरेको थिए । जसमा कोलेस्ट्रोलको मात्रा केही बढेको देखिएको थियो । २ दिन अगाडी भुटेको र चिल्लो खाएको थिए सायद त्यसैले होला जस्तो लाग्यो । कुनै रोग लाग्दै छकी भन्दै वर्षमा एक पटक जाँच गर्दै आएको छु । 

अन्तमा,
स्वास्थ्य सकैको लागि महत्वपूर्ण छ । म जती बेलासम्म स्वस्थ रहन्छु तबसम्म मेरो काम ठिक तरिकाले गर्नसक्छु । जसले जीवनमा सोचेको कुरा पुरा गर्न सक्छु । तर ती सबै कुराका लागि मैले जीउने जीवनशैली कस्तो छ त्यसले पनि धेरै फरक पार्छ । यो कुरा सबैले बुझ्न अति नै जरुरी छ । तपाईंको स्वास्थ्य भन्दा ठूलो कुरा अरु कुनै पनि छैन ।  त्यसैले समयमा खाने र के खाइराएको छु भन्ने कुरामा ध्यान दिनुपर्छ । खानपानमा ध्यान दिन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ । 

भिडियो हेर्नुस् । 

Last modified on 2017-08-24 09:01:57

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts