पहिलो महिनावारीको पीडा: ‘जुकाले टोकेछ भनेर आँत्तिए’ 



Download our app to get more features

स्कुलमा दुइचार दिन विदा भयो कि मामाघर जान मन लागिहाल्थो । १३ वर्षको चंचले उमेर, मामाघरमा आफु संगैका उमेरका धेरै जना भएकाले त्यहाँ गएपछि खेल्न पाइन्थ्यो । त्यही लोभमा मामाघर जान मलाइ खुसी लाग्थ्यो । १४ वर्ष अघि जतीखेर म कक्षा ८ मा पढ्थे त्यो बेलाको बर्खे विदाको छुट्टीको मौका पारी मामाघर आएको तीन दिन भएको थियो । त्यो दिन बिहानैदेखि पेट दुखिरहेको थियो । अन्य समय पनि बेला वेला नदुख्ने भने हैन । तर काँचो कचिलो धेरै खाएको हुदा पेट दुख्न सामान्य ठान्दै खेलीरहेकी थिए । त्यही वेला शौच लाग्यो ।

यतिबेलाको जस्तो मामाघरमा व्यवस्थित शौचालय थिएन । झाडीले छेकेको खोल्सीमा जानुपर्ने । शौचालय गएर एकछिन बसेको मात्र के थिए रगत खुट्टाबाट चुहीएको देखें । सुरुमा सम्झे खेल्ने बेलामा जुका टाँसिएछ त्यसैले टोक्यो क्यारे  तितेपाती चुडेर रगेडेर पुछें अनि घरमा आएँ । तर रगत निरन्तर बगिरहेको थियो । करिव आधाघण्टासम्म पनि विस्तारै रगत बगिरहेछ भने अत्याँस लाग्यो के भएको होला ? पेट पनि झन दुख्न थाल्यो । झनै डरले सताउँदै गयो । कसैलाइ भनौ के भन्ने ? नभनौं मनमा धेरै कुरा खेल्न थाले । अन्तमा डराई डराई माइजुलाइ भनें ।

माइजुले सामान्य रुपमा लिएर भन्नुभयो  ‘भान्जी त नछुने भइछन् ।’ हुन त मैले घरमा आमादिदीहरु नछुने हुँदा पर सरेर बसेको देखेकी थिएँ । खाना पानी केही छुनुहन्न थियो । तर आफैले पहिलोपटक अनुभव गर्दा बेग्लै अनुभव भयो । मलाइ पर बस्नुपर्छ भन्ने मात्र थाहा थियो तर यसरी रगत नै बग्छ होला भन्ने थाहा थिएन । पर बस्नुपर्ने पीडा साथै मेरो शरीरबाट कति रगत बग्ने हो । रगत बग्दा बग्दै सबै सकियो भने के होला ? पेट दुखेको कसरी सहनु आदि इत्यादि मेरो मनमा एकैपटक खेल्न थाले । 
त्योभन्दा पनि ठूलो पीडा अर्को थपियो, पहिलो पटक भएकोले संगै बस्नु हुँदैन भनेर गोठमा पठाइयो । मलाइ झनै डर लागेर आयो । अब एक्लै बस्नुपर्ने, मनमा धेरैकुराहरु खेल्न थाले । कसरी बस्नु, राति कसरी एक्लै सुत्नु, अनी सबैभन्दा ठूलो डर भनेको अब कति दिन यस्तै हुने हो । मनमा अनगिन्ती कुरा खेल्न थाले । साँझ मामाकी छोरी साथी पठाइदिनुभयो । कुराकानी गर्न मन लागेन । आफै मनसँग् कुरा गरेर आधारात काटे त्यसपछि निदाएछु ।

भोलिपल्टदेखि दिनभर बाहिर निस्किएर मसँगैका साथीहरु खेलेको हेर्थें आनन्द आउँथ्यो । तर मलाई उनिहरुसँग खेल्न हुँदैन भनेर भनिएको थियो ।  सँगैका केटासाथीहरु निर्धक्क हिँडीरहेका हुन्थे । म भने कत्रो बिरामी भएजस्तो भएकी थिएँ । सबैले सोध्थे के भएको भनेर । म जस्ता सानासानालाई त माइजुले ‘केही भएको छैन ।’ भनेर भन्नु हुन्थ्यो, तर ठूला मानिसहरुलाई भने भान्जी पर सरेकी छन् भनेर उत्तर दिनुहुन्थ्यो । उनिहरु यसलाइ सहज रुपमा लिन्थे तर मलाई भने मनमनै कत्रो औडाहा भइरहेको हुन्थ्यो । के भएको होला, अब कति समय यस्तो होला, निको हुन्छ की हुँदैन । साथीहरुले सोधे भने के भन्ने । उनिहरुसँग कसरी बोल्ने ? ७ दिन कटेपछि म मामा घर भित्रै  पस्न पाउने भएँ । अलिक सन्चो भएजस्तो पनि लाग्यो । मलाइ कहिले घर जाउँ, कसो गरुँ भइरहेको थियो । आठौं दिन  घर गए । आमालाइ भने, आमाले यो सामान्य कुरा भएको बताउनुभयो । अव हरेक महिना यस्तो हुन्छ । डराउनुपर्दैन भन्दै सम्झाउनु भयो । त्यसपछि पनि एक दुई महिना त मलाइ डर लागिरह्यो तर त्यसपछि भने सामान्य रुपमा लिँदै गएँ । 

महिनावारी पछि मेरो शारीरिक बनावट र व्यवहार पनि परिर्वतन हुँदै गयो। केही महिना अगाडिसम्म केटा साथीहरुले जिस्क्याउँदा रिसाएर लाप्पा खेल्न जान्थें म । तर, अब केटी साथी भन्दा पनि केटा साथीहरुसँग खेल्न, घुलमिल हुन मन लाग्न थाल्यो । घरमा पनि ठूला मानिससँग भन्दा एक्लै रमाउने बानी पर्न थाल्यो । तर म सानै देखि अध्ययनमा रुचि भएकोले गर्दा त्यसबाट मन भने विचलित भएन । 

जब मलाई आमाले पहिलो महिनावारी सम्बन्धि कुराहरु खुलेर भनिदिनुभयो त्यसपछि भने मेरो मन बेचैन हुन छोड्यो । विस्तारै बुझ्दै गएँ । यदि मलाइ पहिलो महिनावारी हुनु अगाडि नै महीनावारी भनेको छोरी मानिसमा हुने सामान्य प्रकृया हो । पहिलो महिनावारी १२ देखी १४ वर्षको उमेरमा हुन्छ । त्यस्तो हुँदा आँत्तिनु हुँदैन भनेर कहीँ पाठ्यपुस्तकमा राखेर पढाइदिएको भए या परिवारका मानिसहरुले सिकाइदिएको भए म त्यती विक्षिप्त हुनुपर्ने थिएन । अझ यो उमेरमा आएर हर्मोन परीर्वतनको कारण स्वभाव परिर्वतन पनि सामान्य कुरा हो । समयसँगै ठिक हुँदै जान्छ भन्ने कुरा धेरैलाइ थाहा छैन । यस्तो बेलामा परिवारको सकारात्मक सहयोगको खाँचो हुन्छ । यो बेलामा परिवारले वास्ता नगर्दा कतिपय किशोर किशोरीहरु नकारात्मक बाटोमा गइरहेको पाइन्छ । हाम्रो सामाजमा किशोरकिशोरी शिक्षा दियो भने विग्रन्छन् भन्ने मान्यताले जरा गाडेको छ । यदि परिवारका सदस्य बीचमा समाजमा र विद्यालय तहदेखि नै यो विषयमा खुलेर कुरा गर्ने हो भने किशोरकिशोरी हरुले अनावश्यक रुपमा मानसिक समस्या खेप्नुपर्ने थिएन । 

Last modified on 2017-08-29 07:32:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts