अप्रेशनपछि यी कुरामा ध्यान दिनुहोस्


Download our app to get more features
Spark_health_home Birat Hospital

अप्रेशन भन्ने शब्द सुन्नेबित्तिकै हामी प्रायः डराउने गर्छौ । सानो वा ठूलो अप्रेशन सबैको आ–आफ्नो जटिलताहरू हुन्छन् । कुनै जटिलता तुरुन्त देखिने खालको हुन्छ भने कुनै लामो समयपछि देखिन्छन् । अप्रेशनको सफलता वा नतिजा अप्रेशनको प्रक्रियामा मात्र नभएर त्यसपछि गरिने बिरामीको हेरविचार, घाउको स्याहार आदिमा पनि भर पर्छ ।

अप्रेशन अनुसार फरकफरक समस्या 

vayoda

bp_ad

अप्रेशनको प्रकृति अनुसार देखिने जटिलताहरू फरक फरक हुन्छन् । केहि समस्याहरू भने प्रायः सबै अप्रेशनपछि देखिन सक्छ ।

बेहोस पार्ने औषधिको समस्याः अप्रेशनको लागि बेहोस पार्न प्रयोग गरिने औषधिहरूको असरले बिरामीमा केही समस्याहरू निम्त्याउन सक्छ । वाक्वाकी लाग्ने, वान्ता हुने, शरीरको औषधिसँगको प्रतिक्रिया (एनाफाइल्याकसीस), श्वासप्रश्वासमा र मुटुको चालमा समस्या आदि देखिन सक्छ । पुरै शरीर बेहोस पार्दा मुखमा राखिने पाइपले दाँत र घाँटीमा पनि समस्या निम्त्याउन सक्छ ।

हिडडुलमा समस्या : जटिल र ठुला अप्रेशनपछि लामो समय विरामी हिडडुल गर्न नसकेमा निमोनिया, पछाडी ढाडमा घाउ हुने समस्या (बेडसोर) आदि देखिन सक्छ ।

घाउको समस्या : अप्रेशन गर्दा चिरिएको घाउ पाक्ने, लामो समयसम्म पनि नटालिने आदि समस्याहरू देखिन सक्छ । शरीरको कुनै पनि भागको अप्रेशन गर्दा चिरिएको घाउको स्याहार गर्नु एकदमै जरुरी हुन्छ । त्यस्तो घाउको राम्रोसँग हेरविचार नगरे घाउ पाक्ने, संक्रमित हुने, ढिलो जोडिने हुन्छ ।

ड्रेसिङ्ग : सामान्यतया घाउको प्रकृति हेरेर त्यसको ड्रेसिङ्ग कहिले गर्ने भनेर निर्धारण गरिन्छ । संक्रमित र फोहोर घाउहरू छन् भने त्यसलाई दैनिक रुपमा वा दिनको दुई पटक पनि सफा गर्नुपर्ने हुन्छ । अप्रेशनबाट बनेको घाउलाई भने केहि दिन बिराएर ड्रेसिङ्ग गर्न सकिन्छ । यी कुराहरू बिरामी भर्ना भएको अस्पतालको प्रोटोकल र उपचार गर्ने चिकित्सकहरूले गर्ने जाँचहरूमा पनि भर पर्छ ।

टाँका खोल्नेः टाँका कहिले खोल्ने भन्ने कुरा घाउको अवस्था, रहेको भाग र सिलाउनको निम्ती के प्रयोग गरिएको छ आदि कुराहरूमा भर पर्छ । सामान्यतया अनुहार, पेट आदिको अप्रेसनमा लगाएको टाँका ७ देखि १० दिनमा निकाल्न सकिन्छ भने, हात वा खुट्टाको चाहिँ २ हप्तासम्म लाग्न सक्छ । हातखुट्टाको तुलनामा अनुहारमा रक्तसञ्चार बढी हुने भएकाले घाउ चाडो निको हुने गर्छ र टाँका चाडो निकाल्न सकिन्छ । यसमा पनि अस्पताल र चिकित्सक अनुसार र घाउको अवस्था हेरेर टाँका खोल्ने वा नखोल्ने निर्णय लिनुपर्ने हुँदा, सम्बन्धित चिकित्सकको सल्लाह र घाउको अवस्थाको राम्रो पहिचान गरेर मात्र टाँका खोल्नु बुद्धिमानी हुन्छ ।

घाउको टाँका खोलेपछि भने ड्रेसिङ्ग गरिरहनु पर्ने जरुरी हुँदैन तर घाउको सरसफाईमा भने ध्यान पुर्याउनुपर्छ । 

यस्ता व्यक्तिले थप सावधानी अपनाउने

मधुमेह, एचआईभीर एड्स, क्यान्सरलगायत भएका बिरामीहरूमा भने घाउ जोडिने वा पहिलेको अवस्थामा आउन समय लाग्ने गर्छ । यी बिरामीहरूले घाउको सरसफाई र हेरचाहमा थप ध्यान पुराउनु पर्ने हुन्छ । साथसाथै मधुमेहको विरामीले सुगर नियन्त्रणमा राख्नुपर्छ । धुम्रपान गर्नेहरू र रक्सी सेवन गर्नेहरूमा पनि घाउ सन्चो हुन धेरै समय लाग्ने गर्छ । 

के खाने के नखाने 

अप्रेशन गरेपछि गेडागुडी, माछामासु, खायो भने घाउ पाक्छ भन्ने भ्रम छ । खानेकुरा र घाउ पाक्नेमा केही सम्बन्ध हुँदैन । घाउको संक्रमण र पाक्ने भन्ने कुरा घाउको सरसफाई र हेरचाहमा भर पर्ने गर्छ ।
अप्रेशनपछि विरामीले गेडागुडी, माछामासु, दाल, अण्डालगायतको प्रोटिनयुक्त खानाहरू प्रशस्त मात्रामा खानुपर्छ । यसले घाउलाई चाडो सन्चो बनाउन सहयोग गर्छ ।

कस्तो अवस्थामा अस्पताल जाने ?
अप्रेशनबाट डिस्चार्ज भइसकेपछि पनि घाउको हेरविचार गरिरहनुपर्छ । यस्ता समस्या देखियो भने तुरुन्त अस्पताल जानुपर्छ :- 

—  घाउबाट पानी वा पिप बगेमा

— लामो समयसम्म पनि घाउ नजोडिएमा

— अप्रेशन गरेको केही दिनभित्र ज्वरो आउने, काम्ने भएमा

— अप्रेशनपछि लामो समयसम्म पनि दुखाई कम नभएमा

—   घाउ परीपरी सुन्निएमा

अप्रेशनपछि विरामीको अवस्था ठीक बनाउनलाई उपचार गर्ने चिकित्सक, विरामी आफंै र हेरचाह गर्ने परिवारको उत्तिकै हात हुन्छ । त्यसैले आफुले नजानेको, नबुझेको र ख्याल गर्नुपर्ने कुराहरू चिकित्सक वा जो कोही स्वास्थ्यकर्मीलाई सोध्न नहिच्किचाउ ।

Last modified on 2019-03-16 07:13:38

gch_ivf samyog_advertisement bathrog

Leave a Comment

NIdan Hospital tuberculosis

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts