आयुर्वेदिक उपचार : बिरामीको अन्तिम विकल्प 

पैसा र अन्य विकल्प सकिएपछि मात्र 'नरदेवी'



Download our app to get more features


काठमाडौं, २५ मंसिर । काठमाडौं गुर्जुधाराकी ४० वर्षीया कान्छी श्रेष्ठ माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा उपचारका लागि १२ दिन बसिन । सहनै नसक्ने गरी टाउको दुखेपछि उनी सो अस्पतालमा उपचार गर्न गएकी थिइन ।

स्वास्थ्य परीक्षणका क्रममा अस्पतालका चिकित्सकले उनलाई पक्षघात भएको बताए । रोग पत्ता लागेपछि उनी  १२ दिनसम्म सोही अस्पतालको आईसीयूमा बसिन । यो अवधिसम्ममा उनको दुई लाख भन्दा बढी सकियो तर रोग बीसको उन्नाइस भएन । 

१३आंै दिनमा उनका एक आफन्तले नरदेवी आयुर्वेद अस्पतालमा जान सुझाव दिए । आयुर्वेदिक उपचार हुने र साइडइफेक्ट पनि नहुने बताएपछि उनी नरदेवी आयुर्वेदिक अस्पताल पुगिन । अन्नपूर्ण अस्पताल हुँदा चल्नै नसक्ने श्रेष्ठ नरदेवी आएको सातै दिनमा हिडडुल गर्न सक्ने भएकी छिन । उनले भनिन् ‘यहाँ आएपछि मैले नयाँ जीवन पाएँ । आयुर्वेदिक उपचार साच्चै लाभदायक रहेछ ।’ 

यस्तै काठमाडौं बानियाँटारकी ३२ वर्षीया सविता सिम्खडा पाँच वर्षदेखि पायल्सबाट पीडित थिइन । उनले यसअघि पायल्सको शल्यक्रिया पनि गराएकी थिइन । तर, रोग केही समयपछि पुनः बल्झियो । एलोपेथिक औषधि र उपचारबाट रोग निको नभएपछि उनी नरदेवी आएको बताउँछिन् । नरदेवी अस्पताल आएपछि पायल्सको अप्रेशन भएको र निको हुनेमा ढुक्क भएको उनले बताइन । उनले भनिन् ‘अप्रेसनपछि धेरै सजिलो भएको छ । यो अस्पतालमा शुल्क पनि धेरै नलाग्ने बिहान बेलुका निःशुल्क खानाको पनि व्यवस्था भएकोले अझै सहज छ ।’ 

भक्तपुर ठिमीकी ३३ वर्षीया रमा अधिकारी पनि नरदेवीमा ढाडको दुखाईको उपचार गराइरहेकी छिन् । शिक्षण पेशामा आवद्ध अधिकारी दुई महिनादेखि ढाड दुखाइबाट पीडित थिइन । ‘रातभरि ढाड र खुट्टा दुख्ने हुँदा सुत्नै सक्दिन थिए ।’ उनले भनिन् ‘यहाँ आएर उपचार थालेपछि निकै राहत मिलेको छ ।’ ठिमीसहित अन्य अस्पतालमा उपचार र थेरापी गर्दा पनि निको नभएको उनले बताइन । ‘यहाँ आएको एक सातामै सुधार भएको छ ।’ उनले थपिन, ‘परम्परागत विधि पनि यति प्रभावकारी हुन्छ भन्ने थाहै थिएन ।’


कान्छी, सविता र रमा मात्रै होइनन् काठमाडौंको नरदेवी अस्पताल बिरामीको अन्तिम विकल्प बनिरहेको छ । यस अस्पतालमा आई पुग्ने सबैजसो बिरामी निको नहुने र आस मारेका हुने गर्छन । नरदेवी अस्पतालका निर्देशक डाक्टर रामदेव यादबका अनुसार अरु सबै अस्पताल चाहरेपछि मात्रै बिरामी यहाँ आइपुग्छन । हरेक रोग निको पार्ने औषधि र उपचार विधि भए पनि अन्तिम विकल्पका रुपमा आयुर्वेदलाई लिने गरेको उनको भनाइ छ । 

आयूर्वेद चिकित्सालय नरदेवीका अनुसार अहिले उपचार गराउने प्रायजसो ग्यास्ट्रिक, पायल्स, फिस्टुला, पक्षघात, बाथ, जन्डिस, पिनास, पंचकर्म जस्ता रोगका बिरामी आउँछन् । पञ्चकर्मका बिरामी भने ज्यादै आउने गरेको आयूर्वेद डाक्टर यादब बताउँछन् । अस्पतालमा दैनिक एक सय ७५ देखि दुई सयसम्म आउने गरेको अस्पतालले जनाएको छ । 

Last modified on 2017-12-12 07:48:09

1 Comments

  1. काठमान्डू कुन ठाउँमा होला


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts