साइकल चढ्नाले के पुरुषहरूको यौन स्वास्थ्यमा नकारात्मक असर पर्छ ?



Download our app to get more features

साइकल चढ्नाले पुरुषको यौन स्वास्थ्य वा मूत्र प्रणालीमा कुनै नकारात्मक असर नपर्ने एक अध्ययनले पत्ता लगाएको छ।

अनुसन्धानकर्ताहरूले साइकल चढ्ने पुरुषहरूको दौड र पौडी खेल्ने पुरुषहरूसँग तुलना गर्दा सबैको यौन र मुत्र स्वास्थ्य उस्तै उस्तै पाएका थिए।

यसअघि गरिएका अध्ययनहरूले भने साइकल चढ्नाले पुरुषहरूको यौन स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने निष्कर्ष निकालेको अध्ययनकर्ताहरूले बताएका छन्।

उनीहरू भन्छन् साइकल चढ्नुको "जोखिमभन्दा फाइदा धेरै गुणा बढी" छ।

निचोड

पछिल्लो अध्ययन युके, अमेरिका, क्यानाडा, अष्ट्रेलिया र न्यूजिल्याण्डका २,७७४ साइकल चढ्ने पुरुषहरूमा गरिएको थियो। उनीहरूसँगै ५३९ पौडी खेलाडी र ७८९ धावक सहभागी थिए।

उनीहरूलाई यौन स्वास्थ्य र मूत्र प्रणालीबारे विभिन्न प्रश्नहरु सोधिएको थियो।

तीनै समूहका पुरुषको यौन स्वास्थ्य र मुत्र प्रणाली तुलनायोग्य पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन्। तथापि केही साइकल चढ्ने पुरुषहरूमा चाहिँ मूत्र नली खुम्चिन सक्ने जोखिम पाइएको थियो।

त्यो अध्ययन अनुसार जोखिमको हिसाबले रमाइलोको लागि साइकल चढ्ने र दैनिक धेरै समय साइकल चढ्ने पुरुषहरूबीच उल्लेखनीय फरक पाइएन।

दुई वर्षभन्दा लामो समयदेखि साइकल चढ्ने पुरुष, प्रतिदिन २५ माइलका दरले हप्तामा तीन दिन साइकल चढ्ने पुरुष र कहिलेकाहीं मात्र साइकल चढ्ने पुरुषमा गरिएको अध्ययनपछि पछिल्लो निष्कर्ष निकालिएको हो।

पछिल्लो अध्ययनको निचोड 'जर्नल अफ युरोलोजी'मा प्रकाशित छ।

'फाइदा'

पछिल्लो अध्ययनको निष्कर्ष साइकल चढ्नाले पुरुषको यौन स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ भन्ने यस अघिका अध्ययनको निचोडसँग मेल नखाने नयाँ अध्ययनका लेखकहरूले जनाएका छन्।

उनीहरूले पुराना अध्ययनहरू स-साना समूहमा गरिएको र तीनले समूहगत तुलना नगरेको बताएका छन्।

युनिभर्सिटी अफ क्यालिफोर्नियाको युरोलोजी विभागका प्रमुख अन्सन्धानकर्ता बेन्जमिन ब्रेयर भन्छन्, "साइकल चढ्नाले मुटुको स्वास्थ्यलाई निकै धेरै फाइदा पुग्ने गर्छ। त्यसले हाड जोर्नीमा निकै कम असर पार्छ। सुरक्षित तरिकाले साइकल चलाउनेलाई जोखिमभन्दा धेरै गुणा बढी फाइदा पुग्ने गर्छ।"

लामो समयसम्म साइकल चलाउनेहरूले जननेन्द्रिय अंग वरपर केही अप्ठ्यारो महसुस गर्न सक्छन्। तर २० प्रतिशतभन्दा बढी समय उठेर साइकल चलाउनेहरूमा त्यस्तो समस्या निकै कम पाइएको अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताहरूले भविष्यमा त्यसबारे थप अध्ययन गर्ने बताएका छन्।

Last modified on 2018-10-28 10:03:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts