अत्याधुनिक प्रविधि भित्र्याएपछि नोबेल अस्पतालमा बिरामीको भीड



Download our app to get more features

विराटनगर, २७ वैशाख । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले न्यूरो सर्जरी सेवामा अत्याधुनिक प्रविधि भित्र्याएसँगै बिरामीको चाप बढेको छ । 
जर्मनी, अमेरिकालगायत देशबाट नोबेलले अत्याधुनिक उपकरणसँगै विशेषज्ञ चिकित्सकको व्यवस्थापन गरी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ । न्यूरो उपचार गर्ने प्रविधि व्यवस्थापनका लागि मात्रै करिब दुई अर्ब २० करोड लगानी गरेको अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बताए । ‘विदेशबाट पनि बिरामी आउने क्रम बढ्दै गएको छ,’ डा. शर्माले भने ‘बिरामीको भीडले नै यस अस्पतालले कस्तो सेवा दिइरहेको छ भन्ने पुष्टि गर्छ ।’

न्यूरोका बिरामी मात्रै दैनिक दुई सय भन्दा बढी
दैनिक दुई सय भन्दा बढी न्यूरोका बिरामी उपचारका लागि आउने गरेको नोबेल अस्पतालले जनाएको छ । न्यूरोलोजी (न्यूरो फिजिसियन) मा दैनिक १ सय २५ र न्यूरो सर्जरीमा ७५ भन्दा बढी बिरामी आउने गरेको नोबेल अस्पतालका न्यूरो सर्जन डा. प्रकाश काफ्लेले जानकारी दिए । केही समयअघि नोबेल अस्पतालले विश्वमै दुर्लभ मानिने एन्यूरिजम र ब्रेन ट्यूमरको एकैसाथ सफल शल्यक्रिया गरेको थियो । सुनसरीको हिरा आचार्यमा देखिएको यस्तो दुर्लभ मानिएको रोग अस्पतालले सफल उपचार गरेको थियो । 

बिदेशबाट समेत आउन थाले बिरामी
नोबेल अस्पतालमा उपचारका लागि भारत, मान्दिभ्स, बर्मा लगायत एसियाली देश र यूरोपबाट पनि बिरामी आउन थालेको अस्पताल प्रशासनले जनाएको छ । केही साताअघि मात्रै फिनल्याण्डका एक प्रतिष्ठित व्यक्तिले नोबेल अस्पतालमा ब्रेन ट्यूमरको सफल शल्यक्रिया गराएर फर्किएको अस्पतालको भनाइ छ । 

सुलव मुल्यमै स्तरीय उपचार सेवा प्राप्त हुने भएका कारण अधिकांशको रोजाइ नोबेल अस्पताल बन्दै गएको छ । दाजुको उपचारका लागि आएका धनकुटा बेलहाराका दुर्गा बास्तोलाले नोबेलबाट सस्तो मुल्यमै राम्रो उपचार पाएको प्रतिक्रिया दिए । ‘हाम्रै ठाउँमा यस्तो स्तरीय सेवा पाउँदा धेरै सहज भयो ।’ बास्तोलाले भने ।

गत पुस अन्तिमबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको नोबेलले न्यूरोका लागि एक सय वटा शय्या छुट्याएको छ । नोबेलले जस्तोसुकै रोगको पनि उपचार गर्ने भएकाले यस क्षेत्रका बिरामीहरू उपचारका लागि विदेश जानुपर्ने बाध्यता नरहेको नोबेल अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले बताए । 

Last modified on 2018-05-18 11:35:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts