अख्तियारको निलम्बनमा परेका यादवकै कब्जामा नरदेवी चिकित्सालय



Download our app to get more features

काठमाडौं, ३१ जेठ । भ्रष्टाचारको अभियोग सहित निलम्बनमा परेका नरदेवी आयुर्वेद चिकित्सालयका तत्कालीन निमित्त निर्देशक डा. रामदेव यादवले अस्पतालमा कब्जा जमाएका छन् ।

गत बैशाख ४ गते ३७ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीबाट रङ्गेहात पक्राउ परेका यादव अहिलेसम्म पनि नरदेवी चिकित्सालयमा कब्जा जमाएर बसेका हुन् ।

निलम्बनमा परेसँगै उनी सरकारी सेवा सुविधाबाट बन्चित हुनुपर्नेमा उनले अस्पताल प्रशासनले दिएको निर्देशनको अवज्ञा र अख्तियारको दुरुपयोग गर्दै सेवा सुविधा लिदै आएको खुलेको छ । उनि निलम्बनमा परेसंगै सरकारले डा. सबरी साहलाई निमित्त निर्देशकको रुपमा पठाएको छ । विगतमा उपयोग गर्दै आएका कम्प्युटर, प्रिन्टर लगायत अत्यावश्यक सामानहरु हाल सम्म पनि उनले फिर्ता नगरेको अस्पताल प्रशासनले जनाएको छ ।

निर्देशक सबरी साहले अन्तिम पटक सूचना जारी गरेको म्याद सकिएकाले आज भोलिनै उनले प्रयोग गर्दै आएको सरकारी सेवा सुविधा फिर्ता गर्ने आशा व्यक्त गरे ।

यादवको कब्जामा निर्देशकको क्वाटर

अख्तियारको निलम्बनमा परेसंगै यादवले सबै सेवा सुविधा फिर्ता गर्नुपर्नेमा डा. यादवले उल्टो दुई महिना बितिसम्दा समेत निर्देशकको क्वाटर समेत खालि गरेका छैनन । परिवार सहित बस्दै आएका उनले अस्पतालको पटक पटकको अनुरोधलाई अवज्ञा गरिरहेको प्रशासनको दावी छ । ‘अस्पताल प्रशासनले गत जेठ १० गते क्वाटर खालि गर्न भन्दै ७ दिने सुचना निकालेको थियो, निर्देशक साहले भने, ‘७ दिन भित्र सरकारी सामान बुझाउन र १५ दिन भित्र क्वाटर खालि गर्न पत्राचार गरिएको थियो ।

त्यस बिचमा कुनै प्रगति भएन ।’ साहका अनुसार पुनः गत २८ गते तीन दिनको समय थप गरेको थियो । त्यस अवधिमा पनि यादवले सामान बुझाएनन । उनि बिचौलियाहरुको आडमा रहेर अझै नरदेवी आयुर्वेद चिकित्सालय कब्जा गरेर बसेका कर्मचारीबीच कुरा हुने गरेको छ । यादव दिनभर अस्पताल परिसरमा नदेखिए पनि राती ९ बजे क्वाटर आउने गरेको स्रोतले बतायो ।

Last modified on 2018-06-14 12:27:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts