नीति निर्माण तहमा प्राथमिकतामा नपरेका कारण आयुर्वेद पछि पर्यो : स्वास्थ्यमन्त्री यादव



Download our app to get more features

काठमाडौं, १ असार ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारको नीति निर्माण तहमा आयुर्वेद प्राथमिकतामा नपरेका कारण पछी परेको बताएका छन् । उनले आयुर्वेदको आधुनिकतामा जोड अब यसको विकासमा अग्रसर भएर ठोस कार्ययोजना पेश गर्न राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र (राआअताके) लाई सुझाब दिएका छन् ।

नेपालभित्र भएका औषधिजन्य सामाग्रीको व्यापक अनुसन्धान गरि नेपाललाई औषधिमा आत्मनिर्भर बन्न सहयोग गर्नेगरि कदम चाल्न उनले निर्देशन दिए । नेपालमा बाथरोग सम्बन्धी काठमाडौंमा आयोजित एक दिने अन्तर्राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रममा रा.आ.अ.तथा तालिम केन्द्र कार्यकारी निर्देशक डा. सिद्धार्थ ठाकुरले राष्ट्रिय र अन्तराष्ट्रिय सहयोग एवं समन्वयमा आयुर्वेद अनुसन्धानलाई अझ अगाडी बढाउनु पर्ने बताएका थिए । हाल संचालित अनुशन्धान कार्यक्रमलाई निरन्तरता दिदै तय गरिएका अनुसन्धानका क्षेत्रलाई अझै व्यापक गर्नु पर्ने उनको भनाइ थियो । 
गोष्ठीमा सहभागी भारत र चीनका प्रतिनिधिले आआफ्नो देशमा आयुर्वेद तथा परम्परागत चिकित्साको बारेमा प्रष्टाउँदै नेपालसँग आयुर्वेद क्षेत्रमा सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए ।  

सहकार्य र समन्वयका लागि तयार छौं : चीन र भारत
चीनस्थित परम्परागत चिनीयाँ चिकित्सा अन्तर्राष्ट्रिय समन्वय विभागको महानिर्देशक वांग जियाओ पिङले चीनमा सन् २०२० सम्ममा सबैको पहुँचमा हुने गरि चिनीयाँ चिकित्साको विस्तार गर्ने लक्ष्य रहेको बताए । नेपालले मौलिक चिकित्साको रुपमा रहेको आयुर्वेदलाई प्राथमिकता प्रदान गर्दै त्यसका लागि रा.आ.अ.ता.केन्द्रलाई सबल, सक्षम र स्तरीय विकास गर्नुपर्नेमा जोड दिए ।  सोको लागि अनुसन्धान तथा परम्परागत चिकित्सा क्षेत्रमा नेपालसँग सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्दता जाहेर गरे ।  
कार्यक्रममा राष्ट्रिय आयुर्वेद संस्थान भारतका निर्देशक डा. संजिव शर्माले भारत सरकार आयुष मन्त्रालयको शुभकामना संदेश व्यक्त गरे । उनले परम्परागत चिकित्सकीय ज्ञानसिप र स्रोतको अधिकतम उपयोग गर्न राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र तथा राष्ट्रिय आयुर्वेद संस्थान, जयपुरबीच सम्झौता गरि आयुर्वेद अनुसन्धान तथा तालिमको क्षेत्रमा समन्वय गर्नुपर्ने आवश्यकता औल्याए । त्यसका लागि संस्थानको तर्फबाट प्रतिबद्धता पनि जनाए । उनले भने ‘भारत र चिन दुबै देशका प्रतिनिधिले नेपालको तर्फबाट ठोस प्रस्ताव ल्याए त्यसलाई कार्यान्वयन गर्नेछौं ।’

सातै प्रदेशमा आयुर्वेद अनुशन्धान प्राथमिकतामा छ : सचिव
यस्तै, स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीले कार्यक्रमको सफलताको शुभकामान दिइन । उनले सातै प्रदेशमा आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको विस्तारलाई प्राथमिकताका साथ अगाडी बढाएको जनाइन । साथै हाल भइरहेको अनुसन्धान सम्बन्धी गतिविधिलाई निरन्तरता दिदै थप नयाँ अनुसन्धान क्षेत्रमा काम गर्न सुझाब दिइन । 
गोष्ठीको वैज्ञानिक सत्रको प्रथम सत्रमा आयुर्वेद क्षेत्रका तर्फबाट राआ संस्थान, जयपुरका निर्देशक प्राडा शर्मा र एलोप्याथिकका तर्फबाट बाथ रोग विशेषज्ञ प्राडा बुद्धिप्रसाद पौडेलले प्रमुख वक्ता र  डा. विकासराज घिमिरे, डा. पिंकी साह र डा. समिक्षा न्यौपानेले अनुसन्धान पत्रको प्रस्तुति दिएका थिए । 

दोश्रो सत्रको प्रमुख वक्ताको रुपमा आयुर्वेद द्रव्यगुण र जडिबुटी विशेषज्ञ प्राडा श्याममणि अधिकारी र परम्परागत चिनीयाँ चिकित्सा विशेषज्ञ सांग तोंग ताइ आनले बाथरोगको बारेमा प्रस्तुति दिएका थिए । सो सत्रमा प्राकृतिक चिकित्सक डा. हेमराज कोइराला, चिनीयाँ चिकित्सा विशेषज्ञ डा. नानु गुरुङ र आयुर्वेद भैसज्यकल्पना विशेषज्ञ डा. सहारा श्रेष्ठले अनुशन्धान पत्रको प्रस्तुति दिएका ।
डा. निर्मल भुषालले यस प्रकारको गोष्ठीलाई विभिन्न चिकित्सा पद्धतिका महत्वपूर्ण पाटा र आपसमा भएका मतभिन्नता केलाउने अवसरको रुपमा लिएको बताए । रा.आ.अ.ता. केन्द्र विकास समितिका सदस्य डा. शंकर गौतमले यस प्रकारको गोष्ठीको महत्व बारे प्रकास पारेका थिए । 

सो गोष्ठी नेपाल सरकार स्वास्थ्य मन्त्रालय मातहतको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, किर्तिपुरको आयोजना सम्पन्न भएको थियो ।  सो गष्ठीमा नेपाल, भारत, चीन, भुटान लगायत देशका आयुर्वेद, एलोपेथिक, न्याचुरोप्याथी, परम्परागत चिनीयाँ चिकित्सा पद्धतिका चिकित्सक तथा वैज्ञानिकहरुको उपस्थिति रहेको थियो ।
गोष्ठीमा रा.आ.अ.तथा तालिम केन्द्र विकास समितिका अध्यक्ष डा. ऋषिराम कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो । 
 

Last modified on 2018-06-16 17:41:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts