टन्सिललले बालबालिकाको मुटु बिगार्न सक्छ 



Download our app to get more features

के तपाईंको बच्चाको घाँटी दुखेको छ ? बेलाबेलामा टन्सिलको समस्याले पिरोल्ने गर्छ ? त्यस्तो समस्या छ भने सामान्य रूपमा लिनु हुँदैन । टन्सिल बढ््ने जस्तो सामान्य समस्याको समयमा उपचार नगर्दा बालबालिकाको मुटुको भल्भमा क्षति हुन सक्छ र जीवनभर बाथ मुटु रोगको समस्याले सताइरहन्छ ।

बाथ मुटु ज्वरो प्रतिएक हजार बालबालिकामा दुईदेखि तीन जनासम्म देखिने चिकित्सकहरुको भनाई छ । बाथ ज्वरो र मुटुको बाथरोगले मुख्यतः स्कुल जाने उमेरका केटाकेटीहरूलाई बढी असर गर्दछ । नेपालको सबैभन्दा बढी बाथ मुटु रोगीको संख्या रहेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका अनुसार बाथ मुटुरोग रहेको केटाकेटीलाई घाँटी दुखेमा चाँडो स्वास्थ्यकर्मीलाई जचाँउनुपर्छ । 

अमेरिकन एकेडमी अफ् ओटोलेरेगोलोजी हेड एन्ड नेक सर्जरीका अनुसार बाथ ज्वरो (रुमैटिक फिभर) यस्तो अवस्था हो, जसमा मुटुको भल्भ क्षतिग्रस्त हुन्छ । यो प्रक्रिया स्ट्रेप्टोकोक्कल ब्याक्टेरियाको कारण घाँटीको संक्रमणबाट सुरु हुन्छ । यदि यसको उपचार गरिएन भने यो बाथ ज्वरोमा परिवर्तित हुन्छ । बारम्बार बाथ ज्वरोले बाथ मुटु रोग विकसित हुन्छ ।

बाथ ज्वरो 
बाथ ज्वरो एउटा सुन्निने रोग हो । यसले बालबालिकाको मुख्य रुपले मुटु, जोर्नी, मस्तिष्क वा छालालाई जोड्ने तन्तुलाई प्रभावित गर्छ । हरेक उमेरका व्यक्ति गम्भीर बाथ ज्वरोबाट पीडित हुन सक्छन् । सामान्य रूपमा यो पाँचदेखि १५ वर्षसम्मका बालबालिकालाई हुन्छ ।

नेपालमा बालबालिकालाई बर्सेनी दुईदेखि तीन पटक टन्सिलले घाँटी दुख्ने समस्या देखिने गरेको छ । यस्तो समस्यालाई उपचार नगराई छोडने चलन छ । व्याक्टेरिया स्टेप्टोकोक्कस ग्रुप ‘ए’ ले गर्दा हुने टन्सिलको सयकडा १० प्रतिशतलाई बाथ ज्वरो हुने गर्छ । बाथ ज्वरो हुने पचास प्रतिशतलाई बाथ मुटु रोग हुन्छ ।

अमेरिकन एकेडमी अफ् ओटोलेरेगोलोजी हेड एन्ड नेक सर्जरीका अनुसार स्टेप्टोकोक्कस प्रजातिले मुख्य रूपमा ५ देखि १५ वर्षका बालबालिकालाई टन्सिलको समस्या उत्पन्न गर्छ भने भाइरल टन्सिलाइलिटिस मुख्य रूपमा सानो बच्चामा हुन्छ । टन्सिल मुख्य रूपमा बालबालिकामा देखिए पनि दुई वर्ष मुनिकामा देखिनु दुर्लभ नै हुन्छ ।

घाँटीमा भाइरल वा ब्याक्टेरियाले भएको संक्रमणको अन्तिम किटान चिकित्सकले गर्छन् । भाइरल संक्रमण हुँदा घाँटीमा रातो देखिन्छ भने ब्याक्टेरियाबाट संक्रमण हुँदा सेतो पिप जस्तो स्थिति देखिन्छ ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका अनुसार केन्द्रमा आउने दोस्रो सबैभन्दा बढी बिरामी बाथ मुटु रोगको हो । बाथ मुटु रोग सहरको दाँजोमा गाउँमा बढी देखिएको अस्पतालको रेर्कडमा उल्लेख छ ।

बाथ मुटुरोग
बाथ मुटु रोग अन्तर्गत मुटुको भल्भ बिग्रिने, मुटु सुन्निने, सास फेर्न गार्हौ हुने र मुटु हल्लिने जस्ता समस्या देखिन्छ । यो रोग स्कुल जाने उमेर अर्थात पाँचदेखि १८ वर्षको बालबालिकामा देखिन्छ ।

स्कुल जाने उमेरमा घाँटी दुख्ने, टन्सिल, जोर्नी दुख्ने जस्ता समस्या देखिए चनाखो हुनुपर्छ । किनभने यसबाट मुटुको रोग उत्पन्न हुन सक्छ । वयस्कलाई टन्सिल हुँदा आत्तिनुपर्ने नभए पनि १८ वर्ष मुनिकालाई टन्सिलको समस्या देखिए चनाखो हुनुपर्ने चिकित्सकहरू बताउँछन् ।

उपचार 
सुरुमै घाँटी दुख्दा औषधि गर्यो भने करिब एक सय रुपैयाँमा ठिक हुन्छ । तर भल्भ बिग्रेपछि लाखौं खर्च गरे पनि पूरा निको हुँदैन । अहिले नेपालमा भल्भ बिग्रेर अपाङ्ग जीवन बिताउने थुप्रै बालबालिका छन् ।

एकपटक बाथ ज्वरो भइसकेपछि जति चोटी घाँटीको संक्रमण हुन्छ त्यतिपटक स्ट्रेप्टोकोक्कस ब्याक्टेरियाले आक्रमण गरिरहेको हुन्छ । बाथ ज्वरो भएपछि प्रत्येक तीन तीन सातामा पेनिसिलिनको सुई लगाउँदा यो रोग बढ्न पाउँदैन । यो सुई भने ३५ वर्षको उमेरसम्म लगाउनुपर्ने हुन्छ । अपवादको अवस्थामा कसैलाई जीवनभरी लगाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।


(एजेन्सीको सहयोगमा) 
 

Last modified on 2018-06-18 15:34:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts