नर्भिक अस्पतालको अर्को खुलेयाम ठगी, खारेज भैसकेको स्वास्थ्यसेवा करका नाममा ५० लाख असुल



Download our app to get more features

काठमाण्डौ, ९ असार । राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालले खारेज भैसकेको स्वास्थ्य सेवा कर उठाएर दैनिक लाखौं रकम ठगी गरिरहेको पाइएको छ । अस्पतालले स्वास्थ्य सेवा कर खारेज भएको तीन साता नाघिसक्दा समेत सेवा करका नाममा अतिरिक्त पाँच प्रतिशत असुल गरिरहेको हो । 

करसम्बन्धी निर्णय बजेट भाषण भएसँगै कार्यान्वयन हुनुपर्ने भएपनि अस्पतालले अझैसम्म सेवाग्राहीसँग असुल गरिरहेको छ । जेठ १५ गते भएको बजेट भाषणसँगै आयकर बाहेक सम्पूर्ण नियम तत्काल लागू हुने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगाना बताउँछन् । उनले भने 'करका प्राय शर्तहरु बजेट भाषण भएसँगै लागू हुन्छ । यसमा कसैले पैसा उठाइरहेको छ भने त्यो गलत हो । हामीलाई सूचना दिनुहोस् ।' ढुंगानाका अनुसार आयकर मात्र आउँदो साउन १ गतेबाट कार्यान्वयन त्यसबाहेक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवा करहरु बजेट भाषण भएकै दिनबाट कार्यान्वयन हुन्छ । यो नेपालको आर्थिक ऐनको दफा दुईमा स्पष्ट उल्लेख गरिएको छ । 

दैनिक करिब २ लाख ५० हजार थप असुली 
नर्भिक अस्पतालको औसत मासिक कारोबार १५ करोडको हुन्छ । यसैलाई आधार मान्दा उसले दैनिक ५० लाखको कारोबार गर्छ । ५० लाखको पाँच प्रतिशत २ लाख पचास हजार हुन्छ । हाम्रो डक्टरलाई प्राप्त भएको नर्भिक अस्पतालले असार ८ अर्थात जुन २२ को मितिमा जारी गरेको बिलमा पनि ५ प्रतिशत जोडिएको छ । यो बजेट भाषण भैकन २४ दिनपछिको हो । यसबाटै सहजै हिसाव निकाल्न सकिन्छ । अस्पतालले यो बीचमा कबिर ५० लाखभन्दा बढी थप पैसा असुल गरेको छ । 

निजी अस्पताल संघका अध्यक्षकै अस्पतालमा ठगी
निजी अस्पताल संघका अध्यक्ष समेत रहेका बसन्त चौधरीकै अस्पताल हो नर्भिक । उनैको संस्थाले बजेट भाषणको दुईदिन बित्न नपाउँदै सरकारको निर्णयको स्वागत गर्दै दैनिक पत्रिकामा सूचना निकालेका थियो । यस विषयमा बुझ्न खोज्दा चौधरीको सचिवालयले समय नभएको प्रतिक्रिया दियो । त्यसपछि निजी अस्पताल संघका महासचिव हेमराज दाहाललाई फोन गर्दा उनले आफुहरु कन्फ्यूजनमा रहेका जवाफ दिए । उनले भने 'त्यही दिनदेखि कार्यान्वयन हुनुपर्ने भएपनि कतिपय साथीहरुलाई जानकारी नभएर साउन १ गते कुर्नुभएको होला ।' उनले संघले सबै सदस्य अस्पताललाई परिपत्र गरिसकेको जानकारी दिए । तर, अध्यक्षकै अस्पतालमा पैसा उठाइरहेको विषयमा भने आफुलाई जानकारी नभएको उनले बताए । उनले यो बीचमा उठाइएको कर पनि सरकारलाई बुझाउने दावी गरे । 

प्रष्टोक्तिः राजश्व सचिव शिशिर ढुंगानाको थर यसअघि अन्यथा भएकोमा सच्च्याइएको छ । 

यो पनि पढ्नुहोस्

पार्किंङको नाममा सेवाग्राहीसँग दैनिक लाखौं ठगी गर्दै नर्भिक अस्पताल

मेडिसिटी र भरोसाले पनि टेरेनन् कर खारेजी, मेडिसिटी मु.अ.क लगाउँदै, भरोसामा स्वास्थ्य सेवा कर

Last modified on 2018-06-25 15:59:24

1 Comments

  1. म गलत पनि हुन सक्छु तर मैले बुझेको अनुसार स्वास्थ्य सेवा कर त श्रावण १ गतेदेखि खारेज हुने होइन र भन्या ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts