आँखा प्रत्यारोपणमा नयाँ प्रविधिः अब १ व्यक्तिको आँखाबाट ४ जनाले पाउँछन् दृष्टि 



Download our app to get more features

काठमाडौं, ४ चैत । तिलगंगा आँखा प्रतिष्ठानमा आँखा प्रयारोपणका लागि नयाँ प्रविधि भित्रिएको छ ।

डिप स्ट्रेपिङ्ग इन्डोथेलीयल केराटोप्लान्टी (DSEK) नामक अन्तर्राष्ट्रिय स्तरको नयाँ प्रविधि भित्रिएको दुईमहिना भएको प्रतिष्ठानको आइ बैंकका व्यवस्थापक शंख नारायण त्वाएनाले बताए ।

व्यवस्थापक त्वाएनाका अनुसार उक्त प्रविधिबाट एक व्यक्तिको आँखाको नानी निकालेर चार जनालाई दृष्टि दिन सकिन्छ ।

उनले भने ‘यसअघि एक व्यक्तिको आँखाबाट दुई जनालाई मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो, अहिले एक व्यक्तिको दुईवोटा आँखा ४ जना दृष्टिविहीनलाई प्रत्यारोपण गर्न सकिन्छ ।’

यो प्रविधिबाट नानीको कुन भागमा समस्या भएको हो पहिल्याएर, त्यही भाग मात्रै प्रत्यारोपण गर्न सकिने त्वाएनाले बताए ।

‘नानीको पनि ५ वटा तह हुन्छन्, यस प्रविधिबाट कुन तहमा समस्या भएको हो, सोही पत्रमा मात्रै प्रत्यारोपण गर्न सकिने हुँदा एक व्यक्तिको २ आँखा ४ जना दष्टिविहीनलाई प्रत्यारोपण गर्न सकिने भएको हो’, उनले स्पष्ट पारे ।

नयाँ प्रविधिबाट हालसम्म ११ जनालाई सेवा दिइसकेको व्यवस्थापक त्वाएनाले जानकारी दिए । 

हालसम्म कति आँखा प्रत्यारोपण ?
२०५१ मा पहिलोपटक नेपालमै आँखाको नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो ।

पहिलोपटक नेपालीबाटै आँखा निकालेर प्रत्यारोपण गरेको २४ वर्षमा १० हजार ६ सय जना दृष्टिविहीनले दृष्टि पाइसकेका छन् ।

नेपालमै आँखाको नानी निकालेर प्रत्यारोपण गर्नुअघि विदेशबाट दानस्वरुप उपलब्ध गराइएका नानी प्रत्यारोपण गरिन्थ्यो ।

प्रतिष्ठानको आँखा ब्यांकको तथ्यांकअनुसार बाहिरबाट ४ सय ७३ वटा आँखाका नानि ल्याइएको थियो । 

७७ हजारले गरे आँखा दान
मृत्युपछि आँखा दान गर्ने इच्छा राखेर हस्ताक्षर गर्नेको संख्या करिब ७७ हजार पुगेको आँखा बैंकको तथ्याकंले देखाएको छ ।

तर, इच्छापत्रमा हस्ताक्षर गर्ने सबैको आँखा निकाल्न नसकिने बैंकका व्यवस्थापक त्वाएना बताउँछन् ।

‘आँखा दान गर्छु भनेर हस्ताक्षर दिने कतिपय दुर्गम स्थानमा हुनुहुन्छ भने कतिपयको कुन अवस्थामा मृत्यु भएको हुन्छ, सबैको जानकारी हामीसम्म आउँदैन’, उनले भने । 

कुन वर्षमा कति आँखा संकलन, कति जनामा प्रत्यारोपण 

प्रतिष्ठानको आँखा बैंकको तथ्याङ्अनुसार २०१३ मा ६ सय ३७ को आखाँको नानी संकलन गरिएको थियो जुन ५ सय ९ जनामा प्रत्यारोपण गरिएको थियो ।

त्यसैगरी, २०१४ मा ७ सय ९ ओटा नानि संकलन गरिएको थियो भने ५ सय ७६ जनामा प्रत्यारोपण गरिएको थियो ।

२०१५ मा ६ सय १ नानि संकलन गरिएको थियो, त्यसमा ५ सय १७ जनामा  प्रत्यारोपण गरिएको थियो ।

त्यस्तै २०१६ मा ७ सय ११ ओटा नानि सकंलन गरिएको थियो, सोही वर्ष ६ सय ६१ जनामा प्रत्यारोपण गरिएको तथ्याङ्कमा उल्लेख छ ।

२०१७ मा ८ सय ६१ नानि संकलन गरिएको थियो भने ७ सय ९१ मा नानि प्रत्यारोपण गरएको थियो ।

तथ्याङ्कअनुसार २०१८ मा हालसम्मकै बढी नानी संकलन भएको छ, सो वर्ष ११ सय ७८ ओटा नानी संकलन गरिएको थियो ।

साथै १ हजार ५१ जनामा नानी प्रत्यारोपण गरिएको छ । हालसम्म गरिएको प्रत्यारोपण ९६ प्रतिशत सफल भएको तथ्याङ्कले देखाउँछ । 

कहाँ–कहाँ हुन्छ आँखा संकलन ?

नेपालमा सबैभन्दा बढी नानी संकलन काठमाडौंमा नै भएको छ । प्रत्यारोपणको ८० प्रतिशत संकलन काठमाडौं उपत्यकामा भएको छ ।

काठमाडौंको वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, विद्युत् शवदाह गृह र पशुपती आर्यघाटमा आँखा संकलन हुने त्वाएनाले बताए ।

काठमाडौं बाहिर भने मेची नेत्रालय, काकडभित्ता, मेचि आँखा अस्पताल विर्तामोड, लाहान आँखा अस्पताल, विराटनगर आँखा अस्पताल, हेटौडा आँखा अस्पताल, हिमालयन आँखा अस्पताल पोखरा, गेटा आँखा अस्पताल कैलालीमा संकलन हुने गरेको छ ।

Last modified on 2019-03-20 06:18:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts