बाढी प्रभावित क्षेत्रमा औषधि र चिकित्सकसहितको टोली जाँदै



Download our app to get more features

काठमाडौं, ३० असार । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि र चिकित्सकको टोली आज पठाउँदैछ ।

संघीय स्वास्थ्य मन्त्रालयले तीन स्थानमा समन्वय केन्द्र स्थापना गर्ने निर्णय गर्दै आइतबार मन्त्रालयमा बसेको स्वास्थ्य विषयगत क्षेत्रको बैठकले बाढी प्रभावित क्षेत्र प्रदेश २ को पथलैया, बर्दिवास र लहानमा मेडिकल अधिकृतको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाउने निर्णय गरेको हो ।

पथलैया समन्वय केन्द्रले बारा, पर्सा र रौतहट, बर्दिवास समन्वय केन्द्रले सर्लाही, महोत्तरी र धनुषा तथा लहान समन्वय केन्द्रले सिरहा र सप्तरीको सम्पूर्ण स्वास्थ्य अवस्था अध्ययन गरी केन्द्रमा रिपोर्टिङ गर्ने र केन्द्रले सोही अनुसारको योजना बनाउने छ । 

बाढी प्रभावितको उपचार र त्यहाँको स्वास्थ्य सेवा र केन्द्रबाट गर्नु पर्ने आवश्यक जनशक्ति र सामग्रीको  अनुगमन गर्न चिकित्सकको टोली आज त्यस तर्फ जान लागेको हो ।

आज जाने टोलीले केही अत्यावश्यक औषधि समेत लिएर जाने र आवश्यक परे विभिन्न अस्पतालका चिकित्सकलाई तयारी अवस्था रहन पनि निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।
 

Last modified on 2019-07-15 12:17:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts