शिशु हेरचाहको परम्परागत शैलीले संक्रमणको जोखिम



Download our app to get more features

काठमाडौं, ५ चैत । नवजात शिशु भन्नाले जन्मेदेखि २८ दिनसम्मलाई बुझिन्छ । जाडो मौसममा शिशुको स्वास्थ्यमा ध्यान दिन सकेन भने ज्यान जाने खतरा हुन्छ । 

शिशुको स्वास्थ्य निकै संवेदनशील हुने भएकाले उनीमा संक्रमणको खतरा बढी हुन्छ । जाडोयाममा शिशुलाई हाइपोथेरापी रोगले सताउने खतरा बढी छ । 

शिशुको हेरचाहमा परापूर्वकालदेखि चलिआएको चलनका कारण पनि उनीहरु संक्रमित हुने खतरा हुन्छ ।  

जाडो भयो भनेर कोठाभित्र मकलमा धूँवा निस्कने गरि आगो बाल्दा शिशुको श्वासप्रश्वासमा गाह्रो भई उनीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । शिशुले पटकपटक दिसापिसाब गर्ने भन्दै केही अविभावकले जाडोयाममा पनि सुरुवाल नलगाईदिने गर्छन । यसो गर्दा शिशुलाई चिसोले चाडै समाउन सक्छ । 

शिशुलाई चिसो भयो कि भएन भनेर जान्न उनीहरूको पेट र पैतालमा छामेर जानकारी लिनसकिन्छ । यदि शिशुको पैताला चिसो भयो भने उनीहरूलाई माइल हाइपोथेरामी भएको हुनसक्छ भने छातीमा समेत चिसो भए शिशुको स्वास्थ्य झनै खराब भएको बुझिन्छ । 

त्यसैले जाडोमा शिशुलाई चिसोबाट बचाउन आमाले छातीमा टाँसेर वा न्यानो लुगाले बेरेर बोक्नुपर्छ । यसलाई कंगारु मदर थेरापी भनिन्छ । 

न्वारन नगरेसम्म सिलाएको लुगा लगाउने नहुने भ्रम
न्वारन नगरेसम्म शिशुलाई सिलाएको लुगा नलगाइ दिने चलन छ । नवजात शिशुलाई सिलाएको लुगा लगाउनु हुँदैन भन्ने धारणा अझै पनि केही स्थानमा परम्पराको रुपमा स्थापित छ । जुन  गलत हो । चिसोमा पनि नवजात शिशुलाई सिलाएको न्यानो लुगा नलाइ कपडाले मात्रै बेरेर राख्ने चलन छ । जसले शिशुलाई चिसोले छिटो समात्छ ।

अझै पनि केही जातीमा शिशु जन्मिँदा हँसियाले नाभि काट्ने चलन छ । तर यो गलत चलन हो । हँसियाले नाभि काट्दा शिशुमा संक्रमणको जोखिम उच्च हुन्छ । शिशुको नाभि काट्दा जहिले पनि निर्मलीकरण गरेको ब्लेड प्रयोग गर्नुपर्छ ।

मुख हेर्दा पैसा चढाउने चलन
अहिलेसम्म पनि नवजात शिशुको मुख हेर्दा उसलाई पैसा चढाउने नेपाली परम्परा छ । नवजात शिशुको मुख हेर्दा पैसा वा केही उपहार दिनु पर्छ भन्दै शिशुको टाउकोमा राखिदिने चलन छ । पैसा धेरै मान्छेको हातमा परिसकेको हुन्छ । 

तर पैसमा धेरैको हात परेको हुनाले यसमा किटाणुको मात्रा बढी हुन्छ । यही पैसा शिशुमा चढाउँदा उसलाई संक्रमित हुने खतरा हुन्छ । त्यसैले पैसा चढाउनै परे अलग्गै राख्ने व्यवस्था मिलाउनु पर्छ । 

पैतालाको टिका लगाउने चलन
शिशुलाई घर बाहिर लैजानु पर्यो भने अरुको आँखा नलागोस् भनेर पैतालमा थुक राखेर त्यसको टिका लगाउने चलन यताकदा पाइन्छ । यस्तो गर्दा शिशुमा पैतालामा भएको फोहरयुक्त किटाणुका कारण संकमण फैलन सक्छ ।  

बच्चा पँहेला हुँदा बेसार खान नहुने भ्रम
बिरामी परेर शिशु पँहेलो भयो भन्दै आमाले पनि बेसार खान नहुने धारणा पाइन्छ । तर आमाले बेसार खान छाड्दैमा शिशु ठिक हुने होइन । शिशुमा संक्रमण हुँदा यस्तो देखिने गर्छ । यसको लागि आमाले हरियो सागपात, अण्डा, माछामासु लगायत पर्याप्त मात्रामा पौष्टिक तत्व पाउने खानेकुरा खानुपर्छ । यसले शिशुको रोगविरुद्ध लड्ने क्षमता वृद्धि हुन्छ । 

औषधि खाइरहेको अवस्थामा दुध खुवाउन नहुने भ्रम
आमाले औषधि सेवन गरिरहेको अवस्थामा शिशुलाई स्तनपान गराउनु हुन्न भन्ने भ्रम पनि पाइन्छ । क्यान्सर रोगीले औषधि सेवन गरेको अवस्थामा बाहेक अरु जुनसुकै बिरामीले पनि स्तनपान गराउन सक्छन । 
गर्भावस्थामा आमालाई तनाव दिनु हुँदैन । यो बेला आमाले तनाव लिँदा शिशुको लागि पर्याप्त दूध नपुग्न सक्छ । त्यसैले आमालाई भावनात्मक रुपमा पनि तन्दुरुस्त राख्ने गनुपर्छ ।

घाममा राखेर तेल लगाउने
शिशुलाई घाममा राखेर तेल लगाउने चलन छ । यो शिशुको लागि राम्रो हो । यसले मसाजको काम गर्नुको साथै शिशुले भिटामिन डी समेत प्राप्त गर्छ । यसको लागि तेललाई शुरुमा अलिकति तताउने गर्नुपर्छ । यसो गर्दा तेलमा भएको ब्याक्टेरिया नष्ट हुन्छ र शिशुलाई संक्रमणबाट बचाउँछ । 

गाँजल लगाउँदा आँखामा असर
कतिपय अविभावकले शिशुलाई गाँजल लगाइदिने गर्छन । सुन्दरताका लागि लगाउने गाँजलले शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । आगोमा भाडा घोप्टाएर गाँजल बनाउने गरिन्छ ।
गाँजल एक प्रकारको कार्बनको लेप हो । गाँजल लगाउँदा शिशुको आँखा पिरो बनाउने र आँखामा संक्रमण गराउने खतरा हुन्छ ।
 

Last modified on 2019-03-20 06:20:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts