‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि नीति बनाउँदै सरकार, नयाँ आर्थिक वर्षमा बजेट छुट्याउने तयारी

काठमाडौं, २ वैशाख । सरकारले ल्याउने भनेको ‘एक विद्यालय एक नर्स’ कार्याक्रम नयाँ आर्थिक वर्षबाट मात्रै सहज रुपले सञ्चालन गर्ने तयारी गरेको छ ।
हाल केहि प्रदेशमा पाइलटिगंको रुपमा कार्यक्रम सञ्चालन भएपनि त्यसलाई अझ प्रभावकारी रुपमा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा सरकार नीति निर्माणमा जुटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नीति तथा योजना महाशाखाका प्रमुख डाक्टर विकास देवकोटाका अनुसार ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि अहिले मन्त्रालय नीति निर्माणमा जुटेको छ ।
हाम्रो डाक्टरसँग कुराकानी गर्दै उनले ‘सरकारले ल्याएको यो कार्यक्रम अब आगामी आर्थिक वर्षको बजेटमै समावेश गरेर सञ्चालनको तयारी हुँदैछ ।’
विद्यालयमा नर्स हुँदा विद्यार्थीलाई सामान्य स्वास्थ्य समस्या हुँदा विद्यालय छोड्ने अवस्थाको अन्त्य हुने, नियमित स्वास्थ्य जाँचमा बालबालिकामा देखिने कुनैपनि स्वास्थ्य समस्याको समयमै पहिचान गर्न सकिने जस्ता सेवा पुर्याउने उदेश्यले सरकारले यो कार्यक्रम ल्याउन लागेको उनले जानकारी दिए ।
उनले थपे, ‘अहिले केहि प्रदेशका केहि विद्यालयमा पाइलटिगंको रुपमा यो कार्यक्रम सञ्चालनमा छ । ती विद्यालयमा विद्यार्थीमा देखिएको प्रभाव कस्तो पर्न जान्छ त्यस आधारमा कार्यक्रममा थप के आवश्यक पर्छ भनेर अघि बढ्न मद्दत हुन्छ ।’
डाक्टर देवकोटाले स्वास्थ्य मन्त्रालयको यो कार्यक्रम सञ्चालन भयो भने बालबालिका स्वास्थ्य सेवाबाट बञ्चित नहुने र विद्यालयमा निरन्तर आउँदा शिक्षाबाट पनि नछुट्ने बताए ।
Hamro Doctor

























