जन्मजात मलद्वारविहीन रविनाको ग्रीनसिटीे अस्पतालमा सफल शल्यक्रिया



Download our app to get more features

काठमाडौं, २७ जेठ । आठ वर्षसम्म जीवनमरणको संघारमा रहेकी दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगीको ग्रीनसिटि अस्पतालमा मलद्वारको सफल शल्यक्रिया भएको छ । 

आर्थिक अवस्था कमजोर रहेको परिवारीकी योगीको अवस्था बारे जानकारी पाउनसाथ अस्पतालले बोलाएर निशुल्क शल्यक्रिया गरेको हो । अस्पतालका वरिष्ठ बालशल्य चिकित्सक डा. गेहराज दाहालको नेतृत्वमा एनेस्थेसियामा डा. आशिष अमात्य र स्टाफ नर्सहरुको टोलीले पाँच घण्टा लगाएर शल्यक्रिया गरिएको हो । योगीका परिवारका अनुसार यस अघि उपचारका क्रममा विभिन्न अस्पतालमा लगिएको तर शल्यक्रिया भने सफल हुन सकेको थिएन । 

जन्मजात मलद्वार विहिन छोरी जन्मिएपछि बुटवल, पाल्पा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार र शल्यक्रिया प्रयास गरेपनि सफल हुन नसकेको परिवारले जनाएको छ । डा.दाहालको टोलीले जेठ ६ गते सफल शल्यक्रिया गरे पश्चात उनको स्वास्थ्य राम्रो हुदैं गएको छ । 

अस्पताल संचालन एउटा सेवा भाव पनि हो भन्ने उद्देश्यले कसैले नयाँ जीवन पाउछ भने विपन्न परिवारकै सदस्य भएर बञ्चित हुनुहुदैन भन्ने मान्यताका साथ सेवागर्ने गरेको अस्पतालले जनाएको छ । 

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले यस्तो खालको सेवागर्ने अवसर अस्पताललाई पर्याे भने जुनसुकै बेला पनि तयार रहेको बताए । उनले सेवा नै धर्म हो भन्ने मान्यताका साथ अस्पतालले विपन्न परिवारका बिरामीलाई निशुल्क उपचारको व्यवस्था गरेको र महिनाको दुईवटासम्म निशुल्क अप्रेशन समेत गर्ने गरेको बताए । 

अस्पतालले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वार विहिन दुई दलित बालिकाको निशुल्क उपचार गरेको थियो । बालिकाहरु ९ महिनाकी लोकमाया सुनार र १३ वर्षिया लिला विक हुन् । त्यसैगरी कुपण्डोलको सडकमा खुट्टा सुनिएको अवस्थामा मागेर बसेका दृष्टिविहिन दम्पति सन्त मुखिया र उनकी श्रीमतीलाई अस्पतालले निशुल्क उपचार गरी १५ दिन पछि अस्पतालबाट पठाएको थियो । अस्पतालले अहिलेसम्म १८ वटा मुटुको अप्रशन निशुल्क गरिएको छ । 

Last modified on 2019-06-10 17:17:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts