पोलिसिस्टिक ओभरिज: निःसन्तानको प्रमुख एक कारण (भिडियोसहित)



Download our app to get more features

अस्वस्थ खानपान, बिलासी जीवनशैली लगायतका कारणले निःसन्तानजन्य समस्या बढ्दै गइरहेको छ । यस्तो जीवनशैली अपनाउने धेरै व्यक्तिमा चाहेको बेला बच्चा नहुने र केहीमा सधैका लागि बच्चा नहुने समस्या समेत देखिएको छ । यस्तो जीवनशैलीका कारण महिलामा पोलिसिस्टिक ओभरिज हुने र जसका कारण निःसन्तानसम्बन्धी समस्या आउँछ । पोलिसिस्टिक ओभरिज के हो ? यसका लक्षण के के हुन् ?  महिलामा यसले के कस्तो असर गर्छ भन्ने विषयमा स्त्री, प्रसूति तथा निःसन्तान रोग विशेषज्ञ डा. स्वस्ती शर्मासँग गरिएको कुराकानीको अंश ः–
 

पोलिसिस्टिक ओभरिज के हो ?
पोलिसिस्टिक ओभरिजलाई पिसिओडी पनि भनिन्छ । पछिल्लो समय यो समस्या धेरै महिलामा देखिन थालेको छ । सामान्य भाषामा भन्दा महिलामा सेक्स हर्मोनको असन्तुलन हुँदा वा डिम्बासयमा आवश्यता भन्दा बढी हर्मोन निर्माण भएका डिम्ब बिकसित हुने क्रममा कहिलेकाही स–साना पानीको फोका जस्तो सिस्ट वा गाँठा बन्छ यसलाई नै पोलिसिस्टिक ओभरिज भनिन्छ । 
पोलिसिस्टिक ओभरिजको कारण 

  • पोलिसिस्टिक ओभरिजको मुख्य कारण सेक्स हर्मोनको उत्पादन बढी हुनु हो । 
  •  जंक फुडको बढी प्रयोग गर्नु वा असन्तुलित आहार ।
  •  वंशाणुगत गुण ।
  •  मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढी भएमा पनि यस्तो समस्या आउन सक्छ । 
  •  मोटोपन ।
  •  सरसफाईको कमी आदि । 

लक्षण 
यसका लक्षणहरू सबैमा एकै प्रकारको देखापर्छ भन्ने छैन । व्यक्तिको शारीरिक अवस्था, उमेर आदिले फरक फरक लक्षण देखा पर्न सक्छ । कोही महिलामा लक्षण नै नदेखिए पनि यो समस्या हुनसक्छ । तर अधिकांशमा निम्न लक्षण देखापर्छ ः—

  •     महिनावारी अनियमित हुनु ।
  •     रक्तश्राव बढी हुने । 
  •     अनुहार तथा शरीरमा अनावश्यक रौंहरू पलाउनु ।
  •      तौल बढ्नु ।
  •     तल्लो पेट दुख्नु ।
  •     पेट फुल्नु ।
  •     डन्डिफोर आउनु ।
  •     पटकपटक पिसाब लाग्नु ।
  •     गर्भधारणमा समस्या आउनु ।
  •     गर्भ रहे पनि खेर जाने समस्या हुनु ।  
  •     छालामा कालो खैरो दागहरू देखिनु । 
  •     स्तन साह्रो हुनु । 

पोलिसिस्टिक ओभरिजले कसरी निःसन्तान बनाउँछ ?

पेलिसिस्टिक ओभरिज हुने सबैमा सन्तान नै हुँदैन भने होइन । कोही महिलामा यो समस्या हुँदाहुँदै पनि महिनावारी नियमित हुने र गर्भ रहने हुन्छ । तर कमै मात्रामा यस्तो हुन्छ । जसमा आवश्यक समयमा अण्डासयमा सन्तुलित अण्डा उत्पादन गर्दैन र यस्तो समस्या लामो समयसम्म भएमा सिस्टहरू कडा भएर माला जसरी जम्मा हुन्छ । जसका कारण गर्भ रहँदैन् । 

पेलिसिस्टिक ओभरिजबाट कसरी बच्ने ?
यो समस्या देखिसकेपछि पूर्ण निको हँुदैन् । यद्यपि, यसलाई रोकथाम गर्न र जटिलताबाट बच्न भने सकिन्छ । 

  •     महिनावारीमा गडबडी भए तुरुन्त स्वास्थ्थ परीक्षण गराउने ।
  •     सन्तुलित आहार गर्ने ।
  •     तौल नियन्त्रणमा राख्ने । 
  •     मधुमेह, रक्तचाप सन्तुलनमा राख्ने ।
  •     नियमित व्यायम गर्ने ।
  •     सरसफाईमा ध्यान दिने ।
  •     चाहेको बेलामा बच्चा भएन भने स्वास्थ परीक्षण गराई हाल्ने । 
  •     सक्रिय जीवनशैली अवलम्बन गर्ने ।
  •     अग्रजलाई यस्तो भएको भए, समस्या नदेखिए पनि स्वास्थ परीक्षण गराउने ।

 

भिडियो

प्रस्तूति : सर्मिला थापा
 

Last modified on 2019-06-17 12:17:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts