बाढि प्रभावित क्षेत्रमा च्यूराको भरमा गर्भवती



Download our app to get more features

काठमाडौं, ३१ असार । उनको पेटमा ५ महिनाको गर्भ छ । यति बेला स्वास्थ्यको राम्रै ख्याल राख्नुपर्छ । तर बाढीले घर डुबाउँदा विस्थापित भएपछि स्वास्थ्य परको कुरा, उनले भरपेट खान पाएकी छैनन् । दुई दिन भयो, उनले चिउराको भरमा दिन काट्नुपरेको । दुई वर्षीया नाबालक छोरीलाई समेत उनले अघाउन्जी खुवाउन सकेकी छैनन् ।

उनी अर्थात् २३ वर्षीया गर्भवती सोनादेवी पासवान । सरस्वती माविमा सपरिवार आश्रय लिइरहेकी उनी सोमबार निकै पीडामा भेटिइन् । घरमा पानी पसेपछि खानेकुरा सबै त्यहीं थुनिए ।

भाँडाकुँडा र खाद्यान्न भित्रै परेपछि परिवारलाई कसरी बचाउने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको छ ।‘छोरीले तातो भात खान खोजेकी छ, पकाएर ख्वाउन सकिन्छ कि भनेर चुलो बनाउन लागेको छु,’ उनले भनिन् । राहतस्वरूप आउने चामलको पर्खाइमा छिन् उनी । शुक्रबार रातिको बाढीले घर भत्किन थालेपछि सन्तोष पासवान ५ वर्षीय छोरा विवेक र २ वर्षीया छोरी रुचिलाई काखमा च्यापेर गर्भवती श्रीमती सेनादेवीसहित बाहिरिए । हतारमा एकसरो लत्ताकपडा पनि निकाल्न पाएनन् । खाद्यान्न सबै बगायो । हेर्दाहेर्दै सानो घर डुब्न लाग्यो । गाउँले चिच्याउन थाले । त्यो दिन उनीहरू नजिकको स्कुलमा रातभर जाग्राम बसे ।

वाग्मती र झाझ खोला बस्ती पसेको थियो । यसबाट बस्तीका झन्डै ३ सय घर डुबानमा परे । ज्यान जोगाउन लाग्दा खाद्यान्न, लत्ताकपडा केही निकाल्न नपाएको सन्तोषले गुनासो गरे । ‘आँखै अगाडि घर भत्किन थालेपछि बच्चा र श्रीमतीलाई बाहिर निकालेर भागें,’ उनले भने, ‘एकैछिनपछि गाउँलेहरूसमेत भागाभाग भए ।’

गर्भवती श्रीमतीलाई भिटामिन र खानपिनमा हेरचाह गर्नुपर्ने बेला विपद् आइलागेको उनले बताए । गाउँमा बाढीले धेरैका घर भत्किए । सामान काम नलाग्ने भए । कसैले पनि घरका सामान निकाल्न सकेनन् । गाईबस्तु भने गोठबाट बाहिर निकालेर जसोतसो जोगाए । ‘चुलो त बनायौं तर खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्तामा छौं,’ सोनादेवीले भनिन्, ‘यस्तो विपद् कहिल्यै भोगेका थिएनौं ।’

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-07-16 12:33:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts