आइसियू लैजाँदैमा सबै बिरामीको मृत्यु हुँदैन

आइसियूमा भर्ना भएका बिरामीको बिमा गराउने प्रणाली विकास गर्न आवश्यक 


Download our app to get more features
Spark_health_home Birat Hospital

आइसियू भन्नेबित्तिकै अधिकांश मानिस डराउँछन् । बिरामी आइसियूमा लगिएको छ भने कतिपयले फर्किंदैन होला भन्ने सोच्छन् । आइसियूमा विभिन्न किसिमका बिरामी लगिन्छ । त्यहाँ बिरामीलाई बढी हेरचाह गरिन्छ । यसकारण सबै बिरामी फर्किंदैनन् भन्ने सोच राख्नु भ्रम भएको चिकित्सकहरू बताउँछन् । आइसियू के हो ? आइसियूभित्र कस्तो उपचार हुन्छ लगायत विषयमा इन्टेन्सिभिस्ट डा. दिप्तेश अर्यालसँग हाम्रो डाक्टरकी संवाददाता मीरा खतिवडाले गरेको कुराकानी:
 

आइसियू भनेको के हो ?
आइसियू भनेको एउटा स्पेसल वार्ड हो । जेनेरल वार्ड, सर्जिकल वार्ड भनेजस्तै यो इन्टेन्सिभ केयर युनिट हो । क्रिटिकल केयर विशेषज्ञता हो, मेडिकल स्पेसिलिटी हो । त्यसमा टे«न भएका आइसियू विशेषज्ञले सिकिस्त बिरामी जसको ज्यान जतिबेला पनि जान सक्ने अवस्था आउन सक्छ, त्यस्ता बिरामीलाई सेवा दिने, उपचार गर्ने ठाउँ आइसियू हो ।

vayoda

bp_ad

कस्ता बिरामीलाई आइसियूमा लगिन्छ ?
आइसियूमा सबै बिरामी लान जरुरी छैन । आइसियूको एडमिसन क्राइटेरिया हुन्छ । जसको ज्यान जान सक्ने अवस्था छ, रगत धेरै बगेको, एकदमै ज्वरो आएर मुटुको चाल बढ्यो, ब्लडप्रेसर घट्यो, मान्छे चिन्न नसक्ने भयो, सास फेर्न गाह्रो भएमा, अक्सिजनको चरण घट्दै गयो, अक्सिजन दिनुपर्यो, रगत चढाउनुपर्ने अवस्थामा आइसियू लगिन्छ ।

यस्तै पोइजन खाएर बेहोस भएका, ब्लडप्रेसर एक्कासि कम भएका, स्वाइन फ्लुका बिरामी जसको फोक्सो ड्यामेज भइसकेको हुन्छ यस्तालाई प्राथमिकतामा राखिन्छ । यसबाहेक लिभरका बिरामी, डायलासिस चाहिने सिकिस्त बिरामीलाई विशेषगरी तत्काल उपचार नपाए ज्यान सक्ने अवस्था हुन्छ भने उनीहरूलाई आइसियू लिएर जानुपर्छ । 

आइसियूमा उपचार कसरी हुन्छ ?
वार्ड र आइसियू फरक हुन्छ । आइसियू चलाउने एउटा निश्चित मापदण्ड हुन्छ । हाम्रो मेडिसिटी अस्पतालमा चाहिँ डिपार्टमेन्ट अफ क्रिटिकल केयर छ । जहाँ आइसियूमै विशेषज्ञता गरेका डक्टर (इन्टेन्सिभिस्ट) हुन्छन्, सपोर्टिङ टिम हुन्छ । एमडी गरेका डक्टर हुन्छन् । आइसियूमा एक बिरामीलाई एक नर्स दिएको हुन्छ, तर अरू वार्डमा एक नर्सले धेरै बिरामी हेर्नुपर्ने हुन्छ । सँगै फार्मेसिस्ट, न्युट्रिन्टिन्ट, डाइटिसियन, इन्फेक्सन कन्ट्रोलमास, फिजियोथेरापिस्ट, आइसियू एग्जिक्युटी हुन्छन्, म्यानेजरियल पाटो हेर्ने व्यक्ति हुन्छन् । 

हाम्रो डिपार्टमेन्टको कुरा गर्दा ३३ वटा आइसियू बेड छन् । त्यसमा एक सय ५० जना स्टाफ छन् । आइसियू आफैँमा सानो अस्पतालजस्तै हुन्छ । जहाँ सिरियस बिरामीलाई क्लोज्ली मनिटर गरेर राख्छौँ । आइसियूमा राखिएका बिरामीलाई २४ घन्टा मुटुको चाल, अक्सिजनको लेभल, पिसाब÷दिसा अवस्था के भइरहेको हेरिन्छ । तर, वार्डका बिरामीलाई यसरी घन्टा–घन्टामा हेरिँदैन । उनीहरूलाई ६–८ घन्टामा नर्सहरूले हेर्ने र औषधि दिने गरिन्छ । 

आइसियूमा काम गर्ने टोलीको पनि मापदण्ड होला नि ?
हुन्छ । यो टोलीमा काम गर्न नेपाल मेडिकल काउन्सिलबाट ‘क्रिटिकल केयर’ विषयमा रजिस्ट्रर भएको डाक्टर हुनुपर्छ । जसलाई इन्टेन्सिभिस्ट भनिन्छ । हाम्रो देशमा त प्रभावकारी मापदण्ड बनिसकेको छैन । अन्तर्राष्ट्रिय मापदण्ड हेर्ने हो भने यस्तो हुन्छ । नर्सहरू पनि आइसियू ट्रेनिङप्राप्त हुनुपर्छ । साधारण वार्ड हेर्ने नर्सले सक्दैनन् । भेन्टिलेटर चलाउन सक्ने जनशक्ति हुनुपर्छ । आइसियूमा स्पेसल रिक्वायरमेन्ट छुट्टै हुन्छ ।

भेन्टिलेटरमा राखेपछि धेरैले भन्ने गर्छन्– बाँच्ने आस हुँदैन, खास के हो ?
भेन्टिलेटर भनेको के हो, त्यो बुझ्न आवश्यक छ । भेन्टिलेटर भनेको एउटा मेसिन हो । डायलासिसले मिर्गौलाको काम गरेजस्तै भेन्टिलेटरले बिरामीलाई सास फेर्न गाह्रो भयो, दम बढ्यो, अक्सिजन जति चाहिने हो त्यतिले पुगेन, कार्बनडाइअक्साइड फाल्न सकेन भने मुखभित्र हावा धकेल्ने काम गर्छ । पाइपबाट फोक्सोमा पुग्छ जसले अक्सिजन दिन्छ र नचाहिने हावा फ्याँकिदिन्छ ।

भेन्टिलेटर भनेको फोक्सोलाई सपोर्ट गर्न बनाएको मेसिन हो । जब फोक्सोको समस्या ठीक हुन्छ, भेन्टिलेटर बन्द हुन्छ । भेन्टिलेटरमा जाँदैमा बिरामी मर्छ भन्नु भ्रम हो । तर, समयमै उपचार गर्नुपर्छ । समयमै उपचार हुन सके भेन्टिलेटरसम्म पुगेका बिरामी पनि पहिलेझैँ स्वस्थ हुन सक्छन् । 

आइसियूमा बिरामीलाइ कति समयसम्म राख्नुपर्छ ?
त्यो बिरामीको अवस्था हेरेर हुन्छ । कुनै बिरामीलाई केही घन्टा राखे पनि पुग्छ । कसैलाई दुई–तीन दिन पनि राख्नुपर्छ । लामो समयरत भयो भने त्यसको पछि विकल्प हुन्छ जसलाई ट्र्याकेस्टोमी भनिन्छ । आइसियूमा सरदर भनेको १० देखि १४ दिन हो । 

चिकित्सकलाई पनि जोखिम हुन्छ ?
आइसियूको अवस्था तनावपूर्ण हुन्छ । २४ घन्टा खट्नुपर्ने हुन्छ । दिनरात एउटै लेभलमा काम गर्नुपर्ने हुन्छ । टिम मिलाएर काम गर्यो भने तनाव भए पनि काम राम्रोसँग गर्न सकिन्छ । एकजनाले मात्रै आइसियूमा काम गर्न सकिँदैन । 

आइसियूबाट बिरामी कति बेला निकाल्ने गरिन्छ ?
आइसियूबाट बिरामी निकाल्ने पनि एउटा क्षेत्राधिकार हुन्छ । जसमा कस्ता–कस्ता बिरामीलाई आइसियूबाट डिस्चार्ज गर्ने भन्ने हुन्छ । यदि कुनै बिरामी आइसियूबाट डिस्चार्ज भएर वार्डमा गएर मृत्यु भयो भने त्यसमा केही कमीकमजोरी भएको हुन सक्छ । त्यो बिरामीलाई वार्डमा पठाउने बेला नै नभएको हो कि, त्यो क्षेत्राधिकारभित्र रहेर काम नभएको हो कि । 

आइसियूबाट गएको ४८ घन्टाभित्र फेरि आइसियू नै लैजानुपर्यो भने त्यो पनि राम्रो होइन । पहिला नै त्यो बिरामीलाई पठाउनयोग्य थिएन कि भनेर मूल्यांकन गर्नुपर्छ । तर, कहिलेकाहीँ उपचार गर्दागर्दै बचाउन नसकिने अवस्था पनि आउन सक्छ ।

चिकित्सकको लापरबाही हुन्छ भनिन्छ नि ?
यदि हामीले सक्दैनौँ भने पहिले नै बिरामीको आफन्तलाई भन्नुपर्छ । समय–समयमा बिरामीको अवस्थाबारे जानकारी दिइरहनुपर्छ । कम्युनिकेसन ग्यापका कारण विभिन्न आक्षेप लाग्न सक्छन् । यसकारण बिरामीको आफन्तलाई समयमै कन्भिन्स गराउनुपर्छ । 

आइसियू महँगो छ भनिन्छ नि ?
रोगीको अवस्था गम्भीर भएर असपताल गए समय र खर्च स्वाभाविक रूपमै बढ्छ । आइसियूमा पनि समयमै बिरामी पुग्यो भने धेरै खर्च हुँदैन । जति चाँडो उपचार सुरु गर्यो उति नै चाँडो निको हुन्छ र उति नै चाँडो बिरामी आइसियूबाट बाहिर जान्छ । तर, हाम्रो देशमा मात्रै नभएर अन्तर्राष्ट्रिय रूपमा तुलनात्मक रूपमा आइसियू खर्चिलो नै छ ।

त्यसकारण बिमाको नीति आइसियूको बिरामीमा पनि सुरु गर्न जरुरी छ । जस्तै: आइसियूमा भर्ना भयो भने बिमाले कभर गर्ने भन्ने प्रणाली विकास गर्न आवश्यक छ ।

भारतकै मेदान्त अस्पतालमा समेत आइसियूमा आएका ५० प्रतिशतभन्दा बढी बिरामी बिमाले कभर गर्छ । त्यो सरकारी बिमाले मात्रै होइन कि निजी बिमाले नै कभर गर्छ । तर, हाम्रोमा त्यो सिस्टम छैन । बिमा भनेपछि सामान्य रोगमा मात्रै भइरहेको छ । यसमा सरकारको ध्यान जान जरुरी छ । 

मेडिसिटीको कुरा गर्दा सरकारी अस्पतालभन्दा केही महँगो छ, तर अन्य निजी अस्पतालको तुलनामा कम छ । मेडिसिटीमा आइसियू बेडको चार्ज १२ हजार पाँच सय छ । त्यसमै खाना, अक्सिजनको चार्ज, पम्प, मनिटर मिलाएको छौँ । 

आइसियूबाट बिरामी डिस्चार्च गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
आइसियूबाट डिस्चार्ज हुँदा बिरामीको गम्भीर समस्याचाहिँ निको हुन्छ । जस्तै: निमोनियमा भएको छ भने निमोनिया त निको भयो, तर त्यस समयमा तौल घटेको हुन्छ, मानसिक तनाव बढ्छ । झन्डै ज्यान गइसकेको अवस्थाको मान्छे बाँचेर आएको हुन्छ । त्यस्तो अवस्थाले लामो समयसम्म चिन्तित बनाइरहेको हुन्छ । बिरामी बाँचेर मात्रै भएन नि ।

पहिलाको जस्तै काममा फर्किन सक्नुपर्यो, बिरामीले पहिलाको जस्तै समान्य जीवन जिउन सक्नुप¥यो । यो हुुनका लागि हामीले आइसियूमा भर्ना भएकै दिनदेखि सोचेनौँ भने बिरामी पहिलाको जस्तै जीवन जिउन ६ महिनादेखि एक वर्षसम्म पनि लाग्न सक्छ । यसकारण त्यस्तो नहोस्, चाँडै समान्य जीवनमा आओस् भनेर तीनवटा कुरामा ध्यान दिनुपर्छ:

१) सहानुभूति राखेर उपचार गर्नुपर्छ (उपचार गर्दा आफ्नै ठानेर उपचार गर्नुपर्छ) । बिरामीलाई मानसिक रूपमा पनि सहायता दिएर हरेक कुरामा प्रोत्साहन गनुपर्छ । 

२) पहिलादेखि नै पोषणयुक्त खाना खुवाउनुपर्छ । तौल घटाउन दिनुहुँदैन । 

३) फिजियोथेरापी र रिहाबिलिटेसन ।

पहिलो दिनदेखि नै यी कुरा गर्न आवश्यक छ । आइसियूमा भएका बिरामी हातखुट्टा चलाउन सक्दैनन् । ती बिरामीलाई फिजियोथेरापिस्टले चलाइदिनुपर्छ । हिँड्न सक्ने बिरामीलाई आइसियूको बाहिर लगेर घुमाउनुपर्छ । यी तीनवटामा ध्यान दियौँ भने आइसियूबाट निस्केका बिरामीलाई ६ महिना, एक वर्षबाट झारेर एक महिनामै सामान्य जीवनमा फर्काउन सकिन्छ । 

डा. दिप्तेश अर्याल नेपाल मेडिसिटी अस्पतालका आइसियु प्रमुख समेत हुन् ।

Last modified on 2019-08-25 09:36:25

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts