डाक्टर साहेब ! मेरो भुँडी घटाइदिनु पर्यो 



Download our app to get more features

पापी पेट भनेर सम्बोधन गरिने यो भुँडी बढेर जब बाहिर निस्कन थाल्छ, सर्वप्रथम त शारीरिक सुन्दरताको पतन सुरु हुन्छ । यसले जन्माउने भित्रि समस्या त कति छन् कति, हिसाबै छैन् । कतिपय मानिसहरु भन्छन् योग शिक्षकज्यू अरु त त्यस्तै हो यो भुँडी चै घटाइदिनुपर्यो । हतोत्साहित हुन नदिन शिष्टतापूर्वक उचित सुझाव त दिनु नै पर्यो तर मनमा भने लाग्छ की  तिसचालिस वर्ष लागेर बढेको भुँडी तिसचालिस मिनेटमा ठीक हुने जादुको गोली भए खुवाइदिन हुन्थ्यो । वास्तवमा हामी आज यति धेरै विवेकहिन भएका छौ कि गल्ती जति आफू गर्ने र बारम्बार त्यहि गल्ती दोहोर्याउने अनि आफ्नै गल्तीले बढाएको भुँडी अरुले ठिक पार्दिनुपर्ने । 

हो विज्ञ विशेषज्ञबाट सल्लाह लिनुपर्छ, तर अवलम्वन गर्न त आफु स्वयमले हो नि । यस किसिमको त्रुटिबाट बच्नका लागि हरेक व्यक्तिले हृदयंगम गर्नुपर्ने कुरा यो हो की जे जति खर्च, मेहेनत लगनशिलता, लेख्नपढ्न, जागिर खान र व्यवसाय गर्न व्यय गरिन्छ, त्यसको केहि अंश खानेपिउने ज्ञानमाथि पनि व्यय गरिनुपर्छ । साथै जानेबुझेको र सिकेको ज्ञान जस्तै योग व्यायम, खेल, उपवास, आहारसंयम इत्यादि कुराहरुलाई नियमितरुपमा जीवनमा अभ्यास पनि गर्नुपर्छ । 
 
 बढ्दो मोटोपन

 दशमा तिन व्यक्ति आजको दिनमा मोटोपनको शिकार छन् । राम्रो र हृष्टपुष्ट देखिने हुनाले कतिपय मोटा व्यक्ति आफू पनि मक्ख पर्छन् । अरुले पनि उसलाई ओहो खाएपिएको मज्जाले लागेछ भनेर उल्क्याइदिन्छन् । तर, शारीरिक मोटोपन एउटा  बिमारी हो भन्ने होश समय बितेपछि मात्रै थाहा हुन्छ । 

ब्रिटिस मेडिकल एसोसिएसनद्धारा प्रकाशित स्वास्थ्य सम्बन्धि रिपोर्ट अनुसार आधुनिक जिवनशैली र तनावजन्य मनोदशाका कारण आज अनेकौं मनोशारीरिक समस्या फैलिरहेका छन् । तीमध्ये मोटोपन एउटा खतरनाक विकृति हो । जति मानिसहरु हाम्रो जस्तो विकासशील देशमा यो रोगबाट पिडित छन्, त्यसको अनुपातमा तीन गुणा बढि मान्छे विकसित देशमा छन् । अमेरिका क्यानडा, जर्मनी, अष्टेलिया जस्ता राष्टहरुको हालत यस्तो छ की उमेर र पुगेकाहरुमा त यो समस्या भयावह छँदैछ, सानै उमेरका बालबालिकाहरुमा समेत मोटोपन द्रुत गतिमा फैलिरहेको छ । 

विकसित देशमा यो समस्या विशेष गरी फास्टफुड, जंगफुड, प्रशोधित खानपानको बाहुल्यता र सुखसयलपूर्ण जिन्दगिका कारण बढेको हो । हाम्रो समाजमा पनि यी कारणहरु त लागु हुन्छन् नै यसमाथि अर्काे एउटा तितो कारण छ । त्यो हो मुर्खतापूर्ण खानपान एव्म अतिमांसाहारी प्रवृति । भोजभतेर , जन्ममरण, चार्डपर्व, उत्सव, र खानेपिउने मोज गर्ने मनोवृत्तिका शिकार भएका हुनाले आज हामी मध्ये कतिपय समय अगावै कुरुप शरिर र कुरुप भुँडी लिएर हिड्न विवश छौं । 

पेटको सूचना सुन्ने र मान्ने 
खाना खाँदै जाँदा पेट भरिएपछि संकेतको रुपमा पहिलो डकार आउँछ । पहिलो डकार आएपछि क्रमश खाना घटाउँदै जानु राम्रो हुन्छ । दोस्रो डकार पेटको तीन चौथाइ भाग भरिन लागेको सुचना हो । दास्रो डकारसम्म पेट लगभग अघाइसकेको हुन्छ  र शरीरलाई चाहिने आवश्यक मात्राको भोजन पुगिसकेको हुन्छ । यदि तपाई दोस्रो डकारलाई बेवास्ता गरि अझै खादैं हुनुहुन्छ भने अब तपाई आहार होइन रोगव्याधि खाँदै हुनुहुन्छ । तपाईलाई मोटो भद्दा र रोगी हुनबाट कसैले रोक्न सक्दैन । 

अचुक उपाय 

खानाको थालबाट अर्काे गाँस तबसम्म नउठाउनुहोस, जबसम्म तपाईको मुखको गाँस चपाएर निलिएको हुँदैन् । पहिलो गाँस नलिदै हात वा चम्चामा अर्काे गाँस तयार गरिसक्नुहुन्छ भने तपाईँ अस्वस्थकर गतिमा खाना खादै हुनुहुन्छ र र उचित मात्राभन्दा धेरै खादैँ हुनुहुन्छ । छिटोछिटो खानेबानीले पक्कै पनि चाहिनेभन्दा बढि खाइन्छ किनकि पेटबाट अघाएको सूचना प्राप्त गर्न मस्तिष्कलाई कम्तिमा पनि बीस मिनेट लाग्छ । दश मिनेट भन्दा अगाडि खाइसक्नु भनेको बेसुरमा खानु र छद्मतृप्ति महशुस गर्नु हो । त्यसैले, बिहानबेलुकाको खानालाई कम्तिमा १५ देखि २० मिनेट खर्चनै पर्छ । 

थोरै मेहनत र सानो प्रयासले भुँडी घटाउन चाहानुहुन्छ भने आयुर्वेद विज्ञानका इन्साइक्लोपेडिया मानिने आयुर्वेदज्ञ राजीव दीक्षितको सुझाव अत्यन्त सजिलो छ । उहाँको भनाइमा पेटमा जति अधिक मात्रामा क्षार तत्व पुर्याइन्छ, त्यति नै मात्रामा शरीरको अनावश्यक बोसो, मासु र मलबिकार बाहिर निकाल्न सकिन्छ । दैनिक खानपिनबाट तपाईले प्राप्त गर्ने क्षारीय तत्वको मात्रा आजभोलि निकै कम भएको छ । त्यसैले शरीरको अत्यावश्यक मागलाई त पुरा गर्न सक्दैन, मोटोपन घटाउने काम कसरी गर्ला ?

यस विषक परिस्थितिमा तपाईका लागि निकै सजिलो उपाय छ । त्यो के हो भने रातको समयमा मुखमा उत्पादन हुने क्षारीय र्याललाई विहान उठ्नेबितिकै पानी पिएर पानीसँगै पेटमा पुर्याउने । दीक्षितका अनुसार बिहान उठेपछि हलुका मनतातो पानी मुखमा एक घुटुकी दिनुहोस् र मुखभित्रको र्याल पखालिने गरी कुल्ला गरेजस्तै चलाउनुहोस् र घुटुक्क निल्नुस् ।  त्यो र्याल सबैभन्दा उत्तम क्षार हो । कम्तिमा तीसचालिस दिन नियमितरुपमा यसो गर्दै जानुभयो भने निश्चितरुपमा शरीरको अनावश्यक तौल र बढेको घटाउन सकिन्छ । डा. राजु अधिकारीको खाने कसरी पिउने कसरीबाट

Last modified on 2019-09-04 09:19:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts