प्रदेश ५ सरकारको दावीः डेंगु महामारीको अवस्थामा पुगेको छैन

डेंगुका बिरामीको तथ्यांक नै फरक—फरक



Download our app to get more features

रुपन्देही, २४ भदौ । प्रदेश नम्बर ५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दावी गरेको छ । प्रदेश नं. ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भइसकेको छ भने सयौं जना बिरामी भएर थला पर्दा पनि सरकारी पक्षले भने यसलाई सामान्य र विगतका वर्षभन्दा कम प्रभावित भएको बताएको छ । 

सरकारले दिने तथ्यांकमा पनि एकरुपता छैन । रिपोर्टर्स क्लव प्रदेश ५ ले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रदेश ५ सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीले बाहिर हल्ला फैलाएजस्तो भयावह अवस्था नरहेको दावी गरे । 

उनले रोग नियन्त्रणका लागि सरकार लागि परेको जानकारी भन्दै यसमा सबैपक्ष जिम्मेवार बन्नुपर्ने बताए । प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरिरहेको दावी गरे ।

यस्तै प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. बिनोद गिरीले अहिले भयावह रुपमा डेंगु फैलिन नपाएको उनले बताए । उनले प्रदेश ५ मा १सय २६ बिरामी र ८७ जना अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए ।

गुबाट बच्नका लागि अब फुल कपडा लगाउनुपर्ने उनले सुझाव समेत दिए । व्यवहार परिवर्तन गरेर डेंगु नियन्त्रणमा सबै लाग्न डा गिरिको सुझाव छ । 

उनले हरेक दिन स्वास्थ्य निर्देशनालयले प्रदेशको डेंगुको तथ्यांक सार्वजनिक गरिने बताए ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले अस्पतालमा अहिलेसम्म ६९ जना डेंगुका बिरामी उपचारका लागि आएको बताए । यी मध्ये २३ जना बुटवलका र अन्य बुटवल बाहिरका भएको डा खनालले जानकारी दिए ।

उनले किट अभाव भयो भन्दै बजारमा हल्ला फैलिएको भन्दै भयावह अवस्था नरहेको दावी गरे । ९० प्रतिशत डेंगु आफै निको हुने र १० प्रतिशत हेरचाह, स्वास्थ खानपान र उपचारपछि ठिक हुने बताए । 

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरिले रुपन्देहीमा ९० मध्ये २० जनामात्रै उपचाररत रहेको र ७० जना घर फर्किसकेको बताए । उनले सचेतना र खोज र नष्ट अभियान जारी राखिएको जानकारी दिए  ।

बुटवल उपमहानगरपालिकाको शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले ४० जना मात्रै बिरामी भेटिएको र अहिलेसम्म १ जनाको पनि मृत्यु नभएको दाबि गरे । उनले बुटटवलका १९ वटै वडा,३०२ टोल,९५ वटा स्कुलमा अभियान चलाइएको बताए । उनले फगिङ् गर्ने अबस्था नरहेको जानकारी दिए ।

मर्सिसिटी अस्पतालका अध्यक्ष जनक कोइरालाले ३२ जना बिरामी आफ्नो अस्पतालमा डेंगुको  उपचार गरेको बताए । अहिलेपनि १२ जना अस्पतालमै उपचाररत रहेको जानकारी दिए । यता बुटवल हस्पिटल प्रालिका डाइरेक्टर मुक्तिराज पौडेलले सरकारी बेवास्ताकै कारण दैनिक बिरामीको संख्या बढ्दै गएको बताए । 

उनले बुटवल अस्पतालमा ६४ जना बिरामीको उपचार भएको बताए  । उनले डेंगुको प्रभाव सकिएपछि मात्रै सरकार जाग्ने गरेको भन्दै आफुहरुले नीजि अस्पतालमा गरेको उपचारको सरकारीपक्षले बेवास्ता गर्ने गरेको गुनासो गरे । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

Last modified on 2019-09-11 10:07:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts