डडेल्धुराको परशुराममा मलेरियाको बिरामी फेला



Download our app to get more features

डडेल्धुरा, ५ मंसिर । डडेल्धुराको परशुराम नगरपालिकामा मलेरियाको बिरामी फेला परेका छन् । 

जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाका २ वडामा मलेरिया अर्थात औलोका रोगका बिरामी भेटिएका हुन् । नगरपालिको वडा नम्बर ६ र ७ बाट बिरामी भएर जचाँउन आएका व्यक्तिहरुको रगत परिक्षण गर्दा मलेरियाको संक्रमण देखिएकोे साँदनी स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट जयबहादुर धामीले जानकारी दिए ।

२ हप्ता अगाडि साँदनी स्वास्थ्य चौकीमा पुगेका बिरामीहरुमा मलेरियाका लक्षण देखा परेका उनको भनाइ छ । दुई हप्ता अघिदेखि फैलिएको मलेरिया रोगबाट हालसम्म १० जना बिरामीहरु संक्रमित भइ निःशुल्क औषधि सेवन गरिसकेका छन् । 

मलेरिया रोगको प्रकोप फैलिँदै गएकाले सो बारे जोगबुडा अस्पताल र जिल्लास्थित स्वास्थ्य कार्यालयमा समेत खबर गरिसकेको स्वास्थ्य चौकी प्रमुख धामीले जानकारी दिए ।

पछिल्लो समयमा स्वास्थ्यकर्मीको टोलीले संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठुलागडालगायतका क्षेत्रमा खोजी (सर्च) गरिरहेको छ । सर्चका साथसाथै जनचेतनाका कार्यक्रम संचालन गरिरहेको  धामीले बताए ।

औलो प्रभावित वडाहरुमा झुल वितरण र लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने काम केही दिनमै सुरु गरिने स्वास्थ्य कार्यालय, डडेल्धुराले जानकारी दिएको छ ।

Last modified on 2019-11-21 10:28:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts