घुँडामा समस्या भए नगर्नुहोस् यस्ता गल्ती



Download our app to get more features

घुँडा गोडाको महत्वपूर्ण जोर्नी हो । उठबस र हिँडडुलमा घुँडाकै भूमिका ठूलो हुन्छ । घुँडाको जोर्नीमा समस्या भए शारीरिक गतिविधिमै अप्ठ्यारो निम्तिन्छ । यस्तो महत्वपूर्ण घुँडामा समस्या भए केही सजगता अपनाउन फिजियो थेरापिस्ट महेश भण्डारीले सुझाव दिएका छन् :

► घुँडाको जोर्नीमा समस्या छ भने घुँडा खुम्च्याएर बस्ने बानी बन्द नै गर्नुहोस् । घुँडा खुम्च्याएर बस्दा जोर्नीमा दबाब पर्ने र झनै समस्या बढ्ने हुन्छ । गोडा तेस्र्याएर तथा कुर्सीका पुट्ठो अड्याएर घुँडामा दबाब नपर्ने गरी बस्नु पर्छ ।

► घुँडाको जोर्नी खिइएका तथा दुख्ने समस्या भएकाहरुले पलेँटी कसेर पनि बस्नु हुँदैन । पलेँटी कसेर बस्दा एक–आपसमा हड्डीहरु खप्टिने, रगटिने हुन्छ । यसले समस्या झनै बढाउँदै लैजान्छ भने दैनिक गतिविधिमै अप्पठ्यारो पार्छ ।

► घुँडाको जोर्नीमा समस्या भएका व्यक्तिले उकालो–ओरालो गर्दा विशेष ध्यान दिनुपर्छ । घरको सिँढी चढ्दा या ओर्लिदा पनि ध्यान दिनुपर्छ । सकेसम्म यस्तो उकालो–ओरालोमा कमै हिँड्नु राम्रो हुन्छ । हिँड्नैपर्दा घुँडाका हड्डीमा कम दबाब पर्ने गरी विस्तारै हिँड्नुपर्छ ।

► घुँडामा समस्या भए गह्रौँ भारी बोक्ने तथा भार उचाल्ने गल्ती गर्नु हुँदैन । यसले जोर्नीमा बढी दबाब परेर झनै समस्या बढ्न थाल्छ । गह्रौँ सामान तथा भारी उचाल्नुपर्ने भयो भने सावधानीपूर्वक पहिले बसेर बिस्तारै–बिस्तारै उचाल्नुपर्छ ।

► घुँडाको जोर्नीमा समस्या भएकाहरुले धेरै दौडिने र हिँड्ने गर्नु पनि राम्रो होइन । जोर्नीमा बढी दबाब निम्त्याउनु नै समस्या बढाउन मद्दत गर्नु हो । घुँडालाई हल्का कसरत र बढी आराम दिनुपर्छ ।

प्ल्स टिप्स

घुँडाको जोर्नीमा विभिन्न कारणले समस्या हुन सक्छ । हड्डी खिइएर, टुक्रिएर, चोटपटक लागेर मात्रै होइन, नसाका कारणले पनि जोर्नी दुखेको हुन सक्छ । घुँडाको जोर्नीमा के कारणले समस्या भएको हो, पहिले पहिचान गर्नुपर्छ ।

चिकित्सकको सुझावअुनसार औषधि सेवन गर्ने, समस्या कस्तो हो, त्यसैअनुसार व्यायाम तथा आराम गर्नुपर्छ । जोर्नी पुरै खिइएर औषधिले पनि काम गर्न नसक्ने अवस्था पनि कतिपयको हुन सक्छ । जोर्नी नै फेर्नुपर्ने पनि हुन सक्छ ।

यस्तो अवस्थामा चिकित्सककै परामर्शबाट आफूलाई सहज हुने उपाय अपनाउनु उत्तम हुन्छ ।

Last modified on 2019-11-24 08:24:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts