नगरबासीको साथ र सहयोगविना कोरोनाविरूद्ध लड्न सकिदैन 



Download our app to get more features

देशका अन्य स्थानीय तह जस्तै देवदह नगरपालिका पनि यतिखेर कोरोना संक्रमणविरूद्ध योजनाबद्ध ढङ्गले होमिएको छ । देशव्यापी लकडाउनका बेला नगरपालिकाले कोरोना रोकथाम एवं नियन्त्रणमा के कस्ता काम गरिरहेको छ भनेर देवदह नगरपालिका मेयर हिराबहादुर खत्रीसँग हाम्रो डक्टरले गरेको संवाद :—

नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि के गरिरहेको छ ? 
प्रथम चरणमा हामीले सचेतनामूलक काम ग¥यौं । स्वास्थ्य शाखा, महिला स्वास्थ स्वयंसेवक दिदीबहिनी, निर्वाचित जनप्रतिनिधि, विभिन्न संघसंस्था, टोल सुधार समिति, राजनीतिक दलसँग मिलेरे सचेतान फैलायौं । ब्रोसर निर्माण र वितरण, स्वास्थ्यकर्मीलाई तालिम, सम्वाद, छलफल र जानकारी दिने काम पहिलो चरणमा भयो । 

दोस्रो चरणमा भारतबाट आउनेहरूको तथ्यांक संकलन, अन्य मुलुकबाट आएकाहरूलाई होम क्वारेन्टाइनमा राखेर दुई सय परिवारमा स्वास्थ्यकर्मी पठायौं । यसको अनुगमनको जिम्मा समुदायलाई नै दियौं । नगरपालिकाले ठूला कार्यक्रम नगर्ने, बिद्यालयमा ५ चैतसम्ममा सबै खाले परीक्षा सक्न भन्यौ ।  भीडभाड हुने हाटबजार बन्द गर्यौ, काष्ठकलासम्बन्धी अन्तराष्ट्रिय गोष्ठी तय भएको थियो त्यो रोक्यौं । 

अहिले स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई जुटाइरहेका छौं, प्रदेश र संघीय सरकारबाट हामीलाई अहिलेसम्म आवश्यक सामाग्री प्राप्त भएको छैन तर पनि स्थायीन स्रोतबाटै जोडिरहेका छौं । स्वास्थकर्मीको मनोबल उच्च राख्न यहाँको स्वास्थ्य चौकी, निजी स्वास्थ्य क्लिनिक, मेडिकल कलेजमा क्वारेन्टाइन निर्माण गरेका छौ । लकडाउन घोषणापछि पनि प्रत्येक वडामा माइकिङ गर्ने, जनप्रतिनिधिमार्फत अनुगमन, प्रहरी प्रशासन परिचालन भइरहेको छ । 

लकडाउन जारी रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्ने एवं विपन्न परिवारलाई राहत र सहयोग कसरी पु¥याइरहेको छ ? 
लकडाउनबाट प्रत्यक्ष असर पर्ने वर्गलाई तत्काल राहत प्याकेज घोषणा गरेका छौं । २७ सय दुई घरलाई १० किलोका दरले चामल, २ किलो दाल, नुनतेल र साबुन बितरण गर्यौ । दोस्रो चरणको राहत बाँड्ने भनेर मापदण्ड बनाइ वडालाई भनिसकेका छौं । 

कालोबजारी गर्ने क्रम पनि बढेको गुनासो छ । यसको रोकथाम तथा नियन्त्रण कसरी भइरहेको छ ?
नगरपालिकाको कार्यपालिका सदस्य बिष्णु पाण्डेको नेतृत्वमा अनुगमन समिति गठन गरेका छौं । साथै नगरप्रमुख र उपप्रमुख पनि नगरका सबै स्थानमा अनुगमनका लागि पुगेका छौं । आग्रह, खबरदारी गरेका छौं । कतिपयलाई कारवाही र सचेत गरेर छाडेका छौं । अति आवश्यक उपभोग्य सामाग्री बाहेक अन्य सामाग्री खरिद नगर्न आग्रह गरेका छौ । व्यापारीलाई पनि खाद्यबस्तु र तरकारीको मुल्यसुची राख्ने बाध्यकारी नियम बनाएका छौं । 

सामान्य रूघाखोकी, ज्वरो र दीर्घरोगीहरूले उपचार नपाएको भन्ने कुरा सुनिन्छ यस्तो गुनासोको सुनाइ कसरी गर्नुभएको छ ?
यो सत्य हो । कोरोना संक्रमण फैलिरहेको बेला यस्ता बिरामीलाई स्वास्थ्य संस्थामार्फत केही समय (१५ दिन, १ महिना) को लागि स्वास्थ्यकर्मीको निगरानीमा घरमै औषधि पुर्याएका छौं । गर्भवतिको लागि क्याल्सियम, आइरन चक्की पनि ५–१० दिनलाई पुग्ने गरि व्यवस्थापन गरिरहेका छौं । ज्वरोका बिरामीले औषधि नपाएको भन्ने सूचना सञ्चारमाध्यमबाट आएका छन् । तर देवदहको सन्दर्भमा ज्वरोका बिरामीको सबै स्वास्थ्य चौकीमा जाँच भैरहेको छ । नगरबासीलाई हामीले अहिले देशको अवस्था असामान्य रहेको र यस्तो बेला स्वास्थ्यमा जटिलता भए मात्रै अस्पताल जान आग्रह गरेका छौं । नगरपालिकाले सर्वसाधारणका लागि टोल फ्री नम्बर राखेको छ । यसमार्फत पनि सेवाहरू लिन सकिन्छ । स्वास्थ्य चौकीहरूमा दैनिक रूपमा ८०–९० जनाले स्वास्थ्य परीक्षण गराइरहेका छन् । देवदह मेडिकल कलेजले फिवर डेक्स नै खडा गरेको छ । निजी स्वास्थ्य संस्थाहरू पनि सञ्चालन छन् । 

कोरोना संक्रमण फैलिएको अवस्थालाई कसरी व्यवस्थित गर्छ नगरपालिकालले ?
अहिलेसम्म विश्वको परिदृश्यलाइ हेर्दा र डक्टरको भनाइ अनुसार कोरोनाको औषधि बनिसकेको छैन । हाम्रो तयारी दुरीलाई कायम गर्ने, जनसम्पर्क हुन नदिने, लकडाउनको पुर्ण पालना गर्ने र संक्रमित देखिए लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुराउने हो । स्वाब परीक्षण गर्ने, नतिजा नआउँदासम्म आइसोलेशनमा राख्ने हाम्रो तयारी छ ।

अन्त्यमा संक्रमणको घडिमा नगरका जनतालाइ केहि भन्नुहुन्छ ?
नगरपालिकाको सबै संयन्त्रमार्फत कोरोना भाइरस संक्रमणसँग जुध्न सक्रिय भएर लाएको छ । तर हाम्रो सक्रियताले मात्र हँुदैन । नगरबासीको साथ र सहयोगबिना कोरोनासँगको जुधाई अपूरो हुन्छ  । यो आवश्यकता भनेको लकडाउनको पुर्ण पालना नै हो । आफु भन्दा कमजोरलाई सहयोग गर्दै लकडाउनको पुर्ण पालना गर्न म आग्रह गर्छु । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts