रौतहटमा क्वारेन्टाइनमा रहेका कोरोना संक्रमित लिन जाँदा स्थानीयको विरोध

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार



Download our app to get more features

रौतहट, १६ जेठ । रौतहटमा क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितलाई लिन जाँदा स्थानीयले अवरोध गर्दा झडप भएको छ । 

जिल्लाको इशनाथ नगरपालिकाको जोकाहास्थित मदर्सामा रहेको क्वारेन्टाइनमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी क्वारेन्टाइन पुग्दा स्थानीयले अवरोध गरेका हुन् । 

क्वारेन्टाइनमा रहेका दुबै जना कोरोना संक्रमितलाई गरुडास्थित प्रहरी विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा ल्याउन खोज्दा स्थानीय र क्वारेन्टाइनमा रहेकाहरुले अवरोध गरेपछि झडप समेत भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । 

स्थानीयले कोरोना संक्रमितलाई त्यहीँ राखेर उपचार गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि केही स्थिति तनावग्रस्त बनेको र संक्रमितलाई नलिई फर्केको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनले क्वारेन्टाइनमा रहेका केही व्यक्ति र स्थानीय नागरिकले संक्रमितहरुको त्यहि उपचार गर्नुपर्छ बाहिर लान दिदैनौं भन्दै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि ढुंगामुढा प्रहार गरेको बताए ।

उनले भने, केही समय स्थित तनावग्रस्त बनेपछि र क्वारेन्टाइन पुगेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि नै जोखिम बढेपछि स्वरक्षाका लागि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको हो । तर, संक्रमितलाई भने नलिई फर्केको छ । फेरि साँझतिर उनीहरुलाई अस्पताल ल्याउन टोली जानेछन् ।

संक्रमित रहेको स्थानबाट गरुडास्थित प्रहरी विद्यालय करिब २५ किलोमिटरको दूरीमा रहेको छ । रौतहटमा मात्रै हालसम्म एक सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts