औषधि सम्बन्धी समस्या समाधानका लागि सरकारले बनाएको समितिको कुनैपनि निर्णय मान्य हुँदैनः आचार्य



Download our app to get more features

काठमाडौं, ६ साउन । नेपाल औषधि उत्पादक संघ (एपोन) ले विभिन्न माग राखि आन्दोलनको घोषणा गर्यो । सात दिनसम्म आन्दोलनमा पनि उत्रियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्यानिटाइजर दर्ताका लागि ३ महिनाको समय थप गरेको विरोधमा एपोन निरन्तर आन्दोलनमा थियो । नेपाली औषधि उद्योग स्यानिटाइजरको माग पूर्ति गर्नका लागि सक्षम रहेको भन्दै स्यानिटाइजर दर्ताका लागि थप गरिएको म्याद खारेज गर्नुपर्ने मुख्य माग राखेर एपोन आन्दोलनमा थियो । एपोनका अनुसार नेपाल औषधिमा आत्मनिर्भर बन्नका लागि सरकारले स्वदेशी उद्योगलाई प्राथमिकतामा राखेर बाहिरबाट आयात हुने औषधिमा रोक लगाउनु आवश्यक छ । नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउन बाहिरबाट आयात हुने औषधिमा रोक लगाउनु मात्रै एक उत्तम विकल्प हो ।

एपोनको यो मागप्रति भने नेपाल औषधि आयातकर्ता संघ (मियान) ले आपत्ति जनाएको छ । मियानले एपोनको माग पूरा गर्दा सर्वसाधारण नागरिकलाई गुणस्तरीय औषधिका साथै महँगो मूल्य तिर्नुपर्ने दावी गरेको छ । नेपाली औषधि उद्योगले दावी गरे अनुसार नेपालमा उत्पादित औषधिको मूल्य बाहिरबाट आयात हुने औषधिको मूल्यभन्दा बढी हुने गरेको र नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउनपनि बाहिरबाट आउने कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता भएका कारण सरकारले गुणस्तरीयतमा सम्झौता गर्न नहुने मियानको भनाइ छ । 

सरकारलाई घुँडा टेक्न बाध्य बनाएर नेपाली औषधि उद्योग कहिल्यैपनि आत्मनिर्भर बन्न नसक्ने भन्दै मियानले औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्यामन्त्री र वार्ताका लागि गठित समितिलाई ज्ञापन पत्र बुझाएको छ । सुझाव सहितको ज्ञापन पत्र, एपोनको मागप्रति मियानको असहमति, लगायतका विषयमा मियानका महासचिव पवन आचार्यसँगको कुराकानीः

औषधि आयातमा प्रतिबन्ध लगाउने कुरामा मियानले किन आपत्ति जनाएको ?
नेपाली औषधि उद्योगलाई प्रवद्र्धन गर्ने कुरामा हाम्रो कुनै आपत्ति छैन । किनभने सँधै स्वदेशी उत्पादनलाई हामी सबैले प्रोत्साहन गर्नुपर्छ । तर, के मात्रै हाम्रो भनाइ हो भने नेपालमा हालसम्म ६५ वटा औषधि उद्योग सञ्चालनमा छन् । ती औषधि उद्योगले नेपालमा सबै प्रकारका रोगको औषधि उत्पादन गर्न सकेको छैन । यदि गर्ने नै हो भने पनि त्यसका लागि हालसम्म कुनैपनि अध्ययन अनुसन्धान केन्द्र बनाइसकेको छैन । अर्को कुरा वल्र्ड ट्रेड ओरगेनाइजेशनका सदस्य राष्ट्रहरुले अन्य मुलुकबाट आयात हुने बस्तुमा रोक लगाउन मिल्दैन । जसमा नेपालपनि डब्ल्यूटीओको सदस्य हो । अर्को कुरा सरकारले नै बनाएको औषधि उत्पादन ऐन र संहिताको मापदण्ड नेपालका ६५ औषधि उद्योगमध्ये ३० वटाले मात्रै पूरा गरिरहेका छन्, बाँकी ३५ वटा औषधि उद्योगले औषधि उत्पादन सम्बन्धी संहिता पूरा गर्न सकेको छैन । त्यतिमात्र होइन नेपालमा उत्पादन हुने औषधि बाहिरबाट आयात हुने औषधिभन्दा महँगो पनि छ । यो अवस्थामा आयात हुने औषधिलाई रोक लगाउनु पक्कै पनि उचित होइन ।

तपाईंले औषधि आयातमा प्रतिबन्ध लगाउनु हुँदैन भन्नहुन्छ, तर यसमा गलत के छ ?
औषधि भनेको मानिसलाई सँधै चाहिने कुरा हो । यो आज भयो भने भोली चाहिँदैन भन्ने हुँदैन । अर्को कुरा नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउनका लागि सबैले साथ दिनुपर्छ र मिलेर अघि बढ्नु पर्छ । नेपालमै उत्पादन हुने औषधिको मूल्य ४ गुणा तिरेर सर्वसाधारणलाई आर्थिक मार पर्छ र त्यहि औषधि बाहिरबाट आयात हुँदा सस्तोमा पाइन्छ भने आयातित औषधिलाई रोक किन लगाउने ? रह्यो बाहिरबाट आयात हुने औषधिको मूल्यको कुरा त्यसलाई सरकारले नियन्त्रण गर्न सक्छ । जसरी सरकराले ९६ प्रकारका औषधिको मूल्य निर्धारण गरेको छ । त्यसरि नै सबै औषधिको मूल्य निर्धारण गरे हुन्छ । हाम्रो माग पनि त्यहि हो । यदि एउटै मोलिक्यूलको औषधि फरक फरक कम्पनीको छ भने सरकारले त्यसको मूल्य निर्धारण गर्न सक्छ । जसले सर्वसाधारणलाई पनि आर्थिक मार पर्दैन । गुणस्तरीय र सस्तो मूल्यमा पाउनुका साथै सबै प्रकारका औषधि बिरामीलाई चहिने भएकाले आयातमा प्रतिबन्ध किन लगाउने ? आयात हुने औषधिलाई रोकियो भने के नेपाली जनता औषधि बिनै छट्पटिएर मरेके हेर्ने ? त्यहि भएर आयातित औषधिलाई प्रतिबन्ध लगाउनु हुँदैन ।

तर, औषधि आयात बन्द भएन भने नेपाली औषधि उद्योग धरासायी हुन्छ भनिराखेको छ नी एपोनले ?
आयात बन्द भयो भने कसरी नेपाली बजारलाई चाहिने औषधि आपूर्ति गर्न सक्छ नेपाली औषधि उद्योगले ? क्यान्सर, मिर्गौला, विभिन्न खोप, मधुमेह, मुटु जस्ता अनेक रोगको सबै औषधि नेपाली उद्योगले उत्पादन गरिरहेको छ र ? फेरिपनि दोहोर्याए मैले, कच्चा पदार्थ नै नहुँदा औषधि कहाँबाट उत्पादन हुन्छ ? ६ महिनासम्म धान्न सक्ने औषधि आपूर्ति गर्न नसक्ने नेपाली औषधि उद्योगले कसरी आयातित औषधिलाई बन्द गरेर काम गर्न सक्छ ? प्रतिस्पर्धाको समय हो । सबैले एक अर्कासँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ र त्यसका लागि नेपाली औषधि उद्योगपनि तयार रहनुपर्छ । औषधि उत्पादन संहिता २०७२ त पालन गर्न नसक्ने नेपाली औषधि उद्योगले कसरी औषधि आयातलाई बन्द गरिएन भने हामी धराशायी हुन्छौ भन्दैछ । नेपाली औषधि उद्योगले भने अनुसारको काम गर्न कति समय लाग्छ त्यो हिसाब किताब गरेर योजना बनाएर अघि बढ्ने हो र नेपाली नागरिकले सुपथ र सस्तो मूल्यमा औषधि पाउने हो भने मलाई केही आपत्ति छैन । तर, जसरी वल्र्ड ट्रेड ओरगेनाइजेशन सदस्यहरुले एक अर्का मुलुकबाट औषधि आयात र निर्यातमा रोक लगाउन सक्दैन त्यसरी नै नेपालले पनि रोक लगाउन सक्दैन । हो नेपाली बजारलाई पूरा हुनेगरि र निर्यात गर्न सक्ने क्षमता नेपाली औषधि उद्योगसँग भयो भने मात्रै आयात गरिने औषधिमा रोक लगाउन सकिएला । तर, नियम कानून भनेको त सबैको लागि हो नी ? नेपाली औषधि उद्योले पहिले नेपाली बजारलाई धान्ने औषधिको माग पूरा गर्न सक्नु पर्यो । सस्तो मूल्यमा औषधि उपलब्ध गराउन सक्नुपर्यो । जुन केही औषधि उद्योगीले भनेर हुने होइन । 
 
उसो भए मियान स्वदेशी औषधि उद्योगको विपक्षमा छैन ?   
छैन । स्वदेशी औषधि उद्योगको विपक्षमा भएर के गर्ने ? हामी त सँधै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने पक्षमै छौं । तर, स्वदेशी औषधि उद्योगले भने अनुसार आफूलाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्छ । माग पूरा गर्नका लागि उत्पादन क्षमतालाई बढाउनु पर्छ । तर, नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने भनेर केही उद्योगलाई बढाबा दिने र उसको ढुकुटी भर्ने काम भने गर्नु हुँदैन । त्यसले कसैको पनि भलाइ हुँदैन । 

नेपाली औषधि उद्योगीले भने जस्तै के नेपाल औषधिमा आत्मनिर्भर भएकै हो त ? के देख्नुहुन्छ ?
नेपालमा भएका औषधि उद्योगहरुमध्ये ८० प्रतिशत उद्योग कोरोना महामारीका कारण  बन्द हुने अवस्थामा पुगेको स्वयं एपोनले नै भनेको छ । लकडाउन भएको केहि समयपछि नै औषधि उत्पादक संघले वैशाखमा हामीसँग औषधि बनाउने कच्चा पदार्थको अभाव हुन थालेको भन्दै जानकारी गराएको थियो । सामान्य अवस्थामा त सिटामोलको आपूर्ति गर्न नसक्ने औषधि उद्योग कसरी आत्मनिर्भर भएँ भनेर दावी गर्दैछ त्यो अचम्मको कुरा हो । भारतले सिटामोल लगायतका केही औषधिको आयातमा रोक लगाउँदा त जसरी पनि आयात फुकुवा गराउन सरकारले पहल गर्नुपर्छ अन्यथा नेपालीलाई औषधि अभाव हुन सक्छ भनेर तीनै औषधि उद्योगीले प्रतिक्रिया दिएका थिए । भारतबाट नै ९० प्रतिशत कच्चा पदार्थ आयात हुन्छ । भारतबाटै औषधि बनाउने उपकरण र जनशक्ति आउँछ । स्वदेशमा उत्पादन भएका औषधिलाई जुन दिन बाहिर निर्यात गर्न सकिन्छ त्यो दिन नेपाली औषधि उद्योग आत्मनिर्भर हुँदै गएको बुझिन्छ । अर्को कुरा नेपालमा औषधि उत्पादनको दर हेर्दा सबै रोगको औषधि उत्पादन पनि हुँदैन । न औषधिका लागि अनुसन्धान केन्द्र छ, न त आवश्यक जनशक्ति छ, न त चाहिने आवश्यक कच्चा पदार्थ नै छ । सक्षमता तर्फ उन्मुख हुनु पर्छ । नेपाल औषधिमा आत्मनिर्भर हुन सकेको छैन । अनि यो अवस्थामा कसरी आफूलाई आत्मनिर्भर भन्ने होला ? अर्को कुरा औषधि व्यवस्था विभागले कोरोना महामारीका लागि आवश्यक पर्ने औषधिका लागि तयार पारेको सूचीमा १ सय ९५ वटा औषधिलाई कोभिड–१९ का लागि भनेर छुट्याएको थियो । ती १ सय ९५ प्रकारका औषधिमध्ये नेपालमा जम्मा ५ देखि ७ प्रकारका औषधि मात्रै उत्पादन भइरहेका छन् भने बाँकी सबै बाहिरबाट आयात हुँदैछ । यो अवस्थामा नेपाली औषधि उद्योग कसरी आत्मनिर्भर भयो भनेर दावी गर्दैछ । यो प्रश्न एपोनको अध्यक्षलाई गर्न चाहन्छु ।

भारतबाटै ९० प्रतिशत कच्चा पदार्थ आयात भएपनि भारतले विभिन्न बहानामा विभिन्न कुरामा पटकपटक रोक लगाइदिने अनि मिचाहा प्रवित्ति देखाउँदा पनि भारतबाट हुने औषधि आयात रोक्नुहुन्न भन्नुहुन्छ तपाईंहरु । यस्तो किन ?
भारत विश्वकै चौथों ठूलो औषधि उत्पादन गर्ने मुलुक हो । जसले नेपाललाई मात्रै होइन विश्वकै ठूला राष्ट्रहरुलाई औषधि निर्यात गर्छ । हो केही हकमा भारतले औषधि आयातमा रोक लगाउने गरेको छ । तर, उसले आफ्नो बजार नीति र पहिलो प्राथमिकता आफ्नो देशका नागरिकलाई दिनै पर्छ । अर्को कुरा मैले सुरुमै पनि भनेको थिए, भारतले सिटामोल लगायतका केही औषधिको निर्यातमा प्रतिबन्द लगाउँदा सरकारलाई गुहार्ने र निर्यात प्रतिबन्ध फुकुवा गर्न दवाव दिने गर्छौ । भारतीय बजारमै हामी पूर्ण निर्भर छौं । किनभने तेस्रो मुलुकबाट औषधि र औषधिका लागि चाहिने कच्चा पदार्थ भारतबाट ९० प्रतिशत नेपाल भित्रिन्छ । राजनीनित सम्बन्ध बिग्रियो वा बिगार्न खोज्यौ भने फेरिपनि त्यसले नोक्सान हुने भने नेपाली जनतालाई नै हो । समयमा औषधि पाइएन भने मर्ने नागरिक नै  हो । औषधि भनेको अत्यावश्यकिय सामग्री हो । त्यसकारण जतिसुकै झै झगडा भएपनि आखिरकार सम्बन्ध सुधार्नुको विकल्प हामीसँग छैन । राजनीतिकरण गर्नु नै छ भने अरु कुरामा गर्नु उचित हुन्छ । मानिसलाई नभई नहुने कुरामा राजनीतिकरण गर्नु हुँदैन । अमेरिका जस्तो मुलुकले भारतलाई निर्यातमा लगाइएको प्रतिबन्ध फुुकुवा गर्न जब आग्रह गर्नु पर्यो भने हामी त यसै गरिब मुलुक हो । हामी सँधै अरुमाथि नै निर्भर छौं । आत्मनिर्भर हुनका लागि पनि पहिले हामी सक्षम हुने बाटो के हो त्यस विषयमा पनि सोच्नुपर्छ । नाकाबन्दीको बेला पनि छिमेकी मुलुक चीनबाट सामान ल्याउँदा महिनौं कुर्नुपर्ने अवस्थामा हामीले छिमेकीको केही कुरालाई सहनुपनि पर्ने हुन्छ । हामीले सकेसम्म फाइदा लिनेमा ध्यान दिनुपर्छ । त्यसलाई गलत अर्थमा बुझ्नु उचित हुँदैन । 

अन्तिममा, सरकारले औषधि उत्पादन संघको मागको विषयमा समिति गठन गरेको छ । यसमा मियानको धारणा के छ ?
पूरै असहमति छ । त्यहि भएर सोमवार हामीले ज्ञापन पत्र पनि बुझायौ । किनभने औषधि सम्बन्धी कुरा हामीसँग पनि सम्बन्धीत छ । त्यसमा हामीलाई समावेश गरिएको छैन । अर्को कुरा नेपालमा ६० प्रतिशत बाहिरका औषधि उद्योगले बजार ओगटेका छन् । औषधि सम्बन्धी समस्या समाधानका लागि बाहिरबाट आयात गर्नेलाई नै समावेश नगरेर कसरी औषधि सम्बन्धी समस्या समाधान हुन्छ ? यदि यो समितिले दुई जनाको सहमतिमा कुनै निर्णय गर्यो भने त्यो हामीलाई मान्य हुँदैन र हाम्रो विमति छ । हामीबिना गरिएको निर्णय नेपाली जनताको हितमा पनि हुँदैन । 

Last modified on 2020-07-21 17:20:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts