नेपाली औषधि महँगो र गुणस्तरहीन हुन्छ भनेर मानिसमा भ्रम फैलाउने काम मात्रैः महासचिव अधिकारी



Download our app to get more features

काठमाडौं, १४ साउन । औषधि उद्योगीहरुले ३ वर्ष अघि अबको ५ वर्षमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने भनेर अठोट गरेका थिए । जस अनुसार सरकारले औषधि उद्योगीलाई चाहिने आवश्यक सहयोग र व्यवस्था सरकारले गर्ने र औषधि उद्योगीले त्यहि अनुसार नेपालमा चाहिने सबै प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
 
औषधि उद्योगीले घोषणा गरे अनुसार काम भइरहेको नेपाल औषधि उत्पादक संघको दावी छ । आफूहरु निरन्तर नेपाललाई औषधिमा आत्मनिर्भर बनाउनेमा लागि रहेको बेला सरकारले स्यानिटाइजर दर्ताका लागि तीन महिनाको समय थप गर्यो । जसले नेपाली औषधि उद्योगलाई बेवास्ता गरेर बारिहको उद्योगलाई बढावा दिएको भन्दै नेपाल औषधि उत्पादक संघ सडकमा उत्रियो । जुन नेपालकै इतिहासमा पहिलो पटक थियो । हाललाई आन्दोलन स्थगित छ । नेपाली औषधि उत्पादक संघले दावी गर्दै आएका छन् की हामी औषधिमा आत्मनिर्भर तर्फ उन्मुख भइरहेको बेला सरकारको तर्फबाट नै बेवास्ता गरिँदा त्यसले नेपाली औषधि उद्योगीहरुको मनोबल कमजोर बनाउने काम भएको उत्पादक संघको भनाइ छ ।

औषधि उत्पादक संघको आन्दोलन, नेपाल औषधिमा आत्मनिर्भर लगायतका विषयमा नेपाल औषधि उत्पादक संघका महासचिव विप्लब अधिकारीसँगको कुराकानी ः

औषधि उत्पादक संघ यस्तो विषम् परिस्थितिमा सडकमै उत्रिनुपर्ने अवस्था किन आयो ? तपाईंहरुको माग के हो ?
जब नेपाली औषधि उद्योगले नै नेपाली बजारलाई स्यानिटाइजर उपलब्ध गराउन सक्छ भने बाहिरबाट आयात हुनेका लागि किन म्याद थप गर्ने ? गुणस्तरीय र मापदण्ड पूरा गरेरै नेपाली औषधि उद्योगीले नेपाली जनतालाई सस्तो र गुणस्तरीय स्यानिटाइजर दिइ रहेको छ भने बाहिरबाट आयात हुनेलाई बिना गुणस्तरीय जाँच बजारमा बिक्रि वितरण गर्न दिनु उचित होइन । अर्को कुरा स्यानिटाइजरका लागि म्याद थप गरियो त्यसका लागि मात्रै हामी आन्दोलनमा गएनौ । सरकारले नेपाली औषधि उद्योगलाई प्राथमिकतामा राखेर नीति नियम र सहुलियत दिनुपर्नेमा बाहिरका औषधिलाई बढी सहुलियत दिने, नेपालका औषधि उद्योगलाई बेवास्ता गर्ने र सुटबुट लगाउने औषधि उद्योगी सडकमा आउन सक्दैनन् भन्ने मानसिकता बनाएकोले त्यसलाई चीर्न सडकमा उत्रिनु परेको थियो ।

सरकारले स्यानिटाइजरका दर्ताका लागि म्याद थप्दैमा तपाईंहरुलाई आपत्ति किन ?
हामीले दर्ता नै गर्न नहुने भन्या होइन । यो नियमित प्रक्रिया हो । जसले पनि दर्ता गरेर व्यवापार व्यवसाय गर्न सक्छन् । हामीलाई थाहा छ, गुणस्तरीय सामान र मापदण्ड पूरा भएका औषधि बिक्रि वितरण सबैले गर्न पाउनुपर्छ । तर, गुणस्तरीयता नै जाँच नगरि नेपाली बजारमा बिक्रि वितरण गर्न दिनु भएन । नियम भनेको सबैको लागि एक समान हुनुपर्छ । जति नियम नेपाली औषधि उद्योगका लागि छन् त्यति त बाहिरबाट आयात हुनेलाई पनि लागू गर्नुपर्छ र हुनुपर्छ । तर, त्यस्तो गरेको देखिँदैन । नेपाल व्लर्ड ट्र्ड ओरगेनाइजेशनमा आवद्ध मुलुक भएकाले आयातलाई बन्द गर्न मिल्दैन । तर, मापदण्ड अनुसार र गुणस्तरयुक्त सामान नेपाली नागरिकले उपभोग गर्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । 

भनेपछि तपाईंहरुले सिन्डकेट लाद्न खोज्नुभएको होइन ?   
व्यापार व्यवसायका कुरामा सिन्डकेट किन लाद्ने । प्रतिस्पर्धाको समय छ सबैले समान नियम पालन गर्नुपर्छ । सरकारले नै सबैलाई समान व्यवहार गर्न सकेन भने कसरी नेपाली औषधि उद्योग आत्मनिर्भर हुन्छ ? सरकारले नेपाली औषधि उद्योगलाई सँधै पहिलो प्राथमिकतामा राखेर कुनैपनि निर्णय र नीति बनाउनु पर्छ । नेपाली जनताको स्वास्थ्यसँग खेलवाड गरेर सस्तो छ भन्दैमा गुणस्तरहिन सामान त बिक्रि गर्न दिनु कुनैपनि हालतमा हामीलाई स्विकार्य हुँदैन । प्रतिस्पर्धामा आउनुपर्छ । जसका लागि नेपाली औषधि उद्योग तयार छन् ।

भारतमा बनेका औषधि नेपालको भन्दा सस्तो र गुणस्तरीय छन् भनिन्छ । के भारतको औषधिसँग तपाईंहरुले प्रतिस्पर्धा गर्न नसक्नु भएको हो ?
नेपाल सरकारको औषधि सम्बन्धी ऐनको धारा २६ मा स्पष्ट रुपमा लेखिएको छ, की नेपाल सरकारले औषधिहरुको मूल्य तोक्न सक्नेछ भन्ने कुरा । विदेशी औषधिभन्दा नेपाली औषधि महँगो भएका एकै मोलिक्यूलका कम्पनी फरक भएको हुन्छ । भारतमै भएका एकै मोलिक्यूलका औषधिहरुको मूल्य फरक फरक हुन्छ भने नेपालमा कम्पनी अनुसार पनि फरक हुनु स्वभाविक हो । त्यहि भएर नेपाल सरकारले नै एकै मोलिक्यूलका औषधिहरुको मूल्य यदि तोकिदियो भने मूल्यलाई लिएर कुनै ठूलो बहस नै हुँदैन । सबैले एक रुपताले नै औषधि बिक्रि गर्न सक्छन् । मूल्य निर्धारण कार्यविधिको विषयमा औषधि उत्पादक संघले २०७५ साल मघ २ गते नै औषधि परामर्श परिषदबाटै मूल्य निर्धारण गर्नुपर्छ भनेर औषधि व्यवस्था विभागले पारित पनि गरिसकेको छ । त्यो लागू नगर्नु सरकारको कमजोरी हो । कम्पनी अनुसार औषधिको मूल्य फरक हुनु त्यो सामान्य नै हो । तर, भारतीय सबै औषधि सस्ता र नेपाली सबै औषधि महँगा हुन् भन्ने होइन । अर्को कुरा नेपालमा भएका औषधि भारतमा बनेका औषधिसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्ने छैन । नेपालमा बनेका औषधिहरुले सबै मापदण्ड पूरा गरेका छन् । सबै गुणस्तरका नियमहरु पालन गरेर उत्पादन गरिन्छ त्यहि भएर नेपालका औषधि गुणस्तर कमजोर भएको भन्न मिल्दैन । आखिर भारतमा बनेपनि, जापानमा बनेपनि र अमेरिकामा बनेपनि त्यहि मोलिक्यूलमा औषधि बन्ने हो र नेपालमा पनि त्यहि मोलिक्यूलमा औषधि बन्ने हो । नेपाली औषधि महँगो र गुणस्तरहीन हो भनेर मानिसले आफूमा पालेको भ्रम मात्रै हो । नेपालका औषधि कमजोर छन् गुणस्तरहिन छन् भन्नु भनेको नेपाली औषधि उद्योगलाई गिराउनका लागि मात्रै हो ।

नयाँ औषधिभन्दा पनि पुरानै औषधिमा पनि कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । यसलाई कसरी अन्त्य गर्नुहुन्छ ? 
बजारको प्रति संस्थाको कुरा भने आन्तरिक व्यापारको कुरा भयो । त्यसले त फाइदा हुने भने नागरिकलाई नै हुने हो । आन्तरिक व्यापारको प्रतिस्पर्धालाई खुला रुपमा लिनुपर्ने हुन्छ । यो खासै ठूलो बहसको विषय होइन ।

अबको ५ वर्षमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने भनेर आजभन्दा ३ वर्ष पहिले नै तपाईंहरुले घोषणा गर्नुभएको थियो । अझैपनि ५५ प्रतिशतभन्दा बढी औषधि बाहिरबाट नै नेपाल आयात हुन्छ । अनि कसरी तपाईंहरु नेपाललाई औषधिमा आत्मनिर्भर भयौं भनेर भन्नुहुन्छ ?
हो, नेपाल औषधि उत्पादक संघले भने अनुसार नै ५ वर्षमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने लक्ष्यसहित काम गरिरहेका छौं । ३ वर्ष भयो यो अवधिमा हामीले धेरै कामहरु पनि गरिसकेका छौं । तर, एउटा चीज यो देशलाई साच्चिकै विकास गर्ने हो भने भारत र चीन जस्तो जीडिपी भएको मुलुकहरुको बीचमा नेपालले आफूलाई विकासको क्रममा लिएर जाने, उद्योगधन्दामा विकास गर्ने र रोजगारी सिर्जना गर्नुका साथै आधारभूत संरक्षण नदिईकन यहाँ भएका कुनैपनि उद्योगधन्दा चल्न सक्दैन । जसरी नेपाल सरकारले सिमेन्ट उद्योगलाई आधारभूत संरक्षण दिएर आज नेपाल सिमेन्टमा आत्मनिर्भर भएजस्तै औषधिमा पनि आधारभूत संरक्षण दिनुपर्छ । अनिमात्रै नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउन सकिन्छ । 

तपाईंहरुको लक्ष्य अनुसार अबको २ वर्ष मात्रै बाँकी छ । यो अवधिमा नेपाललाई कसरी औषधिमा आत्मनिर्भर बनाउन सक्नुहुन्छ ? 
हामीसँग ठूलो मात्रामा प्यारेन्टलदेखि इन्टेक्टेबलसम्मका औषधि उत्पादनमा आत्मनिर्भर हुने अवस्था भइसकेको छ । दुई ठूला उद्योग त्यसक लागि तयारी अवस्थामा छन् र उनीहरुले नेपाली बजारलाई धान्न सक्ने औषधि उत्पादन गर्न सक्छन् । त्यस्तै क्यान्सरका औषधि उत्पादनका लागि पनि दुई उद्योगहरु तयारी अवस्थामा छन् । अबको केही समयमै उहाँहरुले क्यान्सरका औषधि यसै आर्थिक वर्षदेखि उत्पादन गर्न थाल्नुहुन्छ । नेपाल औषधि उत्पादनका लागि ठूलो उर्वर भएको मुलुक हो । सरकारले थोरै मात्रै परिवर्तन गरिदियो भने अबको दुई वर्षमा नेपाल औषधिमा आत्मनिर्भर हुन सक्छ । किनभने २०३३ सम्म नेपाललाई प्याटेन्ट लाग्दैन । त्यो नलाग्ने भएपछि भारतीय उद्योग र जसलाई प्याटेन्ट लाग्छ उनीहरुले नेपालमा औषधि उद्योग स्थापना गर्न सक्छन् । जसले झन् सजिलो हुन्छ । नेपालमा भएका जनशक्ति र हाम्रै बाहिर भएका श्रमलाई सदुपयोग गरेर रोजगारी दिन सक्यौ भने नेपाललाई औषधिमा विकास गर्न सकिन्छ । नेपालमा अहिले नै ७५ प्रतिशत औषधि उत्पादन भइरहेका छन् । बाँकीको दुई वर्षमा सरकारले सहयोग गर्यो भने ९०÷९५ प्रतिशत औषधि नेपालमै उत्पादन हुन्छ र त्यो नेपालको लागि ठूलो उपलब्धी पनि हुन्छ ।

नेपालकै औषधि उद्योगले पनि डाक्टरहरुलाई प्रभावमा पारेर बिरामीलाई अनावश्यक औषधि लेखिदिने आरोप लाग्ने गरेको छ । यसमा औषधि उत्पादक संघले के गरेको छ ?
यो एउटा हौवा मात्रै हो । औषधि उद्योगीको ५ देखि ७ प्रतिशत मात्रै मुनाफा हुन्छ । त्यसमा डाक्टरलाई के प्रभाव पार्न सक्छ । यो सबै भनेको नेपाली फर्मास्यूटिकल्सप्रतिको लक्षित षडयन्त्र हो । डाक्टर सँधै आफ्नो पेशप्रति इमान्दार हुन्छ र औषधि उद्योगीले ५ रुपैयाँको औषधिमा डाक्टरलाई के नै प्रभाव पार्न सक्छ र ? यसमा कुनै सत्यता छैन ।

कोरोना महामारीको समयमा नेपाली औषधि उद्योगलाई कस्तो प्रभाव पर्यो ?
यो समय भनेको नेपालका लागि मात्रै नभएर विश्वकै लागि कठिन हो । नेपाललाई मात्रै होइन विश्वलाई नै प्रभावित बनाउँदा कच्चा पदार्थको अभाव नै हो । त्यो किन भनेपछि एक मुलुकबाट अर्को मुलुक कच्चा पदार्थ निर्यात गर्न समस्या भएपछि मूल्य वृद्धि भएको छ । तर, पछिल्लो समय नेपालले चीनबाट सोझै कच्चा पदार्थ ल्याउन थालेपछि अहिले त्यो अभाव नी कम भएको छ । तर, कच्चा पदार्थको मूल्यवृद्धि नै ठूलो समस्या छ । यो विश्वकै समस्या हो । अरु त खासै केही छैन । र पनि हामी दृढ छौं । हामी हिम्मत हार्दैनौं । 

केही समयका लागि औषधि उत्पादक संघले आफ्नो आन्दोलन स्थगित गर्यो वार्ता सकारात्मक छ भनेर । कहाँसम्म पुग्यो वार्ता ? के हुँदैछ ?
सरकारसँगको वार्ता हुँदैछ । उहाँहरुले सकारात्मक कुरा गरिरहनु भएको छ । आशा छ हाम्रो माग पुरा हुन्छ । अझै अन्तिम निष्कर्स भने निस्कि सकेको छैन । हामीले सुरुदेखि भन्दैछौ, की नेपालमा जुन कुराको उत्पादन अत्याधिक हुन्छ त्यसलाई किन बाहिरबाट आयात गर्ने ? नेपालमा जब औषधि उत्पादन ७५ प्रतिशतसम्म भइरहेको छ भने किन भएकै औषधि बाहिरबाट ल्याउने ? सरकारले हाम्रो कुरा सुनेन, हामीलाई दिनुपर्ने संरक्षण दिएन भने नेपाली औषधि उद्योग मात्रै होइन नेपालमा भएका सबै उद्योग एकै ठाउँमा उभिन्छौं । किन की नेपाललाई विकास गर्न र बाहिरका श्रमलाई नेपालमै सदुपयोग गर्ने र रोजगारी सिर्जना गर्ने काम हामी गर्छौ ।         

Last modified on 2020-07-29 10:43:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts