मस्तिष्कघातका बारेमा जान्नै पर्ने कुरा 



Download our app to get more features
Spark_health_home Happy new year 2021

पहिले ब्रेनस्ट्रोक अर्थात् मस्तिष्कघात बुढापाकाहरुलाई मात्र हुन्छ भनिन्थ्यो । तर आधुनिक जीवनशैलीका कारण अरु उमेरलाई पनि यस्तो समया देखिन थालेको छ । यस विषयमा विना न्यौपानेले न्युरोलोजिष्ट डाक्टर कृष्ण ढुङगानासँग गरेको कुराकानी ।


ब्रेनस्ट्रोक अर्थात मस्तिष्कघात भनेको के हो ?

सही ढंगले काम गर्नको लागि हाम्रो मस्तिष्कलाई हमेसा अक्सिजनको आवश्यकता पर्दछ । रक्त प्रवाहको माध्यमले नै चाहिने जति अक्सिजन हाम्रो मस्तिष्कसम्म पुग्दछ । कुनै कारणवश मस्तिष्कको रक्तबाहिनी नली ९ब्लडकोटिङ्ग०मा रगत जमेर नसा फुट्नाले मस्तिष्क ब्रेन कोषिकाहरुलाई पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन । यस अवस्थामा मस्तिष्कका कोषिकाहरु तीब्र गतिमा नष्ट हुन थाल्छन् । शरीरको यस अवस्थालाई नै ब्रेनस्ट्रोक अर्थात मस्तिष्कघात भनिन्छ ।

ब्रेनस्ट्रोकको प्रकार

ब्रेनस्ट्रोक प्रायः गरी दुई प्रकारको हुन्छ ।
१. स्केमिक 
२. हेमोरेजिक 

स्केमिक भनेको टाउकोमा जाने नसा ब्लक भएर हुने समस्या हो  ।  रगतको डल्लाले नसा ब्लक भएको हुन्छ । रगतको डल्ला मुटुबाट जान सक्छ ।  मुटुको चालमा गडबड आउँदा पनि  रगतको डल्ला जम्ने सम्भावना हुन्छ । त्यही रगतको सानो टुक्रा टाउकोमा गएर नसा बन्द हुन्छ, त्यो स्केमिक स्ट्रोक हो ।

त्यस्तै घाँटीको नसाबाट टाउकोमा जाने हुन्छ । त्यो नसामा उमेरसँगै कोलेस्टोर, बोसो जम्दै जानेर त्यही टुक्रा घाँटीको नसाबाट टाउकोमा गएर पनि नसा बन्द हुने तथा पक्षघात हुन्छ ।  स्केमिक स्ट्रोक लगभग ८० प्रतिशतमा  देखिने गरेको छ । 

अर्को हेमोरेजिक स्ट्रोक भनेको टाउकोमा जाने नसा फुटेर हुने समसया हो ।  यसले गर्दा मस्तिष्कको केही भागमा अनियन्त्रित रुपले रगतको प्रवाह हुन जान्छ । यो अवस्था अत्यन्तै खतरनाक हुन्छ ।

नसाहरुमा रगत जम्ने समस्या हुन्छ । जसले गर्दा मस्तिष्कको केही भागमा अक्सिजनयुक्त रगत पुग्न पाउँदैन । ब्रेनस्ट्रोकको लगभग ७५ प्रतिशत  यस्तै प्रकारको समस्या देखिन्छ ।

मस्तिष्कघात भएको कसरी थाहा पाउन सकिन्छ  ?

हाम्रो एउटा पद्धति छ, फाष्ट भन्ने । त्योभन्दा पहिला बिरामी सामान्य अवस्थामा हुन्छ  । स्ट्रोक भनेको एक्कासी हुने कुरा हो । स्ट्रोकलाई ब्रेन एट्रयाक पनि भनिन्छ  ।

तर पनि शरीरको एउटा भाग नचल्ने, हात खुट्टा एउटा नचल्ने, कहिलेकाहीँ दुवै नचल्ने पनि हुन्छ । मुख बांगिनु, हातमा कमजोरी महशुस हुनु, प्रयास गर्दा पनि व्यक्तिले आफ्नो हात माथितिर लान नसक्नु, बोल्न अप्ठेरो हुनु, बोली लर्बराउनु पनि यसको लक्षण हो ।

लगभग ८०  प्रतिशत ब्रेनस्ट्रोकमा यस्ता लक्षणहरु देखिन्छन् । यसमा समयको एकदम ठूलो भूमिका हुन्छ । समयमा नै अस्पताल पुग्यो भने उपचार सम्भव हुन्छ । थोरै मात्रा पनि ढिला भयो भने उपचार गाह्रो हुन्छ ।

समयमा नै अस्पताल पुगेन भने के हुन्छ ?

स्ट्रोकबाट प्रभावित व्यक्तिलाई एक मिनेट पनि बिलम्ब नगरी जतिसक्दो चाँडै नजिकको अस्पताल पुर्याउनुपर्छ । यसमा ढिलो नगर्ने उसको लागि एक, एक सेकेन्ड पनि धैरै मुल्यवान हुन्छ किनभने स्ट्रोकपछि ब्यक्तिको मस्तिष्कको सेल ९कोषिका०  तीव्र गतिमा नष्ट हुन थाल्छन् ।

यदि कलकारखाना, अफिस वा घर परिवारभित्रका कुनै सदस्यहरुमा कसैलाई पनि ब्रेनस्ट्रोकको कुनै एउटै लक्षण पनि देखियो भने साथीभाइ, घरका सदस्यहरुको जिम्मेवारी हुन आउँछ कि एक मिनट पनि ढिलो नगरी नजिकको अस्पतालमा तुरन्तै लैजाने । जहाँ आईसीयू, न्युरोलोजी डिपार्टमेन्टको अलावा सिटी स्क्यान, एमआरआईको सुविधा होस् । यस्तो अवस्थामा सोच्ने, सरसल्लाह गर्ने, विचार गर्ने वा आफ्नो फेमिली डाक्टरसँग सल्लाह गर्ने जस्ता गल्ती गर्नु हुँदैन । किनभने यो एउटा मेडिकल इमर्जेन्सी हो र आधुनिक सुबिधायुक्त अस्पतालमा नै यसको उपचार सम्भव छ ।

बिरामीलाई अस्पताल पुर्याएपछि पनि यी कुराको ध्यान राख्नु पर्दछ कि ३० मिनेटभित्र बिरामीको सिटी स्क्यान भईसक्नु पर्छ र ५० मिनटभित्र बाँकी ल्याब टेस्टहरु पनि सकियोस् ताकि छिटोभन्दा छिटो बिरामीको उपचार शुरु गर्न सकियोस् ।

कस्तो व्यक्तिमा धेरै हुन्छ यस्तो समस्या ?

धेरैजसो त उमेर बढ्दै गएको र नसामा बोसो जम्दै गएको व्यक्तिमा धेरै देखिने हो । तर अहिले जीवनशैली परिवतर्नको कारण कम उमेरमा पनि यस्तो समस्या देखिएको छ । कसैको कोलस्ट्रोल बढी जम्ने समस्या, मुटुको चालमा गढबडी हुने गर्दा पनि बढिरहेको छ ।

बढी जोखिम कतिबेला हुन्छ ?

६० वर्ष उमेरपछिका व्यक्तिहरुमा यसको खतरा बढ्न जान्छ । आधुनिक जीवनशैलीको व्यस्तताको कारणले मानिसले आफ्नो स्वास्थ्यप्रति त्यति ध्यान दिंदैनन । यसकारण ३० र ४० वर्षका आयु भएकाहरु पनि ब्रेनस्ट्रोकको शिकार हुन्छन् । उच्च रक्तचाप, मधुमेह, मोटोपन, वंशाणुगत, रगतमा कोलेस्ट्रोल र अमिनोएसिडको मात्रा बढ्नु, अत्याधिक मात्रामा जाँडरक्सी र चुरोट खानु, टाउकोमा कुनै आन्तरिक चोटपटक या अत्याधिक मानसिक तनावमा हुनु आदि कारणले यो समस्या हुनसक्छ ।

कस्तो असर गर्छ ?

४१ प्रतिशत ब्यक्तिको ज्यानको खतरा रहन्छ र ५९ प्रतिशतमा शारीरिक या मानसिक दुर्बलताको आशंका भईरहन्छ । व्यक्ति हिँडडूल गर्न असमर्थ हुन्छ । कसैलाई बोल्नमा कठिनाई हुन्छ । आफूलाई एकदम कमजोर महसुस गर्ने, आँखा नदेख्ने दृष्टिमा धमिलोपन आउनुका साथै स्मरणशक्ति कमजोर हुने हुन्छ । 

अर्धचेत अवस्थामा पुग्ने सम्भावना पनि उत्तिकै हुन्छ । एकातिरको पक्षघात हुने पनि हुन्छ । कारण के हो भने मानव मस्तिष्कको प्रत्येक भागले भिन्नाभिन्नै शारीरिक एवं मानसिक क्रियाहरुलाई सञ्चालन गर्नुका साथै नियन्त्रण गर्ने काम पनि गर्दछ । सामान्यतया हाम्रो मस्तिष्कको बायाँ भागले शरीरको दाहिने भागलाई र दायाँ हिस्साले शरीरको देब्रे भागलाई नियन्त्रित गर्दछ । ब्रेनस्ट्रोकको कारणले मस्तिष्कको जुन भाग प्रभावित भएको हुन्छ, त्यस भागसँग सम्बन्धित अंगहरुको सञ्चालनमा बाधा पुग्छ ।

उपचार कसरी  हुन्छ ?

विदेशमा जसरी उपचार हुन्छ, नेपालमा पनि त्यसरी नै उपचार हुने हो ।  यसमा सबैभन्दा महत्वपूर्ण उपचार भनेको थ्रोमोलाईसिस हो । जुन स्केमिक स्ट्रोकमा गर्नुपर्छ । त्यो भनेको जुन रगत जमेको डल्लाले ब्लक गरेको नसा हुन्छ, त्यसमा औषधि दिएर पगाल्ने हो । यो साढे चार घण्टा भित्रमा गर्नु पर्छ ।

यसको लागि बिरामी साढे तीन घण्टाभित्र अस्पताल पुग्नुपर्ने हुन्छ । एक घण्टा सिटिस्क्यान, रगत जाँच गर्न लाग्ने भएकाले समयमा नै पग्नु पर्छ । सबैमा भन्न सकिन्न, तर धेरैमा पहिलाकै अवस्थामा फर्काउन सकिन्छ  । 

यो समयभन्दा पछि अस्पताल पुगेको बिरामीको उपचार हुँदैन  ?

समयभन्दा पछि पुगेको बिरामीमा यो औषधि दिन मिल्दैन, तर अरु उपचार हुन्छ । बिरामीको होश कम छ भने त्यहीअनुसार टाउकोको प्रेशर बढेको अवस्थामा कम गर्ने औषधि दिनु पर्छ । निल्न नसक्ने भएकाले नाकबाट पाइप लगाएर औषधि दिनुपर्छ । फिजियोथेरापी  गराउने, हातखुट्टा चलाउने अभ्यास गराउने, पछाडि चोट नलागोस् भनेर दायाँ बायाँ फर्काउनुपर्छ । त्यसपछि बिरामीको जुन नसा मरेको छ, त्यसको वरिपरिको नसाले काम गर्न सुरु गर्छ । यसमा पनि कत्तिको ठूलो नसा ब्लक भएको छ, उमेर कस्तो छ, त्यो अनुसार हुन्छ । ठूलो नसा ब्लक भयो भने ठिक हुन पनि समय लाग्छ  ।

त्यसो भए औषधिबाटै उपचार हुन्छ, अप्रेशन गर्नु पर्दैन ?

अप्रेशन गर्ने भनेको नसा ब्लक भएर मरेको नसा धेरै फुलेर टाउकोको प्रेसर बढ्यो भने त्यो प्रेसर कम गर्नलाई कहिलेकाहीँ टाउको माथिको हड्डी निकाल्नु पर्यो भने गरिन्छ  । नभए नसा ब्लक भएर मात्रै अप्रेसन गर्नु पर्दैन । रगत पगाल्ने समयभन्दा ढिलो भयो भने पनि रगत जमेको नसा भित्रबाट तार पसाएर रगतको डल्ला निकालिन्छ । नसा ब्लक भएपछि दुईवटा ठाउँ हुन्छ । एउटामा पुरै मरिसकेको र अर्को भनेको अलिअलि बाँकी भएको । मरिसकेको नसालाई खोलेर पनि फाइदा हुँदैन । तर कुनै ठाउँमा काम नगरिकन यत्तिकै बसेको हुन्छ, त्यो ठाउँमा खोलेर पछि काम गर्छ  ।

 एक पटक स्ट्रोक भएर उपचार गरेपछि फेरि दोहोरिने सम्भावना हुन्छ कि हुँदैन  ?
उपचार गर्दा हामीले दुई तीन प्रकारको औषधि दिन्छौं । जुन औषधि जीवनभर खानु पर्ने पनि हुन सक्छ । उपचारको उदेश्य भनेको भविष्यमा त्यस्तो खालको एट्रोक नहोस् भनेर हो । सय प्रतिशत नै हँुदैन भन्न मिल्दैन, तर धेरै हदसम्म हुँदैन ।

नेपालको कति अस्पतालमा यसको उपचार संभव छ ?

धेरै अस्पतालमा संभव छैन । यसको उपचार गर्ने भनेको नसा सम्बन्धी डाक्टरले हो ।  नेपालमा जम्मा २० जना पनि यस्ता डाक्टर नै छैनन् ।  त्यसैले काठमाण्डौमा त संभव छ, तर बाहिर अल्लि गाह्रो छ । अब छिट्टै बाहिर पनि तालिम दिंदैछौं । त्यो भए पछि बाहिर पनि सहज हुन्छ । 

उपचार कत्तिको महँगो छ ?

रगत पगाल्ने र रगत तारबाट थुत्ने विधि छ, यो महँगो नै छ । रगत पगालने उपचारमा औषधिको नै धेरै पर्छ ।  त्यसको एकदेखि डेढलाख रुपैयाँ पर्छ । तौल अनुसार दिनुपर्ने हुन्छ । यसको लागि सरकारसँग पहल गरिरहेका छौं  । सायद अब केही राहत हुन्छ होला  । 

यस्तो समस्या नदेखियोस् भनेर के के कुरामा ध्यान दिनुपर्छ ?

सुगर, प्रेसर भएका बिरामीमा हुने संभावना बढी हुन्छ । बिलासी जीवन बिताउने व्यक्तिमा धेरै हुन्छ । जंकफुड धेरै खाने, हिँडडूल नगर्ने, मुटुको समस्या भएको व्यक्तिमा धेरै हुन्छ । त्यसैले यो सबै नियन्त्रणमा राख्नुपर्छ ।
 

Last modified on 2020-09-21 12:28:04

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts